१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सय रुपैयाँभन्दा बढीमा आईपीओ निष्कासन व्यवस्था हुँदै

नयाँ व्यवस्थाले बजारमा राम्रो ‘पर्फमेन्स’ देखाइरहेका कम्पनीलाई पुँजीबजारमा आकर्षित गर्न सकिने
यज्ञ बञ्जाडे

काठमाडौँ — सर्वसाधारणलाई सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले अंकित मूल्य एक सय रुपैयाँभन्दा बढीमा निष्कासन गर्न पाउने व्यवस्था हुन लागेको छ । ‘बुक बिल्डिङ’ भनिने यो व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निर्देशिकाको मस्यौदा तयार पारेको छ ।

सय रुपैयाँभन्दा बढीमा आईपीओ निष्कासन व्यवस्था हुँदै

यस्तो व्यवस्था कार्यान्वयनमा आएपछि प्रिमियम (अंकित मूल्यमा थप गरी) मा सेयर जारी गर्न चाहने कम्पनीले अंकित मूल्य एक सयभन्दा बढीमा प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न पाउनेछन् । तर साधारण रूपमा सेयर निष्कासन गर्ने कम्पनीले भने अंकित मूल्य एक सयमै सेयर जारी गर्नुपर्नेछ । बुक बिल्डिङ विधि अनिवार्य नभई स्वेच्छिक हो ।

नयाँ व्यवस्थाले बजारमा राम्रो ‘पर्फमेन्स’ देखाइरहेका कम्पनीलाई पुँजीबजारमा आकर्षित गर्न सकिने जानकारहरु बताउँछन् । सुझावका लागि मस्यौदा सेबोनको वेबसाइटमा राखिएको छ । प्राप्त सुझावका आधारमा निर्देशिकालाई अन्तिम रूप दिइनेछ । यो विधिबाट अंकित मूल्य सयभन्दा बढीमा सेयर निष्कासन गर्न भने बोर्डले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ, जसमध्ये बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन भएको, साधारणसभाले सो विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको, प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १ सय ५० प्रतिशत रहेको र औसत वा औसतभन्दा माथि रेटिङ पाएको हुनुपर्ने व्यवस्था छ ।

यो प्रक्रियामा निष्कासनमा संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियाबाट सेयर बोलकबोल प्रक्रियाबाट भर्नेछन् । संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियाबाट सेयर भरेपछि त्यसका आधारमा ‘कटअफ’ मूल्य निकालिनेछ । जति ‘कटअफ’ मूल्य निस्केको हुन्छ त्यही मूल्यमा सम्बन्धित कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्छन् ।

‘कटअफ’ मूल्य निकालेपछि त्योभन्दा बढी मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्ताले सबै सेयर पाउँछन् । त्यसपछि ‘कटअफ’ मूल्यमा भरेकाले सेयर पाउँछन् भने त्योभन्दा कम मूल्यमा भरेका लगानीकर्ताले समानुपातिक तरिकाले सेयर पाउनेछन् ।

आईपीओ जारी गर्न बुक बिल्डिङका लागि सबैभन्दा पहिला संगठित संस्थाको विवरण तयार पार्नुपर्छ । यसका लागि संगठित संस्थासँग छलफल तथा सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था मस्यौदामा छ । अख्तियार प्राप्त संस्थाले आईपीओ ल्याउने कम्पनीको सेयरमा कतिसम्म मूल्य कबुल्ने भनी विशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छनु । र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आईपीओको मूल्य निर्धारण हुने व्यवस्था छ ।

के हो बुक बिल्डिङ ?

सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो, बुक बिल्डिङ । सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा धितोपत्रको सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ता (बुक रनर) ले लगानीकर्ताबाट धितोपत्रको माग सृजना गर्ने, संकलन गर्ने र अभिलेख गर्ने व्यवस्थित प्रक्रिया हो । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गरिन्छ ।

सम्भाव्य लगानीकर्ता, जस्तै वित्तीय संस्था, संस्थागत लगानीकर्ता, उच्च नेटवर्थ भएका व्यक्ति आदिबाट कुनै कम्पनीले निष्कासन गर्न लागेको धितोपत्रको खरिद गर्न चाहेको संख्या र तिर्न चाहेको मूल्य माग गरी त्यसको अभिलेख किताब निर्माण गर्छ । बुक बिल्डिङ पद्धतिमा बुक भन्नु सम्भाव्य लगानीकर्ताबाट प्राप्त माग तथा मूल्यको संग्रह हो । जुन बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताबीच गोप्य रहन्छ । यो विश्वका विकसित पुँजीबजारमा धेरै समयदेखि प्रयोगमा छ । छिमेकी मुलुक भारत, बंगलादेशलगायतको पुँजीबजारमा समेत यो पद्धतिको सुरुवात भइसकेको छ ।

यस पद्धतिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले सार्वजनिक निष्कासनको अवधिका दौरान विभिन्न सम्भाव्य लागनीकर्ताबाट बोलपत्र आह्वान गर्दछ । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीले निर्धारण गरेको मूल्य सीमाभित्र रही आफ्नो बोलपत्र पेस गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको वित्तीय विवरण, साख, कार्यसम्पादन मूल्यांकन आदिका आधारमा धितोपत्रको मूल्य तय गरी बोलपत्र पेस गर्छन् ।

कम्पनीको आधार (सूचक) राम्रो भए माग उच्च हुन्छ भने खराब भए माग कम हुन्छ । निश्चित अवधिपछि बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले बुक बन्द गर्छ । अभिलेख भएको मागका आधारमा सार्वजनिक निष्कासनको अन्तिम मूल्य निर्धारण गरिन्छ । यो प्रक्रियामा आईपीओ निष्कासनको मूल्य निर्धारण हुनुका साथै निष्कासित धितोपत्रको मागको अवस्थासमेत थाहा हुन्छ ।

प्रकाशित : असार ९, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?