१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुग्ध पदार्थ बिकाउनै सकस

बंगलादेश निर्यात गर्ने विकल्प असफल भएपछि राहत सामानमा समेट्न प्रस्ताव
किसानले ४ किस्ताको पैसा पाएनन्
राजु चौधरी

काठमाडौँ — लकडाउनले सबैतिर असर पारिरहेका बेला डेरी क्षेत्र पनि अछुतो रहेन । चैत ११ देखि जारी भएको लकडाउन केही खुकुलो भए पनि पार्टी प्यालेस, स्कुल, कलेज, क्याफे र होटल बन्द छन् । यी व्यवसाय सञ्चालन नहुँदा अर्बौं रुपैयाँको धूलो दूध र बटर डम्प भएको छ । असोजसम्म दूधको सिजन मानिन्छ । तर ३१ लाख लिटरमध्ये अपुग पाउडर दूध घोलेर माग पूर्ति हुन्थ्यो । तर यसपालि पाउडर दूध र बटर खपत नभएको डेरी उद्योगी बताउँछन् ।

दुग्ध पदार्थ बिकाउनै सकस

बिक्री नहुँदा एकतर्फ म्याद सकिने अवस्था छ भने अर्कोतर्फ किसानलाई भुक्तानी दिन नसकिएको उद्योगीहरु बताउँछन् । डम्प भएको दुग्ध पदार्थको म्याद सकिने अवस्थामा पुगेपछि सरकारी निकायलाई व्यवस्थापनमै धौधौ भएको छ । बिक्री गर्दा छुट, बंगलादेश निर्यातदेखि राहत सामानमा समेट्ने विषयमा छलफल भइरहेको छ । ‘अहिले करिब ४ अर्ब रुपैयाँको दुग्ध पदार्थ डम्प भएको देखिन्छ । मौज्दात बिक्री नभएपछि किसानलाई नियमित भुक्तानीमा समेत समस्या देखियो,’ राष्ट्रिय दुग्ध विकास बोर्डका सहायक कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने, ‘कसरी समाधान गर्ने भन्ने विषयमा गृहकार्यमा जुटेका छौं ।’

पन्तका अनुसार मौज्दात रहेको दुग्धपदार्थ बंगलादेश र दुबई बेच्न सकिन्छ । बंगलादेशमा न्युजिल्यान्ड, अस्ट्रेलियालगायत देशबाट पनि दुग्ध पदार्थ निर्यात हुन्छ । तर नेपालको उत्पादन केही महँगो पर्छ । यहाँ उत्पादित पाउडर दूध प्रतिकिलो १ सय ७५ रुपैयाँ पर्छ ।

‘लागत बढी भएकै कारण निर्यात सम्भावना कम देखियो,’ पन्तले भने, ‘मार्केट खोजीको क्रम जारी छ ।’ दूध र बटर राहत प्याकेजमा दिँदा केही हदसम्म समस्या समाधान हुन सक्ने उनको भनाइ छ । त्यसका लागि सरकारले अनुदान दिनुपर्छ । अर्को विकल्प उद्योगीहरुले घाटा खाएर बेच्नुपर्छ । आधा भाउमा बिक्री गर्दा उद्योगहरु धराशायी हुने व्यवसायी बताउँछन् ।

‘सबैभन्दा सजिलो उपाय राहतमा १ किलो घिउ र एक किलो बटर दिनु हो । यसले समस्या समाधान हुन्छ,’ पन्तले भने, ‘यसबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सुझाव दिएका छौं । स्थानीय तह र प्रदेशमा राहत बजेटमा समावेश गर्नुपर्छ ।’

फ्रिज रकम नउठेसम्म बजार व्यवस्थापन गर्न कठिन हुने नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालको भनाइ छ । क्वारेन्टाइनमा दूध र घिउ राख्न पाए सजिलो हुने उनलेल बताए । ‘यस सन्दर्भमा अर्थ मन्त्रालयमा सुझाव पेस गरेका छौं । दुग्ध पदार्थ डम्प हुँदा किसानलाई साढे २ महिनादेखि भुक्तानी गर्न बाँकी छ,’ उनले भने, ‘फ्रिज रकम नउठेसम्म व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’निब्र्याजी रुपमा एक/दुई वर्ष ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । सरकारी कार्यालयदेखि आर्मी, प्रहरी, बालगृह, आश्रम तथा सशस्त्र प्रहरीको रासनमा खपतका लागि अनिवार्य दूध तथा दुग्ध पदार्थ समावेश गरिनुपर्ने एसोसिएसनको माग छ । ५ सय ९३ टन बटर र १ हजार टन पाउडर दूध मौज्दात रहेको दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

बिक्रीका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा पहल भए पनि उपलब्धि हासिल हुन नसकेको उनले बताए । ‘घिउका लागि कुरा भएको थियो । अहिले रिटेल मूल्य प्रतिलिटर ९ सय रुपैयाँ छ । डीडीसीले ८ सय ३० रुपैयाँभन्दा कममा बिक्री गर्न सक्दैन,’ उनले भने, ‘त्यति मूल्य पनि महँगो भएकाले अन्योल छ ।’

जानकारका अनुसार ८ सय रुपैयाँमा ४ लिटर तेल नै आउँछ । जसले गर्दा प्रदेश/स्थानीय तहले घिउ किन्न आनाकानी गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । दुग्ध पदार्थ डम्प हुँदा क्यास फ्लो हुन सकेको छैन ।

किसानले १५/१५ दिनमा पाउनुपर्ने दूध बिक्री गरेको रकम ४ किस्तासम्म पाएका छैनन् । ‘बटर र दूध बेचेर किसानलाई दिने हो । किसानको दूध खरिद भए पनि बनेका पाउडर दूध बिक्री हुन सकेन,’ महाप्रबन्धक पौडैलले भने, ‘१५/१५ दिनमा भुक्तानी गर्नुपर्नेमा २ महिनायता दिन सकेका छैनौं । ४ किस्ता दिन बाँकी भयो ।’ लकडाउनअघि दैनिक १ करोड २० लाख रुपैयाँको कारोबार गर्दै आएको डीडीसीको कारोबारमा अहिले ३५ देखि ४० लाख रुपैयाँ कमी आएको छ ।

डम्प बनेको दुग्धपदार्थ बिक्री/व्यवस्थापनका विषयमा गृहकार्य भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । ‘बंगलादेशमा बढी मूल्य छ । माग भए/नभएको, निर्यातको सम्भावनालगायत अध्ययन गर्नुपर्छ, भइरहेको छ,’ उनले भने, ‘साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न बिक्री गर्छन् । त्यताबाट पनि बिक्री गर्न सक्ने गरी छलफल गरिरहेका छौं ।’

डीडीसी घिउमा २० रुपैयाँ छुट

डीडीसीले आफ्नो बिक्री केन्द्रबाट बिक्री भइरहेको घिउमा २० रुपैयाँ छुट दिएको छ । मौज्दात घिउ डम्प हुन थालेपछि प्रतिलिटर २० रुपैयाँ छुट दिएर बिक्री गरिएको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले जानकारी दिए ।

‘प्रतिलिटर ९ सय रुपैयाँमा २० रुपैयाँ छुट दिएका छौं,’ उनले भने, ‘छुट काठमाडौंको लैनचौन, न्युरोड र खुमलटार बिक्री केन्द्रमा मात्रै छ ।’ खुद्राबाहेक ठूलो परिमाणमा खरिद गर्ने व्यापारीलाई पनि अफर ल्याइएको छ । ठूलो परिमाणमा खरिद गर्ने व्यापारी/उद्योगलाई घिउ र पाउडर दूधमा ५ प्रतिशतसम्म छुट दिइएको महाप्रबन्धक पौडेलले बताए । १ हजार किलो किन्दा १, २ हजार किलो किन्दा २, ३ हजार किलो किन्दा ३, ४ हजार किलो किन्दा ४ र ५ हजारभन्दा बढी किलो खरिद गर्दा ५ प्रतिशत छुट दिइएको उनले जानकारी दिए । ‘छुट हुँदा बिस्कुट, आइसक्रिम उद्योगले खरिद गर्न सक्छन्,’ उनले भने ।

प्रकाशित : असार ९, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?