२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पूर्वी नाकाबाट निर्यात अवरोध कायमै

चार दिनदेखि मेची पुलमा नेपाली सामान रोकियो
जोगबनी नाकाबाट आयात–निर्यात जारी
प्रदेश १ ब्युरो

भारतको पश्चिम बंगाल सरकारले अवरोध गर्दा नेपालबाट भारत निर्यात गर्न लागिएका नेपाली उत्पादन बोकेका ट्रक चार दिनदेखि मेची पुलमै अलपत्र छन् ।

पूर्वी नाकाबाट निर्यात अवरोध कायमै

निर्यातमा भारतको पश्चिम बंगाल प्रहरीको अवरोध रहेको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । पुलमा १४ चिया, १० अलैंची र एउटा अम्रिसो लोड भएका गाडी रोकिएका थिए, जसमा बंगलादेश निर्यात हुने अम्रिसोका गाडी र सोझै दिल्ली पठाउन लागिएका २ वटा अलंैचीको गाडी मात्रै छाडिएको छ । बाँकी २२ गाडी पुलमै अलपत्र छन् ।

बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोकेको व्यवसायीले बताएका छन् । ‘बिहीबार छाडेका दुईवटा अलैंचीका गाडीचाहिँ दिल्ली जाने भनेर इजाजत दिइएको छ,’ एक भन्सार एजेन्टले भने, ‘चिया नै पूर्ण रूपमा रोकिएको छ ।’

लकडाउनयता कुनै पनि नेपाली उत्पादन निर्यात गर्न नसकिएको मेची भन्सार कार्यालयले जनाएको छ । खासगरी बंगाल सरकारको एकलौटी निर्णयका कारण नेपाली उत्पादनले निर्यात हुन नपाएका हुन् । भारतबाट आयात भने धमाधम भइरहेको छ । लकडाउनले समेत आयात व्यापार प्रभावित भएको छैन । ‘नेपाली सामानचाहिँ नपठाउनू भन्ने बंगाल सरकारकै आदेश रहेको भारतीय प्रहरीले जनाएको छ,’ भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भने, ‘राज्य सरकारको आदेशलाई प्रहरीले कार्यान्वयन गरेको हो सायद ।’

भारतको केन्द्र सरकारले नेपाल, भुटान र बंगलादेशसँगको अन्तर्राष्ट्रिय सीमा व्यापारलाई लकडाउनका बेलासमेत निरन्तरता दिन पानीट्यांकी भन्सारलाई निर्देशन गरेको थियो । तर प्रहरीले केन्द्रको निर्देशन उल्लंघन गरेको व्यवसायीको आरोप छ । ‘भारतीय भन्सार सामान पठाउनू भन्छ’, एक भन्सार एजेन्टले भने, ‘प्रहरीले भने रोक्छ, के नीति हो, बुझ्नै गाह्रो भो ।’

तारोमा नेपाली चिया

भारतको केन्द्र सरकारले नेपाल, बंगलादेश र भुटानसँगको व्यापार कुनै बाधाव्यवधानबिना जारी राख्नू भन्ने पत्राचार गरे पनि पश्चिम बंगाल सरकारको एकल निर्णयका कारण नेपाली उत्पादन सीमानामा रोकिएको उद्यमी उदय चापागाईं बताउँछन् । ‘नेपाल–भारत वाणिज्य सन्धिविपरीत चियालगायत नेपाली वस्तु रोकिरहेको छ,’ उनले भने, ‘भारत मात्रै हैन, तेस्रो देश निकासी हुने अर्थोडक्स चियासमेत रोकेको छ ।’

लकडाउनअघि नै दार्जिलिङकी पश्चिम बंगाल राज्यसभा सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै तत्काल आयात रोक्न संसद्मा माग गरेकी थिइन् । त्यसअघि दार्जिलिङ टी एसोसिएसनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ भ्रमणमा आएका बेला ज्ञापनपत्रमार्फत नेपाली चियाको आयात रोक्न आग्रह गरेको थियो ।

नेपाली चियाको आयात रोक्न दार्जिलिङबाट पटकपटक प्रयत्न हँुदै आएको थियो । भारतीय व्यापारीहरुका कारण नेपाली चियाप्रति भारतमा अनावश्यक भ्रम सिर्जना भएको नेपाल चिया उत्पादक संघ झापाका अध्यक्ष सुरेश मित्तलको भनाइ छ । नेपाली चिया गुणस्तरहीन र अखाद्य छैन । भारतको केन्द्रीय खाद्य प्रयोगशालामा जाँच हँुदै आएको छ । ‘हाम्रो चिया कुनै हालतमा अखाद्य छैन, बरु भारतकै चियामा विषादीको समस्या छ,’ उनले भने ।

केही भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ चियाको ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्दै आएका छन् । इलामको अर्थोडक्स चिया दार्जिलिङको भन्दा मीठो छ । दार्जिलिङ र इलामको भौगोलिक बनोट करिब उस्तै छ । हावापानी पनि उही । त्यही कारण इलामको चिया दार्जिलिङको भन्दा मीठो रहेको व्यवसायीहरुको भनाइ छ । ‘इलामलगायतका माथिल्लो भेगमा उत्पादित चियाको स्वाद दार्जिलिङको भन्दा पनि बेजोड छ’, इलामको गोर्खा टी इस्टेटका सञ्चालकसमेत रहेका चापागाईंले भने, ‘त्यही कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो चियाको छवि बिग्रिने त्रास छ दार्जिलिङलाई ।’

खासमा केही व्यापारीको फटाइका कारण सिंगो नेपाली चियाको बद्नामी भइरहेको मित्तलले बताए । ‘नेपाली चियाले दार्जिलिङ र डुवर्सको चिया समस्यामा परेको भन्ने उनीहरुको बुझाइ छ,’ उनले भने । लकडाउनका बाबजुद पनि उत्पादित चिया निकासीको पखाईमा गोदाममा थन्किएर बसेको छ ।

नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले पूर्वी नाकाबाट नेपाली उत्पादन निकासीमा भारतको पश्चिम बंगालले गरेको प्रतिबन्धबारे करिब महिना दिनअघि नै वाणिज्य मन्त्रालयलाई लिखित जानकारी गराइसकेका थिए । तर अहिलेसम्म मन्त्रालयबाट ठोस पहल भएको देखिँदैन ।

पूर्वी नाकाबाट निकासी हुने सीमित नेपाली उत्पादनमध्ये चिया पनि एक हो । वार्षिक करिब ४ देखि ५ अर्ब रुपैयाँको चिया भारत निकासी हुँदै आएको मेची भन्सार कार्यालयले जनाएको छ । जसमा पहाडी जिल्लामा उत्पादित अर्थोडक्सको निकासीसमेत उच्च छ । तराईमा उत्पादित सीटीसी चियाको माग भारतमा अत्यधिक छ । सरकारले निर्यातजन्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चिया, अदुवा, अलैंची, कुचो, दाल, भेनियरजस्ता वस्तुमा भन्सार मिनाहा गरेको छ । भन्सार सेवा दस्तुरबापत प्रतिकन्साइन्टमेन्ट सय रुपैयाँ र भ्याटबापत १३ रुपैयाँ अतिरिक्त शुल्क मात्रै लाग्छ ।

खासगरी झापा र इलाममा उत्पादित चिया पूर्वी नाकाबाट भारत निर्यात गरिन्छ । भारतले नेपाली उत्पादनलाई आफ्नो ब्रान्ड बनाएर युरोप, अमेरिकाजस्ता मुलुकमा समेत पठाउने गरेको छ । ‘भारतले कौडीको भाउमा खरिद गरेर महँगो दरमा तेस्रो देश पठाउँछ,’ एक चिया व्यवसायीले भने, ‘हाम्रो आफ्नै ब्रान्ड नहुँदा भारतबाहेकका मुलुकमा निर्यात गर्न असहज छ ।’

लकडाउन अवधिमा ४ अर्ब ३५ करोडको निकासी

भारतले मुलुकका अन्य भन्सार नाकाबाट नेपाली उत्पादन निकासीमा अवरोध गर्दै आए पनि जोगवनी नाकामा त्यसको प्रभाव परेको छैन । यो नाकाबाट अहिले विशेषगरी जुटका सामग्री, रिफाइन गरिएको सूर्यमुखी तेल, तेजपत्ता, अर्थोडक्स चियालगायत नेपाली कृषिजन्य वस्तुको निकासी निर्बाध रूपमा भइरहेको विराटनगर भन्सारले जनाएको छ ।

नेपाली उत्पादन निकासीमा आइतबारसम्म भारतीय पक्षबाट अवरोध भएको छैन । ‘सामान्य अवस्थामा जुनजुन नेपाली उत्पादन निकासी हुँदै आएको थियो । अहिले पनि ती उत्पादन सहज रूपमा निकासी भइरहेको छ,’ भन्सार अधिकृत गोपी उप्रेतीले भने । उनका अनुसार पाम आयल निकासी प्रतिबन्ध भने कायमै छ ।

लकडाउनयता शनिबारसम्म जोगबनी नाकाबाट ४ अर्ब ३५ करोड ५६ लाख मूल्यबराबरका नेपाली उत्पादन निकासी भएको अधिकृत उप्रेतीले जानकारी दिए । ५१ करोड मूल्यबराबरका जुटबाट तयार गरिएका सामग्री, रिफाइन सोयाबिन तेल ७ हजार ५ सय ६८ मेट्रिक टन, रिफाइन पाम आयल ४ हजार ५ सय ६ मेट्रिक टन, चाउचाउ र नुडल्स १ हजार ३ सय ६५ मेट्रिक टन, चिराइतो र तेजपात २५ मेट्रिक टन, अम्रिसो ९ सय ९५ मेट्रिक टन र ३३ करोड ६८ लाख मूल्य बराबरको ९ सय ९ मेट्रिक टन अर्थोडक्स चिया निकासी भएको उनले बताए ।

पर्वत पोर्तेल (काँकडभिट्टा) र विनोद भण्डारी (विराटनगर)

प्रकाशित : असार ८, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?