१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुरुङमार्गको जग्गालाई ५० प्रतिशत क्षतिपूर्ति

सांसद विकास कोषको खर्च हुन बाँकी रकम कोरोना कोषमा

काठमाडौँ — सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत धादिङतर्फ रहेको श्री ५ को वायु गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त रकम दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले बताए ।

सुरुङमार्गको जग्गालाई ५० प्रतिशत क्षतिपूर्ति

‘उनीहरू आफैं जग्गाधनी होइनन्, जग्गाधनी भएको भए मुआब्जा दिइन्थ्यो,’ उनले भने । जग्गाधनी प्रमाणपत्र नभएका, प्रमाण पुर्जा नभएका तर मालपोत नापी कार्यालयमा रहेको स्रेस्ता फिल्ड बुकमा जनाउ रहेको आधारमा मात्र उक्त क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको उनले प्रस्ट्याए ।

धादिङतर्फ मुआब्जाको समस्या नटुंगिँदा लामो समयदेखि निर्माणको काम अघि बढ्न सकेको थिएन । स्थानीयले लामो समयदेखि शतप्रतिशत मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । उक्त क्षेत्रमा १ सय ९ रोपनीमध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्नेछ ।

यसैबीच सांसदहरूले सञ्चालन गर्ने सांसद विकास कोषको चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा चालु आवका लागि छुट्याइएको उक्त कार्यक्रमको खर्च हुन बाँकी रकम सम्बन्धित निर्वाचन क्षेत्रका स्थानीय तहमा गठित कोरोना नियन्त्रण कोषमा राख्ने निर्णय भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

‘लामो समयदेखि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम कोभिड–१९ को सन्दर्भमा प्रयोग गरौं भन्ने जनमत आएको छ,’ मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्तासमेत रहेका खतिवडाले भने, ‘संसद्मा पनि छलफल भएको विषय हुनाले त्यसैअनुसार नै यो निर्णय गरिएको हो ।’ यसरी जम्मा भएको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा मात्र खर्च गर्न पाउने निर्णय भएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा प्रतिसांसदले ६ करोड प्राप्त गरेका थिए । आगामी आवका लागि भने प्रत्येक निर्वाचित सांसदलाई ४ करोडका दरले ६ अर्ब रकम विनियोजन गरिएको छ ।

प्रकाशित : असार ६, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?