बर्खा लागेपछि सडक जथाभावी भत्काइँदै, बनाइँदै

यति बेला बाँसबारी, लाजिम्पाट, तीनकुने, डिल्लीबजारको चारखाल, कीर्तिपुर, चाबहिललगायत उपत्यकाका सडकमा खानपानीका पाइप मर्मत तीव्र पारिएको छ
विमल खतिवडा

काठमाडौँ — गुहेश्वरीको प्रवेशद्वार गौरीघाटमा बर्सेनिजसो खानेपानीको पाइप लिक भएर सडक हिलाम्मे हुन्छ । यहाँ वर्षैपिच्छे सडक भत्काएर पाइप टालिरहनुपर्छ । पानी चुहिएर सडक बिग्रिएपछि केही समयअघि यो खण्डमा ढलान गरियो । पानी चुहिन भने छाडेको छैन ।

बर्खा लागेपछि सडक जथाभावी भत्काइँदै, बनाइँदै

‘धारामा राम्रोसँग पानि आउँदैन तर सडक जलमग्न हुन्छन्,’ गौरीघाटस्थित गुहयेश्वरी विनायक युवा क्लबका सचिव परमेश्वर पौडेलले भने, दिगो रूपमा पाइप व्यवस्थापन नगर्दा बर्सेनि समस्या दोहोरिने गरेको छ ।’

उनका अनुसार ढलान गरिएको सडकमा पानी लिक भएपछि भत्काएर टालिएको हो । मित्रपार्कमा पनि समस्या उस्तै छ । यो खण्डमा बर्खामा प्राय: पानी लिक हुन्छ । टाल्ने त गरिन्छ । तर दिगो छैन । ‘कहाँकहाँ खानेपानीका पाइप भूमिगत छन् भन्नेबारे सम्बन्धित निकाय नै जानकार छैन,’ पौडेलले भने, ‘त्यसैले जहाँ पानी लिक हुन्छ, त्यहाँ सडक भत्काएर बजेट सक्नेबाहेक केही काम भएको छैन ।’ जबसम्म बजेट सक्ने गरी मात्र काम हुन्छ, तबसम्म यस्ता समस्या आइरहने उनले बताए ।

गौरीघाट, मित्रपार्क मात्र होइन, चाबहिल चोकमा पनि बर्सेनि यस्तै समस्या दोहोरिने गरेको छ । पानी लिक हुँदा सडक प्राय: जलमग्न हुन्छ । कालोपत्र गरेको सडकलाई खनेर टाल्ने गरिन्छ । अहिले बिजुलीका तार भूमिगत गर्ने भनेर सडक छेउमा खनिएको छ, यसले गर्दा सर्वसाधारणलाई फुटपाथमा हिँड्न सकस छ । पानी चुहिने समस्या उपत्यकाका प्राय: सबै ठाउँमा छ । यस्ता समस्या बर्खाअघि समाधान गरिँदैन ।

जब बर्खा लाग्छ, तब धमाधम सडक भत्काएर पाइप मर्मतको काम थालिन्छ । अहिले पनि असार लाग्नसाथ मर्मतको काम सुरु भएको छ । नयाँ कालोपत्रसमेत भत्काएर पाइप मर्मतको काम गरिँदै छ । बाँसबारी, लाजिम्पाट, तीनकुने, डिल्लीबजारको चारखाल, कीर्तिपुर, चाबहिललगायत क्षेत्रमा सडक भत्काएर खानेपानीका पाइप मर्मत गर्ने कामलाई यतिबेला तीव्र पारिएको छ । सडक विभागले बर्सेनिजस्तो लाखौं खर्चेर सडक मर्मत गर्छ । कालोपत्र गर्छ । नयाँ सडक बनाउँछ । तर त्यही सडक भत्काएर पानी लिक भएको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप टाल्ने काम थाल्छ । असारअघि सडक विभाग बनाउन र त्यसपछि खानेपानी लिमिटेड सडक भत्काउन सक्रिय हुने गरेजस्तो देखिन्छ ।

राजधानीको जमलमा सडक कालाेपत्रको तयारी गर्दै कामदार । तस्बिर : बिजु महर्जन/कान्तिपुर

सधैं बर्खामै सडक भत्काएर पाइप मर्मत गर्नुपर्ने कारण के हो ? ‘यो बेला पाइपमा पानीको प्रेसर बढी हुन्छ,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले भने, ‘त्यसैले पुरानो पाइप फुट्ने र बिग्रिने हुँदा बढी पानी लिक हुने गरेको हो ।’ अहिले जहाँजहाँ पानी लिक भइरहेको छ, तिनैतिनै ठाउँमा सडक भत्काएर मर्मतको काम जारी छ । ‘यो हाम्रो निरन्तर कार्यक्रम नै हो,’ उनले भने, ‘समस्या बर्खाकै बेला हुन्छ, अहिले ठुल्ठूला लिकेजको काम पनि गरिरहेका छौं ।’ पानी लिक भएपछि मात्र सडक खन्ने गरेको र त्यसका लागि सडक विभागसँग स्वीकृत लिने उनको दाबी छ ।

‘लामो समयदेखि लिक भएर बसिरहेका ठाउँमा सडकसँग समन्वय गरेर बनाइरहेका छौं,’ राईले भने, ‘उपत्यकाभित्र प्राय: सबै ठाउँमा यस्तो समस्या छ । गुहयेश्वरी क्षेत्रमा पाइपमा प्लास्टिक पसेर जाम भएपछि त्यहाँ सडक खनेर मर्मत गर्ने काम भएको छ ।’ रिङरोड विस्तारसँगै पाइप व्यवस्थापन सारिने उनले बताए । सडकका दुवै छेउबाट ठूलो पाइप लगिएकाले त्यसलाई सार्नुपर्ने उनको भनाइ छ । ‘यस्तो समस्या बर्सेनि दोहोरिनुको मुख्य कारण पाइप पुरानो र जीर्ण हुनु नै हो,’ उनले भने, ‘अर्को सडक छेउमा भएको पाइपबाट पानी घरसम्म लगिन्छ । त्यसमा जडित फिरोल कमजोर भई भाँचिएपछि पनि पानी लिक हुने गरेको छ ।’

मेलम्चीको पानी आउनासाथ यो समस्या समाधान नहुने उनले दाबी गरे । कतिपय ठाउँमा पुरानै पाइपबाट पानी वितरण गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार मेलम्चीको पाइप विस्तारले सडक भत्किने र बिग्रिने गरेको छ । अहिले काठमाडौंमा दैनिक १४ करोड लिटर पानी वितरण हुँदै आएको छ । माग ४३ करोड लिटर छ ।

डिभिजन सडक काठमाडौंले भने असार १ गतदेखि अत्यावश्यकबाहेक अन्य विषयमा सडक भत्काउन, खन्न रोक लगाएको जनाएको छ । असार १ बाट कतै सडक खन्ने अनुमति नदिइएको डिभिजन सडक काठमाडौंका प्रमुख कुवेर नेपालीले बताए । उनका अनुसार खानेपानी र ढलले गर्दा सडक खन्ने काम भएको छ । डिभिजनबाट सडक खन्ने काम भएको छैन । बर्खाले गर्दा भेलबाडी आयो र सडक बन्द भयो भने त्यस्तो अवस्थामा मात्र आवश्यकता हेरेर काम गर्न सकिने उनले बताए । नियमित ढल राख्ने र खन्ने काम भदौ मसान्तसम्मका लागि सूचना प्रकाशन गरेर नै बन्द गरिएको उनले प्रस्ट्याए ।

‘सडक बनाउँदा नै ढल र खानेपानीको पाइप व्यवस्थापन गर्ने गरिएको छ । कसैले स्वीकृत नलिई लुकीचोरी सडक खनेको छ भने कारबाही हुन्छ,’ उनले भने, ‘मेलम्ची खानेपानी र स्थानीय आफैंले खन्ने गरेकाले पनि सडक बिग्रिने गरेको छ ।’

कार्यालयले सडक खन्नकै लागि जथाभावी स्वीकृति नदिएको उनको दाबी छ । ठूला एवं महत्त्वपूर्ण काममा आवश्यकता हेरी अनुमति दिइने उनले बताए । कमलपोखरी क्षेत्रमा कार्यालय आफैंले काम गरिरहेको उनको भनाइ छ । ‘नारायणहिटीको उत्तरपट्टि रहेको सेनाको ब्यारेकमा पानी जान बन्द भयो भन्ने कुरा आयो,’ उनले भने, ‘त्यसैले असारअघि नै काम सुरु गरिएको हो । तर सडक बनाउँदै बिगार्ने उद्देश्य होइन ।’

प्रकाशित : असार ६, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?