२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सिन्धुलीको नयाँखर्कमा ‘सीडीओ जुनार’

राजकुमार कार्की

नयाँखर्क (सिन्धुली) — सिन्धुलीको गोलन्जोर गाउँपालिकाका दुई वडामा पहिलोपटक जुनारको चक्लाबन्दी खेती सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुनार सुपर जोन कार्यक्रम र कृषक मिलेर चक्लाबन्दी खेती सुरु गरेका हुन् ।

सिन्धुलीको नयाँखर्कमा ‘सीडीओ जुनार’

गोलन्जोर गाउँपालिका–५ नयाँखर्क र ४ को तीनकन्या माझकुभिन्डेको खाली जमिनमा १२ हजार जुनारका बिरुवा रोपिएका छन् । यी दुवै स्थान जुनार खेतीमा अब्बल दरिएका छन् ।

जीविकोपार्जन जुनार उत्पादन कृषि सहकारी संस्थाले जुनार सुपरजोन कार्यक्रमको समेत आर्थिक सहयोगमा २० हेक्टरमा ६ हजार बिरुवा रोपेर चक्लाबन्दी खेती सुरु गरेको हो । जुनारको पकेट क्षेत्र बनाई खेती प्रणालीमा सजिलो होस् भनेर चक्लाबन्दी खेती सुरु गरिएको सहकारीका अध्यक्ष तिलकबहादुर थापाले जानकारी दिए । ‘जुनारको माग दिनानुदिन बढ्दै गएको छ,’ उनले भने, ‘उत्पादन भने कम हुँदै गएकाले चक्लाबन्दी खेतीमा हामी सबै सहमत भएर थालनी गरेका छौं ।

बोट परिपक्व नहुन्जेल लागेको दाना नफाले राम्रो उत्पादन नहुने भएकाले तीन वर्षसम्म चिचिला टिपेर फाल्ने गरिएको उनको भनाइ छ । जुनार सुपरजोनको एउटा चक्लाबन्दी खेतीमा १० लाख लगानी छ भने किसानको ५० प्रतिशत लगानीबाट खाल्डा खन्ने, मल हाल्नेलगायत काम हुन्छ ।

खाली जमिनमा किसानलाई जुनार खेतीका लागि प्रोत्साहित गरिएको परियोजनाका प्राविधिक जहानबहादुर कार्कीले जानकारी दिए । ‘चक्लाबन्दी खेतीमा एउटा जुनारको बगैंचाले अर्कोलाई छोएको हुन्छ, किसानको जमिन कहीँ जाँदैन,’ उनले भने, ‘कुन किसानको जमिनमा कति बिरुवा छ भन्ने सहकारीले आँकडा निकालेर सोही बमोजिम कार्यान्वयनमा लगिन्छ ।

नयाँखर्कको चक्लाबन्दी खेतीमा १ सय २ जना किसान सहभागी छन् । उनीहरूले आ–आफ्नो खेतबारीमा खाल्डा खनी जुनारका बिरुवा रोप्न सुरु गरेका छन् । चक्लाबन्दी खेतीको उद्घाटन गर्न पुगेका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले रोपेको जुनारको बिरुवाको नाम किसानहरूले ‘सीडीओ जुनार’ राखेका छन् ।


अर्को चक्लाबन्दी खेती गरिएको तीनकन्यामा ५६ कृषकले २० हेक्टरमा ६ हजार बिरुवा रोपेका छन् । जुनार सुपरजोन कार्यालयको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत साझेदारी गरी २० लाखमा खेती सुरु गरिएको सहकारीका अध्यक्ष लोकबहादुर आलेमगरले बताए । यसबाट जुनार खेतीको विस्तार, व्यवसायीकरण साथै विभिन्न किसिमका रोग–कीरा नियन्त्रणका लागि एकै ठाउँमा एउटै किसिमको प्रविधि अपनाउन सजिलो हुने उनको भनाइ छ ।

जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बासेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार हेक्टर छ । सिन्धुलीमा दुई हजार किसान जुनारको सुपरजोन कार्यालयमा सूचीकृत छन् । ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएको कार्यालयप्रमुख देवराज अधिकारीले जानकारी दिए । गएको सिजनमा १ हजार ३ सय ४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट ८ हजार ८ सय ८१ मेट्रिकटन जुनार उत्पादन भई किसानले ३२ करोडभन्दा बढी आम्दानी गरेको जुनार सुपरजोन परियोजनाले जनाएको छ ।

प्रकाशित : असार ३, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?