कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी आवास पुनर्निर्माणले गति लिँदै

लकडाउनका बेला पनि छिटफुट रूपमा काम भइरहेको थियो
विमल खतिवडा

काठमाडौँ — सरकारले लकडाउन खुकुलो बनाएसँगै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माणको कामले गति लिँदै छ । पुनर्निर्माणको कामलाई प्राथमिकता दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड तयार गरेसँगै काम अघि बढाइएको हो ।

निजी आवास पुनर्निर्माणले गति लिँदै

‘पहिला पनि केही ठाउँमा थोरै भए पनि काम भएका थिए,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘अहिले सरकारले लकडाउन खुकुलो बनाएपछि सहज भएको छ ।’ मापदण्ड बनाएर लागू गरिएसँगै प्राय: जिल्लामा काम अघि बढाइएको छ । आइतबारबाट कार्यालय खुलेका छन् । ‘कहाँकहाँ कति काम भयो, बिस्तारै जानकारी आउँदै छ,’ उनले भने, ‘अब सबैतिर रोकिएका काम सुरु हुँदै छन् ।’

विशेषगरी सार्वजनिक यातायातका साधन नचल्दा बढी समस्या भएको छ । कतिपय लाभग्राही गाउँबाट सदरमुकामसम्म पुनर्निर्माणको कामले आउनुपर्छ । यसका लागि कठिनाइ भयो भन्दै फोन आउने गरेको घिमिरेले बताए । प्राधिकरणका अनुसार अहिलेसम्म गुनासो सम्बोधनबाट थपिएकासहित कुल लाभग्राहीको संख्या ८ लाख ३२ हजार ४ सय ८ छ । भूकम्पको ५ वर्ष पुग्दासम्म ४ लाख ९८ हजार २ सय ८९ घर निर्माण भएका छन् । २५ प्रतिशत निर्माणाधीन छन् । ‘अनुदान सम्झौता ९५ प्रतिशत भएको छ,’ घिमिरेले भने, ‘जसमध्ये ९९ प्रतिशतले पहिलो किस्ता बुझेका छन् । दोस्रो ८५ र तेस्रो किस्ता बुझ्ने ७५ प्रतिशत छन् ।’

गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीबाहेक अरूको हकमा पुससम्म निजी आवास निर्माणको काम सकिने उनले दाबी गरे । ‘गुनासो सम्बोधनबाट चैतमा मात्र लाभग्राही फाइनल गरिएको हो,’ उनले भने, ‘उनीहरूले अनुदान सम्झौता गरिसकेका छैनन् । जिल्लाहरूमा विवरण पठाइसकिएको छ, तल्लो तहसम्म पुगेर कार्यान्वयन हुन समय लाग्छ ।’

गुनासो सम्बोधनबाट १ लाख ६ हजार ४ सय ६५ पुनर्निर्माण लाभग्राही थपिएका छन् । भूकम्प अति प्रभावित १४ र कम प्रभावित १८ सहित प्राय: ३२ वटै जिल्लामा काम सुरु भएको प्राधिकरणले जनाएको छ । लकडाउनकै बेला आवश्यक सुरक्षा अपनाएर धरहरा, सिंहदरबार, रानीपोखरीलगायत ठूला संरचना निर्माण जारी छ । अब तिनको गति अझ बढ्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । अब कामदार थप गरेर ठूला संरचनाको कामलाई तीव्रता दिने तयारी भइरहेको उनले जानकारी दिए ।

अब निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालायत क्षेत्रमा बाँकी पुनर्निर्माणका कामलाई पुन: अघि बढाइने उनको भनाइ छ । पुनर्निर्माण प्राधिकरणको समय ०७७ पुस १० मा सकिँदै छ । तर समय थप्ने/नथप्नेबारे अहिलेसम्म निर्णय भएको छैन । पुनर्निर्माणको काम भने पुससम्म सकिने अवस्था छैन ।

प्रकाशित : असार २, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?