एक बोरा युरिया मल लिँदा १२ सयको एसएसपी अनिवार्य !

अभावबीच अतिरिक्त आर्थिक भार थपिएपछि किसानले रासायनिक मल खरिद गर्न सकेनन्
ठाकुरसिंह थारू

बर्दिया — रोपाइँको मुखमा अभाव खेपिरहेका बाँके र बर्दियाका किसानलाई विभिन्न सहकारी संस्थाले युरिया किन्दा जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल किन्न बाध्य बनाएका छन् । जसले गर्दा उनीहरूले अतिरिक्त आर्थिक भार झेल्नुपरेको छ । एसएसपी मल नकिन्ने किसानलाई युरिया मलबिनै फिर्ता पठाउने गरिएको छ । त्यसैले किसान दुवै मल किन्न बाध्य भएका हुन् ।

एक बोरा युरिया मल लिँदा १२ सयको एसएसपी अनिवार्य !

बर्दियामा एक बोरा युरिया मलको ८ सय २ रुपैयाँ तोकिएको छ । एसएसपी मलको प्रतिबोरा १ हजार २ सय रुपैयाँसम्म पर्छ । लकडाउनका कारण मारमा परेका उनीहरूसँग मल किन्ने पैसा छैन । ‘मसँग युरिया किन्न ८ सय थियो । सहकारीमा लिन जाँदा एसएसपी पनि किन्नुपर्छ भने,’ बढैयाताल गाउँपालिका–४ का किसान आशिष चौधरीले भने, ‘पैसा थिएन, रित्तै फर्किएँ । खेती कसरी गर्ने होला ?’ उनले मल किन्नका लागि ८ सय रुपैयाँ जोहो गरेका थिए । गहुँ बिक्री गरेर बीउ किने । ‘धानको बीउमा पनि थोरै युरिया हाल्नु थियो । किन्नै पाइएन,’ उनले भने ।

मलको चरम अभाव सिर्जना गरिएको छ । सहकारीबाहेक अन्य स्थानमा किन्न पाइँदैन । सहकारीमा एसएसपी किन्न अनिवार्य गरिएको मल खरिद गर्न नसकेको स्थानीय बच्चु चौधरीले बताए । ‘खेतीपातीको काम सुरु भइसक्यो । मल किन्न जाँदा एसएसपी किन्न भन्छन् । त्यो किन्ने पैसै छैन,’ उनले भने । लकडाउनयता बाँके र बर्दियामा मल पाउन मुस्किल भएको छ । बर्दियाका लागि युरिया, पोटास र डीएपी गरी १२ हजार टन आवश्यक पर्ने भए पनि जिल्लामा त्यसको एकतिहाइ मात्र मौज्दात छ ।

१ सय २० सहकारी संस्था मल बिक्रीका लागि कृषि सामग्री लिमिटेडमा दर्ता छन् । सहकारीले फुटकर रूपमा मल ल्याउँदै किसानलाई बिक्री गरिरहेका छन् । बाँकेमा ७३ टन युरिया र ९७ टन डीएपी स्टक छ । कृषि सामग्री लिमिटेड बाँकेका अनुसार ६ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डीएपी र १ सय मेट्रिक टन पोटास आवश्यक पर्छ । बर्दिया प्रशासनले कम्तीमा युरिया मल ४ हजार मेट्रिक टन, डीएपी २५ सय मेट्रिक टन र पोटास सय मेट्रिक टन उपलब्ध गराइदिन केन्द्र सरकारलाई पत्र पठाएको छ ।

किसानलाई एसएसपी मल किन्न बाध्य पार्ने कार्य गलत रहेको कृषि सामग्री लिमिटेड बर्दियाका प्रमुख मोहनसिंह केसीले बताए । ‘एसएसपी मल साल्ट ट्ेरडिङ कम्पनीले बिक्री गर्छ । हामीले युरिया, डीएपी र पोटास मात्रै सहकारीलाई दिन्छौं,’ उनले भने, ‘किसानलाई दु:ख दिनु राम्रो होइन ।’ सहकारीले युरिया मल मात्रै किन्न चाहने किसानलाई एसएसपी मल किन्न बाध्य नबनाउन उनले आग्रह गरे । किसानले चाहेको मल किन्न पाउनुपर्ने बाँके र बर्दिया कार्यक्षेत्र रहेको कृषि केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालको भनाइ छ ।

‘एसएसपी किन्न बाध्यकारी नियम छैन,’ उनले भने । समयमै किसानले मल नपाए उत्पादन घट्ने उनले बताए । बीउ राम्रो नभए २० प्रतिशत, मलको प्रयोग नगरिए २० देखि ३५ प्रतिशत उत्पादन घट्छ । तर किसानले भने खेतीपातीको समयमा मल पाउन सकेका छैनन् ।

सहकारीहरूले साल्ट ट्रेडिङ कम्पनीबाट एसएसपी किनेर किसानलाई बिक्री गरिरहेको कृषि सामग्री लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले जानकारी दिए । सहकारीहरूले किसानलाई युरिया मल दिनुपर्ने उनले सुझाए ।

‘एसएसपी अनिवार्य दिनु भनेका छैनाैं । तर सहकारीले किसानलाई जबर्जस्ती दिएको गुनासो आएको छ,’ उनले भने । कृषि अधिकारीका अनुसार एसएसपीले डीएपीको काम गर्छ । बाँकेका १ सय २० सहकारीलाई कृषि सामग्री लिमिटेडले १८/१८ बोरा युरिया मल बिक्रीका लागि वितरण गरेको छ । युरियासँग एसएसपी बिक्री गर्न अनिवार्य नगरेको साल्ट ट्रेडिङ कम्पनी नेपालगन्जका प्रमुख मनोज चौधरीले बताए । ‘एसएसपी किनेपछि मात्रै युरिया दिनु भनेका छैनाैं । किसानले रोजेको मल किन्न पाउनुपर्छ,’ उनले भने ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीहरूले एसएसपी किन्न बाध्य पार्दा किसान समस्यामा परेको स्विकारे । साल्ट ट्रेडिङ कम्पनीमा युरिया मल किन्दा उसले एसएसपी मल अनिवार्य दिने भएकाले सहकारीहरूले पनि त्यसैअनुसार बिक्री गरेको उनको तर्क छ ।

प्रकाशित : जेष्ठ ३२, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?