इटालीमा इन्भेस्टमेन्ट बैंकले जित्यो मुद्दा, २ अर्ब फिर्ता पाउने

काठमाडौँ — तनहुँ जलविद्युत् कम्पनीका लागि इटालियन कम्पनी सीएमसीका तर्फबाट राखेको धरौटी रकम नेपाल इन्भेस्टमेन्ट बैंकले फिर्ता पाउने भएको छ । गत वर्ष तनहुँ विद्युत् आयोजनाको हेडवक्र्सको ठेक्का पाउँदा इटालियन कम्पनी सीएमसीले इटाली बैंकको जमानीमा इन्भेस्टमेन्ट बैंकमा २ अर्ब बराबरको कार्यसम्पादन जमानत राखेको थियो ।

इटालीमा इन्भेस्टमेन्ट बैंकले जित्यो मुद्दा, २ अर्ब फिर्ता पाउने

सीएमसीले सर्तअनुसार काम नगरेपछि तनहुँ जलविद्युत् आयोजनाले ठेक्का रद्द गर्दै कार्यसम्पादन जमानतबापतको रकम लिएको थियो ।

इटालीको इन्टेसा सान पाओलो बैंकको अनुरोधमा इन्भेस्टमेन्ट बैंकले सीएमसीलाई बैंक ग्यारेन्टी दिएको थियो । ठेक्काका लागि इन्भेस्टमेन्ट बैंकबाट ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरोको कार्यसम्पादन जमानत जारी गराएको थियो ।

इन्भेस्टमेन्ट बैंकले इटालीको बैंकसँग जमानत बराबरको रकम मागे पनि सीएमसीले इटाली अदालतमा मुद्दा दायर गरेका कारण उक्त पैसा रोकिएको थियो । इटालीको अदालतले सीएमसीको मुद्दाको सुनुवाइ गर्दै इन्टेसा सान पाओलोलाई तत्काल इन्भेस्टमेन्ट बैंकलाई रकम भुक्तानी नगर्न आदेश दिएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले धेरै मिहिनेतपछि मुद्दाको फैसला आफूहरूको पक्षमा आएको बताए । ‘मुद्दा जितेपछि अब पैसा फिर्ता गराउन त्यहाँको बैंकसँग दाबी गर्छौं,’ उनले भने, ‘यसले राष्ट्रको दुई अर्ब जोगाएको छ ।’ मुद्दाका क्रममा बैंकको साढे ३ करोड रुपैयाँ खर्च भएको र सबै जोड्दा खर्च रकम ५ करोड जति पुग्ने उनको भनाइ छ ।

तनहुँ जलविद्युत् आयोजना र सीएमसीबीच ०७५ असोज १५ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २८ दिनभित्र कार्यस्थलमा पुग्नुपर्ने भए पनि सीएमसीले सर्त पालना नगरेपछि आयोजनाले सोही वर्ष फागुन २३ मा सम्झौता रद्द गर्दै कार्यसम्पादन जमानत जफत गरेको थियो । सीएमसी टाट पल्टिएको भन्दै निर्माणाधीन मेलम्ची आयोजनाको काम छाडेर भागेको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?