भारतीय अर्थतन्त्रमा आशा भर्दै टेलिकम क्षेत्र

कोभिड–१९ महामारीकै बेला भित्र्याए १३ खर्बभन्दा बढी विदेशी लगानी

काठमाडौँ — कोभिड–१९ का कारण संसारभरका उद्यम र व्यवसाय प्रभावित छन् । अनलाइन डेलिभरी र अनलाइनसम्बन्धी सेवा दिने प्रविधि कम्पनीबाहेक सबै क्षेत्र प्रभावित भएकाले आगामी दिनमा वैदेशिक लगानी र रेमिट्यान्समा समेत घट्ने सबै अध्ययनहरूको निष्कर्ष छ ।

भारतीय अर्थतन्त्रमा आशा भर्दै टेलिकम क्षेत्र

यसको विपरीत भारतीय टेलिकम कम्पनीहरूले भने महामारीकै बीच धमाधम लगानी भित्र्याइरहेका छन्, जसले कोभिड–१९ का कारण खुम्चिने अनुमान गरिएको विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा केही भए पनि त्राण भरिने विश्लेषण छ । सबैजसो ठूला अमेरिकी प्रविधि कम्पनीहरूले भारतीय टेलिकम बजारमा चासो देखाइरहेको भए पनि कोभिड–१९ का कारण उनीहरूलाई भारतीय बजारमा प्रवेशको अवसर मिलेको छ ।

छोटो समयमै भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी बनेको रिलायन्स जियोले मात्रै महामारीकै बीच पछिल्लो सात हप्तामा करिब साढे ११ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याइसकेको छ । कम्पनीले आगामी दिनमा आफ्नो सेयर बिक्रीमार्फत थप विदेशी लगानी भित्र्याउने विश्वास छ ।

भारतीय टेलिकम कम्पनी जियोमा फेसबुकले ५ अर्ब ७० करोड रुपैयाँ लगानी गर्दै ९ दशमलव ९ प्रतिशत सेयर खरिद गरेको थियो । फेसबुकले सन् २०१४ मा २२ अर्ब डलरमा ह्वाट्सएपको सेयर किनेपछि सबैभन्दा ठूलो लगानी जियोमा गरेको हो । भारतीय ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउन फेसबुकले पटकपटक प्रयास गर्दै आएको थियो । यसअघि फेसबुकले आफ्नोसहित सीमित राखेर दुई वर्षसम्म नि:शुल्क इन्टरनेट चल्ने गरी ग्रामीण क्षेत्रमा सस्तोमा फोन बिक्री गर्ने तयारी गर्दै स्वीकृतिका लागि सरकारसमक्ष निवेदन दिएको थियो । तर फेसबुकको प्रस्ताव प्रतिस्पर्धा र तटस्थ इन्टरनेटको विपरीत भएको भन्दै भारतीय दूरसञ्चार प्राधिकरणले प्रस्ताव अस्वीकृत गरेको थियो । प्रविधि कम्पनीहरूले सवा एक अर्बभन्दा बढी जनसंख्या भएको भारतको ग्रामीण क्षेत्रलाई भविष्यको ठूलो बजार देखिरहेका छन् ।

महामारीकै बीच अमेरिकी इक्विटी कम्पनी सिल्भर लेकले जियोको १ प्रतिशत सेयर ७५ करोड डलरमा खरिद गरेको थियो । अमेरिकास्थित अर्को इक्विटी फर्म भिस्टा इक्विटीले पनि जियोको २ दशमलव ३२ प्रतिशत सेयर डेढ अर्ब अमेरिकी डलरमा किनेको थियो ।

महामारीकै बीच पनि जियोले बैंकलाई तिर्नुपर्ने आफ्नो खुद ऋण २१ अर्ब डलर सन् २०२१ को सुरुवातमै चुक्ता गर्ने घोषणा गरेको छ । यसले कोभिडका कारण आइपरेको आर्थिक शिथिलता उकास्न पनि ठूलो सहयोग मिल्नेछ । यसै साता मात्रै जियोले अबुधाबीस्थित मुबादालालाई आफ्नो १ अर्ब २० अर्ब बराबरको सेयर बिक्री गर्ने तयारी गरेको छ । यो सम्झौतासँगै सन् २०१६ को मध्यतिर सुरु भएको भारतीय कान्छो टेलिकम कम्पनीको बजार मूल्य ६५ अर्ब डलर पुग्ने अनुमान छ । अर्को कमेरिकी कम्पनी जेनेटर एटलान्टिकले पनि जियोमा ८७ करोड अमेरिकी डलर लगानी गर्ने निर्णय गरिसकेको छ ।

जियो मात्रै होइन, भारतका अन्य टेलिकम कम्पनीले पनि विदेशी लगानी भित्र्याउने तयारी गरिरहेका छन् । सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार अमेरिकी कम्पनी अमेजनले भारतको अर्को ठूलो टेलिकम कम्पनी भार्ती एयरटेलमा २ अर्ब डलर लगानी गर्ने तयारीस्वरूप छलफल अघि बढाएको छ । भार्ती एयरटेल भारतको तेस्रो ठूलो कम्पनी हो ।

भारतको दोस्रो ठूलो टेलिकम कम्पनी भोडाफोन आइडियामा गुगलले लगानीका लागि छलफल सुरु गरेको पनि समाचार पनि आएका छन् । जियोले गरेको लगानी र आक्रामक बजारीकरणले भारतका अन्य टेलिकम कम्पनीको बजार हिस्सा गुम्दै गएको छ । महामारीका बेला मात्रै नभई अरू बेला पनि भारत भित्रिने प्रत्यक्ष वैदेशिक लगानी सञ्चार सेवामा बढी हुने गरेको तथ्यांक देखिन्छ । सन् २०१७ मा भारत भित्रिएको वैदेशिक लगानीको तथ्यांक हेर्ने हो भने ८ अर्ब ८० करोड डलरभन्दा बढी लगानी सञ्चार क्षेत्रमा छ । सन् २०१७–१८ मा भारतमा सबैभन्दा बढी वैदेशिक लगानी सञ्चार क्षेत्रमा भित्रिएको थियो । उक्त समयमा सञ्चार सेवामा भित्रिएको लगानी त्यसअघिको वर्षभन्दा ५० प्रतिशत बढी हो ।

जियोले बजारमा आफ्नो उपस्थिति देखाउन नाफा लगभग शून्य रहने गरी सस्तोमा भ्वाइस र डेटा उपलब्ध गराउन थालेपछि भारतका अन्य टेलिकम कम्पनीलाई पनि मूल्य घटाउने दबाब बढेको थियो । यो दबाबका कारण धेरै टेलिकम कम्पनीको वित्तीय अवस्था नकारात्मक बन्दै गयो भने केही कम्पनी मर्ज हुन बाध्य भए ।

जियोको ठूलो लगानीसँग प्रतिस्पर्धा गर्न भारतीय सबै टेलिकम कम्पनीले ठूलो लगानी गर्ने साझेदार खोजिरहेका छन् । भारतका करिब ५० प्रतिशत जनतामा मात्रै इन्टरनेटको पहुँच पुगेको तथ्यांक छ । जसका कारण आधा नागरिक अझै पनि इन्टरनेटको पहुँच बाहिर छन् । इन्टरनेटको पहुँच नपाएका करिब ७० करोड भारतीय नागरिकलाई प्रविधि कम्पनीले भविष्यको बजार देखिरहेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?