वाणिज्यले गर्‍यो प्रहरी दुरुपयोग

राजु चौधरी

काठमाडौँ — बजार अनुगमनका क्रममा हूलदंगा रोक्न र टोलीलाई सुरक्षा दिन खटाइने प्रहरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुरुपयोग गरेको पाइएको छ । अनुगमनका क्रममा टोलीलाई सुरक्षा दिन सई, असई र दुई हवल्दारसहित चार जना विभागमा खटिने गरेका छन् ।

वाणिज्यले गर्‍यो प्रहरी दुरुपयोग

विभागले भने ती प्रहरीलाई कल सेन्टरमा राखेर व्यवसायीलाई फोन गर्न लगाई विभाग बोलाउन लगाउने गरेको पाइएको हो । प्रहरी दुरुपयोग गरेको सूचना महानगरीय प्रहरी परिसरमा पुगेपछि ती प्रहरीलाई फिर्ता बोलाइएको छ । ‘प्रहरीलाई अनुगमनका क्रममा सुरक्षा दिन पठाएका थियौं । उनीहरूको काम व्यवसायीलाई फोन गर्ने होइन । गर्न दिनु पनि हुँदैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले भने, ‘विभागले गैरव्यावसायिक काम गरेको देखियो । कर्मचारी घरमा राखेर तिनको काम प्रहरीलाई लगाइयो ।’

लकडाउनमा बजार अनुगमन फाट्टफुट्ट मात्रै भएको छ । कोरोना संक्रमण बढिरहेका बेला क्वारेन्टाइनमा प्रहरीको खाँचो पनि भएकाले अनुगमनका बेला मात्रै पठाउने गरी प्रहरीलाई फिर्ता बोलाइएको ज्ञवालीले बताए । विभागका महानिर्देशक नेत्र सुवेदीले भने महानगरीय प्रहरी परिसरले परिपक्व निर्णय नगरेको आरोप लगाए । फोन गर्ने काममा प्रहरीसँगै विभागका कर्मचारी पनि रहने गरेको उनको भनाइ छ । ‘प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहबाटै प्रहरी मगाएका थियौं । कर्मचारी र प्रहरीलाई सँगै खटाएका थियौं । उनीहरूसँगै कर्मचारी पनि हुन्छन्,’ सुवेदीले भने ।

प्रहरीसँग विभागका निरीक्षक अधिकृत पनि हुने गरेको उनको दाबी छ । बजार अनुगमनपछि बयानका लागि निरीक्षक अधिकृतले व्यवसायी बोलाउनेलगायत काम गर्नुपर्छ । अनुगमनका क्रममा सुरक्षा दिने मात्रै प्रहरीको काम हो । व्यवसायीलाई बोलाउनै परे कार्यालयबाट आधिकारिक पत्र पठाउनुपर्ने एसएसपी ज्ञवालीले बताए । ‘विभागले आधिकारिक रूपमा पत्र पठाउनुपर्छ । व्यवसायीले अटेरी गरेमात्र पक्राउ गर्न प्रहरी खटाउने हो,’ उनले भने, ‘तर गैरव्यावसायिक काम भयो । प्रहरीलाई गलत ड्युटीमा खटाइयो ।’

कारण यस्तो छ

विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रका अनुसार केही दिनयता अनलाइन मार्केटिङ गर्ने व्यवसायीलाई विभागमा बोलाएर बयान लिने निर्णय भएको थियो । सोहीअनुसार न्युरोडमा रहेको भर्जिन मोबाइल प्राइभेट लिमिटेडलाई बोलाइएको थियो । उक्त लिमिटेडले मास्क र सेनिटाइजरको विज्ञापन गरेको थियो ।

‘मोबाइल पसलको अनुमति लिए पनि मास्क र सेनिटाइजर बिक्री गरेको देखियो,’ उनले भने, ‘त्यही भएर प्रमाणसहित विभागमा उपस्थित हुन एक जना प्रहरीले बोलाउनुभएको हो ।’ विभागमा ड्युटीमा खटिएका प्रहरीले ती व्यवसायीलाई खरिद र बिक्री बिलसहित विभागमा उपस्थित हुन फोन गरे ।

भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले आफूले अनलाइनमा सेनिटाइजर र मास्कको विज्ञापन गरेको स्विकारे । बिक्री भने मोबाइल कम्पनीबाट नभई सोनुम ट्रेडर्सबाट गरिएको उनको भनाइ छ । सोनुमबाट बढी पैसा नलिएको उनको दाबी छ । ‘आधिकारिक रूपमा बोलाउँदा विभागमा उपस्थिति हुन कुनै समस्या छैन,’ उनले भने, ‘स्वार्थ पूर्ति गर्न प्रहरी लगाएर दमन गर्न खोजियो ।’

त्यसपछि उनले महानगरीय प्रहरी परिसरको सहायता लिएका थिए । उनका अनुसार विभागबाट बिहीबार २ बजे फोन गएको थियो । प्रहरीले गरेको फोनमा एक घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन थियो । ताम्राकार हाउस बन्द भएकाले कागजात लिन सम्भव नभए पनि शर्मा विभाग पुगे । त्यसपछि विभागका कर्मचारीले एउटा चिटमा खरिदबिक्री बिल, दर्तासहितको प्रमाणसहित शुक्रबार पुन: बोलाए । शुक्रबार विभागमा जानुअघि उनले परिसरमा फोन गरेका थिए ।

‘शुक्रबार पुन: विभागबाट प्रहरीले फोन गरे । केहीबेरमा आउने भन्दै परिसरमा एसएसपी ज्ञवाली सरलाई सम्पर्क गरें,’ शर्माले भने, ‘प्रहरीले फोन गर्न मिल्दैन, आधिकारिक नभएपछि परिसर पुगेको हुँ ।’ त्यसक्रममा एसएसपी ज्ञवालीले विभागमा खटिएका प्रहरीलाई फोन गरेर आफूअनुकूल टेकुमा भेट्न बोलाएका थिए । लगत्तै विभागमा खटिएका प्रहरी परिसर पुगेका थिए । प्रहरीको बयानपछि परिसरले अनुगमनमा खटिने प्रहरीलाई फिर्ता बोलाएको हो ।

‘निर्देशनमा प्रहरीलाई फोन गर्न लगाउनु बदमासी हो,’ एक उपभोक्ता अधिकारकर्मीले भने, ‘नियतवश फोन गरेको पनि हुन सक्छ । प्रहरीलाई फोन गर्न लगाएर विभागले गल्ती गरेकै हो ।’

प्रकाशित : जेष्ठ २५, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?