फौजी किराबाट मकै जोगाउन मुस्किल

मकै तीन–चार पाते हुँदा र धानचवँर लाग्ने बेला फौजी किराले बढी सताउने गरेको छ

दाङ,तिलोत्तमा — मकैमा अमेरिकी फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ । किराले गुबो खाइदिएपछि बोट बढ्न नपाएको किसानको गुनासो छ ।

फौजी किराबाट मकै जोगाउन मुस्किल

‘प्रत्येक बोटभित्र किरा छन् । गुबो र पात खाइदिएका छन्,’ राप्ती गाउँपालिका–२ का किसान इन्द्र चौधरीले भने, ‘बोटहरू बढ्ने अवस्थामा छैनन् । गोड्ने भएका मकै हेर्नलायक छैनन् । किराले सबै सखाप पारिसक्यो ।’ सबैतिर फैलिएकाले किरा नियन्त्रणमा समस्या भएको किसानले बताए । ‘किरा यसरी फैलियो भने त अहिले मकै खान पाइएला जस्तो छैन,’ बंगलाचुली–१ का किसान रामवीर नेपालीले भने, ‘केही गर्दा पनि मरेको छैन । सबै बोट नष्ट गरिसक्यो ।’

जिल्लाका सबैजसो क्षेत्रमा फौजी किरा प्रकोपका रूपमा फैलिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले बताए । ‘सबैतिर प्रकोपका रूपमा देखिएको छ । यसबाट मकै बचाउन तीन/चार प्रकारका विषादी प्रयोग गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘सञ्चार माध्यमबाट यसबारे प्रचार पनि गरिरहेका छौं । किसानलाई सहज रूपमा विषादी उपलब्ध गराउन स्थानीय तहसँग समन्वय पनि गरेका छौं ।’ यो आयातित अमेरिकी फौजी किरा भएको धितालले बताए । केही वर्ष भारतमा देखिएको र गत वर्ष नेपालमा छ भन्ने पुष्टि भएको उनको भनाइ छ ।

यसले मकैलाई जतिबेला पनि क्षति पुर्‍याउन सक्छ । तर पनि मकै तीन/चार पाते हुँदा र धानचवँर हुने बेला बढी सताउने धितालले बताए । ‘लार्भाले विस्तारै पात र गुबो खान थाल्छ । त्यसपछि मकैमा क्षति पुग्छ,’ उनले भने, ‘यसका लागि पटकपटक विषादी प्रयोग गर्नुपर्छ । यो व्यापक रूपमा फैलिने भएकाले किसानहरू सचेत भइरहनुपर्छ ।’

फौजी किराले जिल्लाभर करिब १ हजार ८ सय हेक्टरमा लगाइएको मकै बालीमा क्षति पुर्‍याएको उनले बताए । यसले बोट नै नष्ट गर्ने भएकाले उत्पादनमा असर पर्न सक्ने धितालले बताए । किराको प्रकोप बढेपछि स्थानीय तहले पनि औषधि वितरणमा सहुलियत दिइरहेको उनको भनाइ छ । औषधि प्रयोग भएका ठाउँमा कीरा मर्न पनि थालेको उनले जानकारी दिए ।

राप्ती गाउँपालिका–१, २, ४, ५ र ९ मा फौजी किराले बढी क्षति पुर्‍याएपछि रोकथामको काम सुरु गरेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । वडा कार्यालयमार्फत विषादी र स्प्रेयर वितरण भइरहेको छ । यसैगरी शान्तिनगर गाउँपालिकाले पनि किसानलाई विषादी वितरण गरिरहेको छ । विभिन्न वडामा किसानलाई आवश्यक विषादी नि:शुल्क वितरण गरिरहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जनाए ।

किसानलाई हैरानी

रूपन्देहीको तिलोत्तमा–१०, बेंवरीका शंकर ज्ञवालीले विगत दुई वर्षदेखि डेढ बिघा खेत अँधिया गर्दै आएका छन् । खेतबाट भएको उब्जनी खेतधनी र आफूले आधाआधा बाँड्छन् । तर, यसपालि उनलाई अनिकालले सताउने चिन्ता छ । किनभने, पूरै जग्गामा फट्यांग्राको प्रकोप छ । ज्ञवालीले नजिकैको भेटेनरीमा गई गुनासो गरे । भिटामिन र रासायनिक विषादी ल्याए । तर, त्यसले काम गरेन । विषादीको गन्ध छउन्जेल हराएजस्तो गर्ने र गन्ध हट्नासाथ किरा उही संख्यामा फेरि बोटमै आउने उनले बताए ।

विषादीकै लागि १५ सय खर्च गरे पनि प्रकोप नरोकिएको उनले सुनाए । मकैको एक घोंघासमेत चाख्न नपाएका शंकरले धानको बीउ छरेको ब्याडमा समेत किराको बिगबिगी रहेको बताए । भर्खरै पलाएको बीउको मुन्टो खाइदिएकाले उक्त बीउ रोप्नलायक नरहने उनले गुनासो गरे । ‘मकैको घोंघै चाख्न नपाई सखाप भयो,’ ज्ञवालीले थपे, ‘बीउ पनि खाइदिएपछि धान रोपाइँ कसरी गर्ने ?’ मकै छरेदेखि धानको बीउ रोपुन्जेल ३० हजार रुपैयाँ खर्च भइसकेको र उक्त खर्चको आम्दानी त परै जाओस्, साँवा पनि उठाउन नसकेको ज्ञवालीको भनाइ छ ।

१५ वर्षदेखि बेंवरीमा बस्दै आएका इन्द्रबहादुर सुनारी मगरले आफ्नो ४५ वर्षको उमेरमा पहिलो पटक यस्तो समस्या भोगे । ‘जम्माजम्मी १४ कट्ठा जमिन छ,’ उनले भने, ‘सात कट्ठामा लगाएको मकै किराले खाएर सकियो ।’ किराको डरले धानको बीउसमेत नराखेको उनले बताए । ‘विषादी ल्याएर दुई पटक छर्किए पनि पानीले बगाएपछि राख्नै छोडेको सुनारीले सुनाए । मकैमा जमरा लागेपछि देखिएको फट्यांग्रा अहिले गाउँभरि फैलिएका छन् ।

उनीहरूको जस्तै पीडा उक्त गाउँका गणेश पोख्रेल, माधव पोख्रेल, लक्ष्मण पाण्डे, श्याम खरेललगायत सबै किसानको छ । अब बाली लगाउने कि नलगाउने, कसरी जोगाउने र जोगाउन के गर्नुपर्छ भन्नेमा किसान अन्योलमा छन् । उनीहरूका अनुसार यो कीरा पहिलो पटक यसरी आएको हो । अहिलेसम्म बालीमा फट्यांग्रोले खाएर बर्बाद पारेको नदेखेको उनीहरूले बताए । मकैका गुबा नै लाग्न नपाई सिजन सकिएको उनीहरूको गुनासो छ । गाउँमै गाईफार्म सञ्चालन गरिरहेका गणेशले गाईका लागि गरेको घाँसखेतीमा समेत किराले नोक्सान पारेको छ । ‘छिमेकीको मकै सकेपछि मेरो खेतमा प्रवेश गयो,’ उनले भने, ‘केही नरहने गरी निमोठ्दो रहेछ ।’

वार्षिक ५० हजार रुपैयाँ भाडा तिरेर लगाएको घाँसमा किराको प्रकोप बढेपछि रोजगारी नै गुम्ने डर भएको उनले सुनाए । उनीहरू मात्र होइन, तिलोत्तमाका अन्य किसानसमेत यस प्रकारको किराको प्रकोपको मारमा परेका छन् । तिलोत्तमा–१६, जुडाहा डाँडाका किसान दया गैरेले अहिलेको वर्ष कोरोना र किराले न अन्न, न उब्जनी होला भन्ने लागेको सुनाए । ‘खेती र घाँससँगै किरा गोठसम्म पुग्दा गाईबस्तुलाई समेत हानि गरेको छ,’ उनले भने, ‘छाँटी काट्दा किरा पनि परेपछि गाईबस्तुको स्वास्थ्यमा समेत असर पर्ने डर बढेको छ ।’ मकै, घाँस टुप्पोबाट खाइदिँदा समस्या भएको उनले बताए । यो किरा देखिन लागेको झन्डै एक महिना भएको गैरेले बताए ।

फट्यांग्रा प्रजातिको यो किरा माइग्रेटोरी ग्रांसहोप्पर भएको किरा प्रजातिविज्ञ दयाराम भुसालको भनाइ छ । यो फट्यांग्रा प्रजातिकै भए पनि एक्लै नभई समूहगत बालीमा पसेर खाने खालको रहेको उनले सुनाए । ‘भारतको उत्तर प्रदेशमा यो किराको बाहुल्य थियो,’ उनले भने, ‘त्यहीँबाट यहाँसम्म आएको हुन सक्ने सम्भावना छ ।’

तिलोत्तमा नगरपालिका भारतीय सीमाबाट नजिकै रहेको नगर हो । विज्ञका अनुसार ढुवानीका साधनमा आएको हुन सक्ने वा समूहगत नै उडेर आएको हुन सक्छ । धानको बीउ नास हुने डरलाई कम गर्न किसानले लामखुट्टे रोक्ने झुललाई प्रयोग गरी बीउ केही हदसम्म जोगाउन सक्ने उनले बताए । नगरपालिकामा बालीमा फौजी किराको प्रकोप भयो भनी गुनासो लिएर आउने थुप्रै किसान रहेको तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालको भनाइ छ ।

‘फट्यांग्राको समस्या भने आएको छैन,’ उनले भने, ‘किसानलाई यस किराले दु:ख दिएको जानकारी आए समाधानका उपाय सुझाउने र खोज्नेछौं ।’

प्रकाशित : जेष्ठ २४, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?