कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पूर्वाधारका काम सुरु हुँदै

निर्माण सामग्री नपाएर रोकिएका कामले पुन: गति लिँदै छन्
विमल खतिवडा

काठमाडौँ — लकडाउनका बेला निर्माण सामग्री अभावमा रोकिएका र सुरु हुन नसकेका आयोजनामा अहिले विस्तारै काम थालिएको छ । निर्माण सामग्री र कामदार जम्मा गरेर कामलाई गति दिइँदै छ । सुरु भएका आयोजनामा १० देखि ६० प्रतिशतसम्म काम भएको सडक विभागले जनाएको छ ।

पूर्वाधारका काम सुरु हुँदै

सबैभन्दा बढी सवारी चाप हुने नागढुंगा–नौबीसे सडकखण्डमा अहिले ओभर–ले (पिचमाथि पिच) गर्ने कामलाई तीव्रता दिइएको छ । एक सातायता डेढ किमि ओभर–लेको काम सकिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ‘चितवनबाट निर्माण सामग्री ल्याएर काम थालिएको हो,’ उनले भने, ‘पानी पर्दा मात्र काम प्रभावित बन्ने गरेको छ, अरू समयमा निरन्तर छ ।’ उक्त खण्डमा ६ किमि ओभर–ले गरिनेछ ।

ठाउँठाउँमा अहिले आवधिक सडक मर्मतको काम पनि जारी राखिएको महानिर्देशक शर्माले बताए । निर्माण सामग्री अभावले बेलाबेला समस्या हुने गरे पनि सबै ठाउँमा केही न केही काम भएकै छ । पहिलाभन्दा अहिले कामको गति बढेको छ । संखुवासभा, हेटौंडा सडक डिभिजनअन्तर्गतका सडक र पुलमा राम्रो प्रगति भइरहेको उनले जानकारी दिए । गल्छी–त्रिशूली सडकमा पनि धमाधम काम भइरहेको छ ।

‘५० वटा ठेक्का भएकामध्ये १०/११ वटाको काम प्राय: सबै डिभिजनमा भएकै छ,’ उनले भने, ‘आयोजनामा प्रगति पनि देखिन थालेको छ । देशभर ३३ डिभिजन सडक, पुललगायत अन्य आयोजनासहित करिब ८० वटा कार्यालय छन् ।’ ती कार्यालयमार्फत सञ्चालित आयोजना सबैमा काम भएको महानिर्देशक शर्माको दाबी छ । निर्माण सामग्री अभावले कतैकतै समग्र आयोजनामा १० प्रतिशत मात्र काम पनि भएको उनले बताए ।

‘पुल निर्माणमा पहिल्यै सामग्री मौज्दात राखिएकाले त्यति समस्या देखिएको छैन,’ उनले भने, ‘त्यसैले अहिले कतै पनि काम रोकिएको छैन ।’ हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु, जनकपुर र वीरगन्जमा काम भइरहेको छ । व्यापारिक मार्गमा पनि धमाधम काम भइरहेको छ । लुभु–इमाडोल, चापागाउँ–लेले सडक खण्डमा पनि काम अघि बढाइएको विभागले जनाएको छ । चाबहिल–जोरपाटी खण्डका केही भागमा कालोपत्रको काम भएको छ । जोरपाटी–सुन्दरीजल खण्डमा वाल लगाउने र सडक चौडा गर्ने काम जारी छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ, दैलेख र काभ्रेमा काम भएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पनि कामदार ल्याएर काम सुरु गरिएको शर्माले बताए । ‘भनेजति कामदार ल्याउन सकिएको छैन,’ उनले भने, ‘कुल कामदारमध्ये एकतिहाइ ल्याइएको छ । सुरुङकै काम भने सुरु भएको छैन, त्यसलाई चाहिने सडक निर्माणको काम मात्र थालिएको छ ।’

निर्माण सामग्री अभावले रोकिएको गौशला–चाबहिल खण्डको काम सुरु गरिएको छ । अहिले सडक भत्काउने काम सुरु भएको छ । कालोपत्रको काम केही दिनभित्र सुरु गरिने डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले जानकारी दिए । ‘मौसमले साथ दिइरहेको छैन,’ उनले भने, ‘सडक खाली भएका बेला काम गर्न सजिलो हुन्थ्यो भनेर थालेका हौं ।’ भनेकै समयमा निर्माण सामग्री ल्याउन सकिएको भए अहिलेसम्म कालोपत्रको काम सकिने उनको भनाइ छ । ‘निर्माण सामग्री जहाँ भेटिन्छ, त्यहींबाट ल्याएका छौं,’ उनले भने, ‘अहिले काभ्रेको रोशी र ललितपुरको टीकाभैरवबाट लुकाइलुकाई ल्याएर काम थालेका छौं ।’

प्रकाशित : जेष्ठ २३, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?