तरकारी र फलफूल ढुवानी अवरोध गरे कारबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले तरकारी, फलफूललगायत अत्यावश्यक वस्तु र खाद्यान्न ढुवानीमा बाधा नपुर्‍याउन र त्यस्तो अवरोध गर्नेलाई कडा कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

विभिन्न स्थानमा तरकारी तथा फलफूलजन्य वस्तु ढुवानी गरेका सवारी साधन आवागमनमा बाधा पुर्‍याउने र विभिन्न बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारी खाल्डो खनेर पुर्ने जस्ता कार्य भएको प्रति मन्त्रालय गम्भीर भएको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

‘नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी, गराई तरकारी, फलफूललगायत वस्तुहरू उत्पादन, संकलन, ढुवानी र बिक्रीवितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानुनविपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जोकोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने व्यहोरा पनि जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी, गराई तरकारी, फलफूललगायत कुनै पनि आवश्यक वस्तुको उत्पादन, संकलन, ढुवानी र बिक्रीवितरणमा स्थानीय प्रशासनबाट कुनै पनि अवरोध नभएको मन्त्रालयले जनाएको छ । ‘यस प्रकारका कुनै पनि गतिविधिमा कुनै व्यक्ति, निकाय, संघसंस्था सहभागी नभइदिनुहुन अनुरोध गरिन्छ । कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्नसमेत यसै विज्ञप्तिमार्फत अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।

बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए ।

पञ्चपुरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापाले नजिकैको जंगलमा मृतक युवाको दाहसंस्कार गर्ने तयारी भएको जानकारी दिए ।

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाका अनुसार ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए ।

वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए । युवाको बुवाले शव छोएकाले उनको पनि परीक्षण गरिने थापाको भनाइ छ ।

योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक/एक जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक युवाको मृत्यु

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×