१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

समय तोकेर व्यापार

वीरगन्जमा अत्यावश्यकबाहेकका पसललाई जोरबिजोर
धनगढीमा बिहान र धादिङमा दिउँसो मात्रै खुल्ने

वीरगन्ज,धनगढी,धादिङ — व्यवसायीको दबाबपछि पर्सा, कैलाली र धादिङमा समय तोकेर पसल खोल्न दिइने भएको छ । वीरगन्जमा अत्यावश्यकबाहेकका व्यवसाय जोरबिजोर समय मिलाएर शुक्रबारदेखि खुल्ने भएका छन् । सुरक्षा मापदण्डको पालना गर्दै व्यवसाय खोल्न पाइने भएको हो ।

समय तोकेर व्यापार

लकडाउनयता ७२ दिनदेखि पसल व्यवसाय गर्न नपाएका व्यवसायीले पछिल्लो चार दिनदेखि खोल्न पाउनुपर्ने माग राखेर प्रदर्शन गर्दै आएका थिए । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले कोरोना संक्रमणबाट जोगिने गरी व्यवसाय सञ्चालन गर्न अनुमति दिने जनाएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले विभिन्न व्यवसाय सञ्चालनको बार र समय निर्धारण गरेको छ । यसअन्तर्गत औषधि पसल चौबीसै घण्टा सञ्चालन हुनेछन् । बैंक तथा वित्तीय संस्था नियमित रूपमा सञ्चालनमा आउने बताइएको छ ।

अत्यावश्यक वस्तु (खाद्य, किराना, पानी, दूध, तरकारी, ग्यास आदि) बिक्रीवितरण गर्ने पसल हरेक दिन बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए । रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स आदिका पसल जोर गते बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने पाइनेछ । हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्ट्स, अटोवक्र्स, भाँडाबर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिजोर गते बिहान ११ देखि दिउँसो ४ बजेसम्म खोल्न पाइने बस्नेतले बताए । हाट बजार, तरकारी मन्डी र खुला स्थानमा भने केही पनि बिक्रीवितरण गर्न नदिने निर्णय भएको छ ।

माछामासु, पशुपन्छी आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डन्डी, जस्तापाता, कोइला, बिटुमिन तेल, क्लिंकर, निर्माण सामग्रीलगायत मालवस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि गर्न पाइने भएको छ ।

सिनेमा हल, जिमखाना, होटल, रेस्टुरेन्ट, चिया पसल (फुटपाथमा राखिएका समेत) मिठाई पसल, मदिराजन्य पसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बा र मानिसको भीड हुने स्थलहरू पूर्ण रूपमा बन्द रहनेछन् । सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाइकल, साइकललगायत पास नभएका सम्पूर्ण सवारी पनि सञ्चालन गर्न नपाइने संकट व्यवस्थापन केन्द्रको विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज उद्योग वाणिज्य संघले विभिन्न व्यवसायीको संलग्नतामा एउटा टोली बनाई मापदण्ड कार्यान्वयन गराउन पहल गर्ने संकट व्यवस्थापन केन्द्रका सदस्य सचिवसमेत रहेका बस्नेतले जानकारी दिए ।

धनगढीका व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले बिहान ११ बजेसम्म बजार खोल्न दिने भएको छ । सामाजिक दूरी र मास्क प्रयोग अनिवार्य गरी बिहान ७ देखि ११ बजेसम्म बजार खोल्न दिइने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । लकडाउनलाई खुकुलो पार्दै स्थानीय प्रशासन, तह र व्यवसायीबीच सहमति भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

धादिङमा भने बिहान ११ देखि ४ बजेसम्म बजार खोल्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले लकडाउनलाई असर नपर्ने गरी व्यापार खुला गर्न सिफारिस गरेको उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

व्यापार ठप्प गरेर महिनौंसम्म चर्को भाडा तिर्नुपरेपछि अवज्ञा सुुरु हुने अवस्था आउन नदिन बजार खोलेर विस्तारै सामान्य बनाउँदै लैजाने निर्णय गरिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?