२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खुल्न थाले पसल

सुरक्षा सावधानी अपनाएर बिहान ८ देखि ११ बजेसम्म पसल खुले
केही ठाउँमा धरपकड भयो

काठमाडौँ — काठमाडौं महानगर–२७ केलटोलकी सुनिता श्रेष्ठले लकडाउनको ७३ औं दिनमा कपडा पसल खोलिन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले फोनमार्फत पसल खोल्न आग्रह गरेपछि सुनिताले पसल खुलेकी हुन् । ‘पसलको सटर खोल्न मात्र लागेकी थिएँ, स्वयंसेवक र प्रहरी सिठी फुक्दै सटर बन्द गर्न आइपुगे,’ उनले भनिन्, ‘उनीहरु गएपछि पुन: सटर खोलेँ ।’

खुल्न थाले पसल

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको करिब साढे दुई महिनामा व्यवसायी एकजुट हुँदै बिहीबारदेखि व्यवसाय सञ्चालन गर्न तयार भएका हुन् । ‘ग्राहक आउने आशा त छैन । तर पसलको सरसफाइ गर्न मात्र भए पनि सटर खोलेकी हुँ,’ उनले भनिन्, ‘मुसाले पसलको कपडा काटेर ध्वस्त पारिसक्यो ।’ पसलकै कमाइबाट ४ जनाको परिवार धान्दै आएकी सुनिताले कोठा र पसलको भाडा मासिक एक लाख रुपैयाँ तिर्नुपर्ने बताइन् । ‘पसल बन्द भएको दुई महिना नाघिसक्यो, घरबेटीले भाडाको ताकेता गरेको गर्‍यै छन्,’ उनले भनिन् ।

महासंघले व्यवसायीहरुलाई सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको र सोहीबमोजिम पसल सञ्चालन गरेको जनाएको छ । ‘ग्राहकका लागि सेनिटाइजरको व्यवस्था गरेका छौं, जुत्तामा स्प्रे गरेर मात्र पसलमा प्रवेश दिन्छौं,’ सुनिताले भनिन्, ‘सामान बेचेको पैसालाई समेत स्प्रे गरी घाममा सुकाएपछि मात्र प्रयोग गर्छौं ।’

झापाका विनोद अग्रवाल महाबौद्धमा कस्मेटिकको होलसेल पसल चलाउँछन् । लकडाउनपछि बिहीबार पसल खोलेका विनोदले ग्राहक नआएपछि तीन घण्टामै पसल बन्द गरेर हिँडे । ‘हामीले पसल खोले पनि ग्राहक आउँदैनन्, फाट्टफुट्ट पसल खुले पनि बजार सुनसानप्राय: छ,’ उनले भने, ‘महासंघको आग्रहमा पसल खोलेका हौं ।’

जोरपाटीका आत्माराम चौलागाईंले पनि फेन्सी पसल खोलेका थिए । जसोतसो उनले ११ बजेसम्म पसल खोले । ‘हामी सबैले बिहान पसल खोल्यौं,’ उनले भने, ‘स्वयंसेवक र प्रहरी आउँदा बन्द गर्ने र गएपछि पुन: खोल्ने काम जारी रह्यो, भोलि पनि खोल्छौं ।’ प्रहरीसँग झगडा गरेर पसल खोल्ने वातावरण छैन । प्रशासनले दबाब दिएको खण्डमा बन्द गर्ने योजना रहेको उनले बताए ।

सरकारले गत चैत ११ देखि जारी गरेको लकडाउन लम्बिँदै गएपछि व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् । बिहीबार पाटन, मंगलबजार, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल क्षेत्रमा किराना पसल, हार्डवेयर, फलफूल, फार्मेसी पसल प्रशस्त खुले । लगनखेल र जावलाखेलमा केही कपडा पसल र भाडा पसलसमेत सञ्चालन भए । न्युरोड, असन, टेबहाल, भोटेबहाल केलटोल क्षेत्रमा प्राय: फेन्सी, ग्रोसरी र इलेक्ट्रोनिक पसल बिहान खुले । दिउँसो भने किराना र केही फेन्सी पसल खुले । त्रिपुरेश्वर र क्षेत्रपाटीमा सबै मेडिकल तथा सर्जिकल पसल खुला थिए ।

टेकु सडकखण्डका हार्डवेयर, वर्कसप, केही लुगा पसल र कालिमाटी–कंलकी सडक खण्डमा फलफूल पसल र केही खाजा घर सञ्चालन भए । दरबारमार्ग सडकखण्डमा केही फेन्सी पसल खुले । भक्तपुरको सूर्यविनायक, सल्लाघारी, कमलविनायक, गठ्ठाघर, कोटेश्वरलगायत क्षेत्रमा किराना पसल, हार्डवेयर, अटोपार्टस्, खाजाघर, मासु पसल खुलेका थिए ।

संगठनको निर्णयअनूसार सामाजिक दूरी कायम गर्दै बिहान ८ देखि ११ बजेसम्म पसल सञ्चालन गरिएको साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । पसल सञ्चालन गर्दा सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको उनले जनाए । व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा सेनिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् । सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुला गर्नुपरेको उनको भनाइ छ । महासंघले बुधबार बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेको थियो ।

साना पसल व्यवसायीले सरकारले ठूला व्यवसायीलाई प्रोत्साहन गर्ने र सानालाई निरुत्साहित गर्ने काम गरेको आरोपसमेत लगाएका छन् । बिहीबार बिहान चाबहिलमा पसल बन्द गर्न पुगेका प्रहरीसँग विवाद गर्दै ठूला पसललाई मात्र खोल्न दिएको र साना व्यवसायीलाई स्वास्थ्य सुरक्षा अपनाएर पनि पसल खोल्न नदिएको भन्दै उनीहरुले विरोध गरे ।

सामानहरू मुसाले काटेको र पानी छिरेर ड्यामेज हुने सम्भावना बढेकाले पसल खोल्ने निर्णय गरिएको राष्ट्रिय व्यापार संघका अध्यक्ष अञ्जन शाक्य बताउँछन् । प्रशासनलाई जानकारी गराएरै सांकेतिक रूपमा पसल सञ्चालन गरिएको उनको दाबी छ । बिहीबार असन, महाबैद्ध, न्युरोडलगायत करिब ५० प्रतिशत पसल खुलेको शाक्यले बताए ।

लकडाउनको अवज्ञा गर्दै व्यवसायीले पसल खोलेपछि केही ठाउँमा धरपकडसमेत भएको थियो । ‘कोटेश्वरमा एकछिन धरपकड भयो । त्यसपछि पसल पुन: बन्द भए,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘चाबहिल तरकारी बजार क्षेत्रको अवस्था पनि उस्तै थियो ।’

सरकारले लकडाउन खुकुलो नबनाए शुक्रबार पनि कडाइका साथ पसल खोल्ने उनले बताए । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका महासचिव नवराज गौतमले पनि सुरक्षाको मापदण्ड र सामाजिक दूरी राखेर बिहीबारदेखि पसल खोलिएको जनाए । ‘महाबैद्धका होलसेल, जुत्ता, रेडिमेट कपडा, ब्याग, चप्पल, इलेक्ट्रिकलगायत पसल करिब ५० प्रतिशत खुले,’ उनले भने, ‘सटरभाडा, बैंकको ब्याज र कर्मचारीको तलबले तनाव भयो ।’

सावधानी अपनाउन सिफारिस

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन सिफारिस गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिलाई बैठकले यस्तो सिफारिस गरेको हो ।

राजधानीमा उद्योगी व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।

विद्यालय/विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा, सम्मेलन हुने क्षेत्रलाई एवं कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिनुपर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

चैत ११ देखिको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेकका उद्योग/कलकारखाना तथा बजार पूर्ण रूपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि मजदुरी गर्नेहरू मारमा परेका छन् । उद्योग कलकारखाना सञ्चालक पनि पीडित छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउन खुकुल्याउने निष्कर्षमा पुगेको हो ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?