हवाइ भाडा ११ सयसम्म घट्यो


काठमाडौँ — नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाँ र सरकारले बजेटमार्फत प्रति लिटर १० रुपैयाँ पूर्वाधार कर हटाएपछि हवाइ भाडा अधिकतम ११ सय ५ रुपैयाँसम्म घटेको छ ।


सर्वाधिक आन्तरिक उडान गर्दै आएको बुद्ध एयरले कम्तीमा २ सय २५ देखि ११ सय ५ रुपैयाँसम्म हवाई भाडामा लिइने फ्यूल चार्ज घटाएको हो । उसले सबभन्दा बढी काठमाडौं–धनगढी र सबैभन्दा कम काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ घटाइएको जनाएको छ ।
बुद्धले लकडाउनमा केहि चार्टर उडान भएपनि खुलेलगत्तै उडानका लागि व्यापक तयारी भइरहेको जनाएको छ ।
यस वायुसेवा कम्पनीले कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको मापदण्ड अनुसार, ‘सुरक्षा निर्देशिका’पनि ल्याइसकेको छ । रक्षा निर्देशिकाले यात्रु, कर्मचारी, जहाजको विशेष सरसफाई, र्याम्पबस, कर्गो ट्रली, काउण्टर तथा कार्यस्थललाई कसरी भाइरसबाट सुरक्षित राख्ने उल्लेख गरेको छ ।
सुरक्षा निर्देशिका अनुसार बुद्ध आउने सातादेखि आफ्ना कर्मचारीहरुलाई तालिम प्रदान गरिने जनाएको छ । तालिम सकिएपछि बुद्धले उडानपूर्व अनिवार्य गरिने अभ्यास पनि गर्ने जनाएको छ ।
बुद्धले वायुसेवा संचालक संघमा भाडा घटाएको जानकारी गराउदै संघका प्रवक्ता योगराज कडेलले अरु वायुसेवा कम्पनीले घटाएको भाडा दर बुझाइनसकेको बताए ।
