२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नुवाकोटको सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

नुवाकोटको सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

२५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट सञ्चालनमा आएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो,’ घिसिङले भने, ‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएका ेछ ।

सरकारले दीर्घकालीन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजारा मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात लागू गरेको छ । प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेजः ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभर २५–३० प्रतिशत, रन अफ द रिभर ३०-३५ प्रतिशत र अन्य वैकल्पिक श्रोत ५–१० प्रतिशत बमोजिमको अनुपात कायम रहने व्यवस्था गरिएको छ ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ । अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकासबहादुर रघुवंशीले जानकारी दिए ।

तस्बिर सौजन्य : नेपाल विद्युत प्राधिकरण

प्रकाशित : जेष्ठ २२, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?