लयमा फर्कंदै हेटौंडाका उद्योग

औद्योगिक क्षेत्रका सयभन्दा बढी उद्योगले थाले उत्पादन
प्रताप विष्ट

हेटौंडा — स्वास्थ्य सुरक्षाको सतर्कता अपनाउँदै हेटौंडा औद्योगिक क्षेत्रका प्राय: उद्योग पुन: सञ्चालनमा आएका छन् । सरकारले लकडाउनको अवस्थामा ४२ किसिमका उद्योग सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि औद्योगिक क्रियाकलापमा सजिलो भएको हो ।

लयमा फर्कंदै हेटौंडाका उद्योग

हेटाैंडा औद्योगिक क्षेत्रमा रहेका १ सय ११ उद्योगमध्ये बुधबारसम्म सयभन्दा बढी उद्योग पुन: सञ्चालनमा आइसकेको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखेरलले जानकारी दिए । अन्य उद्योग भने कच्चापदार्थको अभावले गर्दा सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । सञ्चालनमा नआएका उद्योग एक/दुई दिनभित्र पुन: सञ्चालनमा ल्याउने तयारी छ । पुन: सञ्चालनमा आएका प्राय: उद्योगले आंशिक मात्र उत्पादन गरिरहेका छन् । ‘मजदुर र कच्चापदार्थको अभावले गर्दा उद्योग पूर्ण क्षमताका साथ सञ्चालन हुन सकेका छैनन्,’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक राजेन्द्र कँडेलले भने, ‘उत्पादित वस्तु पनि बजारमा पठाउन सकिएको छैन ।’ बिस्कुट, खाद्य, दाना र डेरी उद्योगले राम्रोसँग उत्पादन सुरु गरेका छन् ।

उद्योग सञ्चालन गर्न बिहान ९ बजेअघि नै मजदुर र कर्मचारी उद्योगभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । उद्योगभित्र पनि भौतिक दूरी कायम राखेर काम गर्नुपर्ने व्यवस्था गरिएको पोखरेलले बताए । औद्योगिक क्षेत्रबाहिरका उद्योग पनि चलिरहेका छन् । औद्योगिक क्षेत्रभित्रका उद्योगमा पाँच हजार मजदुर कार्यरत छन् । बाहिर रहेका युनिलिभर लिमिटेड, हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट, ऋद्धिसिद्धि सिमेन्टलगायत उद्योग चलिरहेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?