१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

३५ हजारको टिकट १ लाखमा बिक्री, नेवानिका ३ जहाजमा ५ सय ८७ नेपाली सोमबार राति हङकङ उडे

लकडाउन सुरु भएको ७७ दिनयता हङकङका लागि भएको यो पहिलो उडान हो ।
सुरज कुँवर

काठमाडौँ — आफन्त भेट्न र पुरानो थलो आएर लकडाउनका कारण अलपत्र हङकङ आईडीवाहक नेपालीले फर्कनका लागि टिकटमा दोब्बरभन्दा बढी तिर्नुपरेको छ । लकडाउनले जान नपाएर छटपटिएका १ हजार ४ सय जनामध्ये सोमबार राति ५ सय ८७ जना फर्किएका छन् । नेपाल वायुसेवा निगमका तीनवटा जहाजमा काठमाडौंबाट हङकङका लागि उडेका अधिकांश यात्रुबाट टिकट बिक्रेताले निर्धारित भाडाभन्दा दोब्बर असुलेका छन् ।

३५ हजारको टिकट १ लाखमा बिक्री, नेवानिका ३ जहाजमा ५ सय ८७ नेपाली सोमबार राति हङकङ उडे

छोराछोरीको स्कुलको पठनपाठनको समय भेटाउन, भिसाको म्याद सकिनबाट जोगिन, अस्पतालको नियमित चेकजाँच नछुटाउन एकतर्फी ३५ हजार रुपैयाँमा बिक्री हुने काठमाडौं हङकङको रुटमा ८५ हजारदेखि १ लाख रुपैयाँ तिरेर उनीहरू फर्कनुपरेको हङकङस्थित गैरआवासीय नेपाली संघकी अध्यक्ष टीका गुरुङले बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार निगमका चार्टर टुंगो लागेपछि दुईटा न्यारोबडी र एउटा वाइडबडी गरी तीनवटा विमानको उडान तालिका एक–एक घण्टाको अन्तरमा सोमबार राति साढे ८ देखि साढे १० बजे समय दिइएको हो । तीनवटै जहाजमा सिट संख्याअनुसार पूरा यात्रु थिए । स्रोतका अनुसार तीन चार्टर उडानमध्ये हङकङको सनराइज ट्राभलले एउटा वाइडबडी र काठमाडौंको हारभेस्ट मुन ट्राभल एजेन्सीले दुइटा न्यारोबडी विमान चार्टर गरेको हो ।

दुइटा न्यारोबडीमा १ सय ५५ का दरले ३ सय १० र एउटा वाइडबडीमा २ सय ७३ यात्रु फर्किएका छन् । यात्रुमा २१ महिनामुनिका ५ शिशु पनि छन । एनआरएनए अध्यक्ष गुरुङले चैतअघि नेपाल आएका विद्यार्थी, कामदारलगायत हङकङको भिसा तथा आईडी भएका नेपाली फर्किएको बताइन् । सोमबार हङकङ फर्किन यात्रुहरू विहानै ८ बजे विमानस्थलमा पुगेका थिए । यसरी आउनेमा काठमाडौं, ललितपुरबाहेक झापा, धरान, सुनसरी, चितवन, भैरहवा, पोखरा, तनहुँ, म्याग्दीलगायतबाट गाडी रिजर्भ गरेर आइपुगेका थिए ।

‘१४ सय चानचुन नेपालमा रहेको देखियो । यीमध्ये सोमबार करिब ६ सय जना फर्किने कार्यक्रम हो,’ पोखरा मूलघर भएकी गुरुङले भनिन्, ‘बाँकी बिहीबार र शुक्रबार निगमकै चारवटा न्यारोबडी जहाजमा फर्कने कार्यक्रम छ ।’ अध्यक्ष गुरुङले एकतर्फी ३५ हजारमा बिक्री हुने टिकट एजेन्टहरुबाट तेब्बर महँगोमा किन्नुपरेको बताउँदै नेपाल सरकार र पर्यटन मन्त्रालयले कुनै नियमन नै नगरेको गुनासो पोखिन् । ‘वाइडबडीमा जानेले १ लाख र न्यारोबडीमा जानेले ८५ हजारमा टिकट किनेका छन्,’ अध्यक्ष गुरुङले भनिन्, ‘कतिपय कोरोनाको डरले, कतिपयका बच्चाहरुको स्कुल बिदा सकिसक्यो, कतिपयको अस्पतालमा नियमित चेकजाँच छुटेकाले फर्किनुपर्ने बाध्यता आइलाग्यो ।’

यसअघि हङकङ फर्किन चाहने यी नेपालीलाई हिमालय एयरलायन्सले जेठ ९ गते ६५ हजारमा लैजाने सहमति भएको थियो । तर, हिमालयलाई हङकङको अनुमति नपाएपछि यात्रुहरुले निगमको जहाज छनोट गर्नुपरेको थियो । निगमले टिकट बिक्री गर्ने एजेन्टलाई न्यारोबडी प्रतिघन्टा ८ हजार ७ सय डलर र वाइडबडी १८ हजार डलर भाडा तिर्ने शर्तमा चार्टर गराएको हो ।

टिकट बिक्री गर्ने एजेन्टले यात्रुलाई महँगो टिकट बिक्री गरेर आम्दानी गर्नेबाहेक निगमबाट कुल कारोबारमा ५ प्रतिशत कमिशन पनि पाउँछन् । यो उडानमा भने वाइडबडीको टिकट बिक्रि गर्ने एजेन्टलाई कमिशन छैन ।

लकडाउन सुरु भएको ७७ दिनयता हङकङका लागि भएको यो पहिलो उडान हो ।


प्रकाशित : जेष्ठ १९, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?