कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कालीगण्डकी करिडोर प्रसारण लाइन अन्तिम चरणमा

लकडाउनमा सीमित मजदुर खटाएर काम गरिरहेको आयोजनाले आगामी असारमै काम सक्ने तयारी गरेको छ
घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुस्मा सबस्टेसन जोड्ने कालीगण्डकी करिडोरको प्रसारण लाइनको काम निर्माण अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी करिडोर प्रसारण लाइन अन्तिम चरणमा

दाना–कुस्मासम्मको ४२ किमी खण्डमा रहेका १ सय १४ टावरमध्ये अहिले दुईवटाको जग खन्ने काम काम भइरहेको छ । बाँकी टावर बनेर तारसमेत टाँग्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

लकडाउनका बीच उपलब्ध सीमित मजदुर खटाएर आयोजनाले काम गरिरहेको छ । दाना सब स्टेसनमा कार्यरत २ सयमध्ये ४०, कुस्मा सबस्टेसनका २ सयमध्ये ३४ र तार/पोल निर्माणमा संलग्न ३ सयमध्ये ६० मजदुरले काम गरिरहेका छन् ।

‘सबस्टेसन फिनिसिङ, दुईवटा टावर ठड्याउने र तीन किमि तार टाँग्ने काम बाँकी छ । लकडाउनले धेरै मजदुर घर फर्के पनि उपलब्ध सीमित श्रमिकबाट असारभित्र प्रसारण लाइन सञ्चालनमा आउने विश्वास गरेका छौं,’ आयोजना प्रमुख चन्दन घोषले भने, ‘अब अन्तिम चरणमा छौं । असारपछि यस क्षेत्रको बिजुली खेर जानेछैन ।’

आयोजनाको बेनी कार्यालयले आर्थिक तर्फ ९५ प्रतिशत र भौतिक तर्फ ९७ प्रतिशत प्रगति रहेको जनाएको जनाएको छ । कालीगण्डकी करिडोरमा निर्माणाधीन बेनी–जोमसोम सडकसँग ‘राइट अफ वे’ र अन्नपूर्ण गाउँपालिका–६ घार पोखरेमा बस्तीमाथि हाइटेन्सन लाइन परेपछि स्थानीयको अवरोधले लामो समय निर्माण प्रभावित भएको थियो ।

विद्युत् प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न भारतीय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीलाई २ अर्ब ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकेदारबीच सन् २०१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको थियो । एक वर्ष म्याद थप गर्दा पनि आयोजनाले काम पूरा गर्न नसकेको हो ।

मुस्ताङ/म्याग्दीको उत्तरी क्षेत्रका जलविद्युत् आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र बागलुङका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पर्वतको खुर्कोट सबस्टेसनमा जोडेपछि खुर्कोट–बर्दघाट खण्डको प्रसारण लाइनबाट बिजुली लैजाने प्राधिकरणको योजना छ ।

सबस्टेसन ढिलाइले विद्युत् अलपत्र

कालीगण्डकी करिडोरको दाना सबस्टेसन निर्माणमा ढिलाई हुँदा म्याग्दी र मुस्ताङमा उत्पादित ८ मेगावाट विद्युत् खेर गइरहेको छ । थापाखोलाको १३.६ मध्ये ५ मेगावाट र ५ मेगावाटको घलेम्दी जलविद्युत्को पूरै बिजुली केन्द्रीय ग्रिडमा जोड्ने ठाउँ नहुँदा अलपत्र परेको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणपछि ४२ मेगावाटको मिस्त्रीखोला राहुघाट, घारखोला १४ मेगावाट, कालीगण्डकी अपर ६४ मेगावाट, कालीगण्डकी गर्ज १४६ मेगावाट, नीलगिरि ३८ मेगावाट, कोवाङ–कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विद्युत्लाई जोड्ने योजना छ । त्यसै गरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङखोला (२५ मेगावाट) को विद्युत् पनि कालीगण्डकी करिडोर प्रसारण लाइनमै जोड्ने योजना छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?