कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

दोब्बर मूल्यको हवाइ इन्धन अमान्य : वायुसेवा सञ्‍चालक संघ

काठमाडौँ — नेपाल आयल निगमले बिक्री गर्ने हवाई इन्धनको मूल्यप्रति बारम्बार विरोध जनाउँदै आएको आन्तरिक वायुसेवा संचालकहरुको छाता संगठनले आइतबार विज्ञप्ती मार्फत् पुन सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएको छ ।

दोब्बर मूल्यको हवाइ इन्धन अमान्य : वायुसेवा सञ्‍चालक संघ

वायुसेवा संचालक संघले निगमले नेपालमा आन्तरिक वायुसेवा कम्पनीका लागि बिक्री गर्ने हवाई इन्धनको मूल्य भारतको दाँजोमा झन्डै दोब्बर महंगो भएकाले आम नेपाली यात्रुलाई सुपथ मूल्यमा हवाई सेवा प्रदान गर्न कठिनाई भइरहेको जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि पनि यसै विषयमा विज्ञप्ती सार्वजनिक गरेको संघले प्रति लिटरमा झन्डै ३३ रुपैयाँ नाफा लिनु कानुनसम्मत पनि नभएको जनाएको छ । ‘छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य झन्डै दोब्बर देखिएकाले बजेट व्यक्तव्यमार्फत् नेपाल सरकारले आन्तरिक वायुसेवा कम्पनीलाई राहत दिने उद्देश्य भएतापनि आयल निगमले हवाइ इन्धनमा अझै पनि इन्डियन आयल निगमले प्रदान गरेको तुलनामा प्रति लिटर ३३ रुपैयाँ मुनाफा लिई ६५ रुपैयाँ मूल्य तोकिराख्नु अस्वभाविक र अवाञ्छनियमात्र होइन हामीलाई अमान्य पनि हो,’ ५ दिनमा यसै विषयलाई उठाउँदै दोस्रोपटक विज्ञप्ती जारी गरेको संघले जनाएको छ ।

कोरोना महामारीका कारण नेपालका आन्तरिक र अन्तर्राष्टिय उडान भर्ने जहाज तथा हेलिकप्टरसहित २० वटै वायुसेवा कम्पनीले दैनिक ६ करोड रुपैयाँ बराबरको आम्दानी गुमाइरहेको संघले जनाएको छ । गत वर्ष १७ अर्ब रुपैयाँ बराबरको हवाई कारोबार गरेका नेपाली वायुयान कम्पनीहरुले कुल सञ्‍चालन खर्चको कम्तीमा ३५ देखि ४० प्रतिशत रकम हवाई इन्धनमा जाने गरेको बताउँदै आएका छन् ।

करिब १ खर्ब लगानी भएको यो उद्योगका लागि सरकारले बजेट व्यक्तव्यमार्फत् थुप्रै कर, दस्तुर लगायत विषयमा छुट दिन गरेको घोषणा स्वागतयोग्य भएको उल्लेख गर्दै संघले सरकारलाई अब आउने मौद्रिक नीतिमा पनि अक्षरांश लागू गर्न माग गरेको छ ।

सरकारले पर्यटन व्यवसायमा संलग्‍न कर्मचारीहरुको पारिश्रमिक भुक्तानी तथा व्यवसाय संचालनमा ५ प्रतिशतमा कर्जा उपब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गर्ने भनेको छ । यो विषय कार्यान्वयनमा ल्याउन समस्या देखिने भएकाले मौद्रिक नीतिमा पनि समेट्न संघले सरकारलाई अपिल गरेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?