कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कार्यालय नखुल्दा किसानले पाएनन् मल

खनजोत गर्ने बेलामा मल नपाएपछि चिन्तामा छन् कृषक
प्रशान्त माली

काठमाडौँ — ललितपुर बाँडेगाउँका हेराकाजी महर्जनको ६ रोपनी जग्गामा धान खेती हुन्छ । त्यसका लागि ब्याड तयार भइसकेको छ । कुलोमा पानी पनि ल्याइसकिएको छ । तर युरिया मल नहुँदा उनको रोपाइँ रोकिएको छ ।

कार्यालय नखुल्दा किसानले पाएनन् मल

महर्जनलाई रोपाइँका बेला मात्रै डेढ सय किलो मल आवश्यक छ । भन्छन्, ‘बल्लतल्ल ५० किलोको एक बोरा पाएँ । यस्तै दुई बोराको पर्खाइमा छु ।’ उनका अनुसार धान रोपेपछि त्यसमा ४/५ वटा हाँगा पलाउँछन् । ‘मल हाल्न सकिएन भने मूल एउटामा मात्र धान लाग्छ । बाँकी बोटमा फुस्रो हुन्छ,’ उनले भने, ‘ताइचिन त झन् फल्दै फल्दैन ।’

बाँडेगाउँकै जितबहादुर महर्जनले पनि २ रोपनी ४ आनामा लगाएको मकै गोडमेल गर्ने बेला भइसकेको छ । उनले पनि मल नपाएका कारण गोडमेल गर्न पाएका छैनन् । भन्छन्, ‘मल अलिकति नपुगे पनि हरियो हुनुपर्ने बोट पहेंलिन्छ । यस पटक बीउसमेत जोगाउन मुस्किल पर्ने भयो ।’

गोदावरी नगरपालिका–१३ झरुवारासीका प्रभाकर थापाको पनि उस्तै समस्या छ । उनले ३ रोपानीमा लहरेबाली, ५ रोपनीमा गोलभेंडा, ४ रोपनीमा काउली र बन्दा लगाएका छन् । उनलाई प्रत्येक वर्ष २० बोरा डीएपी र ७ बोरा युरिया मल आवश्यक छ । उनले पनि समयमा मल पाएका छैनन् । अहिले स्टकमा भएको एक बोरा युरिया मलबाट काम चलाइरहेको उनले बताए । ‘समयमा मल पाइएन भने १० देखि १५ लाख रुपैयाँ लगानी डुब्छ,’ उनले भने, ‘सरकार भएको महसुस भएन ।’ सरकारले समयमै विचार नपुर्‍याए पछि डरलाग्दो समस्या आउन सक्ने उनको भनाइ छ ।

यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । मल नपाउने ललितपुरका थुप्रै किसान समस्यामा छन् । मल सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीमार्फत वितरण हुन्छ । मल प्राप्त नहुनको कारण अभाव भएर भने होइन । कृषि सामग्री कम्पनीका कर्मचारी कार्यालय नआउँदा वितरणमा समस्या भएको किसान बताउँछन् ।

‘कृषि सामग्री केन्द्रमा १० हजार मल स्टकमा छ । तर कोरोनाको कारण देखाउँदै कर्मचारी कार्यालय बन्द गरेर घर बसेपछि किसानले समयमा मल नपाएका हुन्,’ फूल्चोकी सहकारी संस्थाका अध्यक्ष राजेन्द्र महर्जनले भने । सहकारीले वैशाख १४ मा कृषि ज्ञान केन्द्र ललितपुरमार्फत कृषि सामग्री कम्पनी कुलेश्वरमा युरिया, डीएपी र पोटास गरेर एक हजार ३ सय ५० बोरा मल मागेको उनको भनाइ छ । तर कर्मचारी कार्यालय नआउँदा माग गरेको एक महिनाभन्दा बढी बितिसक्दा पनि २ सय ८० बोराबाहेक नपाइएको उनले बताए ।

कर्मचारीलाई ओहोरदाहोर गर्न पास आदिको समस्याले कार्यालय बन्द गर्नुपरेको कृषि सामग्री केन्द्र काठमाडौं शाखा प्रमुख नरेश सापकोटाको भनाइ छ । ‘कर्मचारीलाई कार्यालयसम्म पुग्ने पास खारेज भयो । कोही बिरामी परे । कर्मचारी पनि अभाव छ,’ उनले भने, ‘राष्ट्रिय उत्पादनमा असर पर्ने देखेर स्वस्फूर्त रूपमा काम गरेका हौं । सरकारले अनिवार्य काम गर्न पनि भनेको छैन ।’

उपत्यकमा बिहीबार मनाइएको नेवारहरूको चाड सिठी नख:सँगै रोपाइँ सुरु हुन्छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?