कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई महिनायता बन्द उदयपुर सिमेन्टको उत्पादन सुरु

डिल्लीराम खतिवडा

उदयपुर — सरकारी स्वामित्वमा सञ्चालित मुलुककै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले गैंडा छाप सिमेन्टको उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दुई महिनायता गरिएको लकडाउनका करण बन्द उद्योग शुक्रबारबाट सुचारु भएको हो ।

दुई महिनायता बन्द उदयपुर सिमेन्टको उत्पादन सुरु

लकडाउनपछि अवरुद्ध क्लिंकर उत्पादन सुचारु गरिएको महाप्रबन्धक नवलकिशोर साहले बताए । ‘कोरोना भाइरसका कारण मुलुक लकडाउन भएका कारण करिब ६८ दिन उत्पादन बन्द गर्नु परेको थियो’ महाप्रबन्धक साहले भने, ‘उद्योग बन्द गर्नु पर्दा २५ करोड भन्दा बढी घाटा भएको छ ।’ लकडाउनकै अवस्था भएपनि थप घाटा हुन नदिन उद्योगलाई नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।

क्लिंकर उत्पादन बन्द भएपनि उद्योगले पुरानो स्टकबाट गत वैशाख २२ गतेदेखि नै सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । उद्योगको गोदाममा रहेको स्टकबाट शुक्रबारसम्म करिब ७५ हजार बोरा सिमेन्ट बिक्री गरिएको महाप्रबन्धक साहले बताए ।

‘उद्योगले यसअघि पनि माग अनुसार नै सिमेन्ट आपूर्ति गरिरहेको थियो,’ महाप्रबन्धक साहले भने, ‘अब क्लिंकर उत्पादन थालेकाले भोलिदेखिको आपूर्ति व्यवस्था झन सहज हुनेछ ।’ सिमेन्टको माग बढी हुने यो समयमा कोरोनाका कारण उद्योग बन्द हुँदाको घाटासमेत पूर्ति गर्ने लक्ष्यका साथ उत्पादन कार्य अगाडि बढाइएको उनले बताए ।

नेपालमा सरकारी स्वामित्वमा दुईवटा सिमेन्ट उद्योग छन् । उदयपुर सिमेन्ट र हेटांैडा सिमेन्ट उद्योगले सरकारी साख धान्दै निजी क्षेत्रका करिब ६० ओटा सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्दै आएका छन् ।

उद्योगले गत आर्थीक वर्ष करिब १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गरेको थियो । अहिले बजारमा सिमेन्टको माग अत्याधिक हुने समय हो । सिमेन्ट सहज उत्पादन हुँदा दैनिक १० हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्री हुने गरेको उद्योग प्रशासनले जनाएको छ । उद्योगले दैनिक ७ सय ५० देखि ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

२०४४ सालमा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा ८ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरेको थियो । त्यसपछिका वर्षहरुमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६ सय देखि ६ सय ५० मेट्रिक टन सिमेन्ट मात्र उत्पादन गर्दै आएकोमा गत वर्ष पुराना पार्टपूर्जाको मर्मत गरिएपछि उत्पादन बढेर ७ सय ५० देखि ८ सय मेट्रिक टन पुगेको हो ।

जापान सरकारले नेपाल सरकारलाई २०५१ सालमा हस्तान्तरण गरे लगत्तै महाप्रबन्धक र अध्यक्ष पद राजनीतिक नियुक्तीका आधारमा हुन थालेपछि उत्पादन ह्वात्तै घटेर २ सयदेखि २ सय ५० मेट्रिक टनमा सिमित हुँदै आएको थियो । गत वर्ष उद्योगको मुख्य भाग मानिने क्लिंकर(कच्चापदार्थ पकाएर सिमेन्ट बनाउने अग्नियन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुन: जडान गरिएको उद्योगले जनाएको छ । धेरै सामानहरु खिइयर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि २५ दिन लगाएर मर्मत गरिएको महाप्रबन्धक साहले बताए ।

निजी क्षेत्रका करिब १८ ओटा सिमेन्ट उद्योग आफै क्लिंकर उत्पादन गर्छन् भने करिब ४५ वटाले बाहिरबाट क्लिंकर आयात गरी सिमेन्ट तयार गर्ने गरेका छन् । नेपालमा वार्षिक ६० प्रतिशतले सिमेन्टको माग बढिरहेको उद्योग प्रशासनले जनाएको छ ।

२०४४ साल जेठ महिनामा स्थापना भएको उद्योगले ०४९ माघबाट उत्पादन सुरु गरेको हो । जापानको वाइसिएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेसन फन्ट) को जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लागानीमा गैंडा छाप लोगो भएको उदयपुर सिमेन्ट उद्योग स्थापना भएको हो ।

प्रकाशित : जेष्ठ १७, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?