एडीबीको २५ करोड डलर सहायता स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ प्रतिकार्यका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि २५ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । कोभिड–१९ प्रतिकार्यमा सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढीकरण र गरिब जनतामा पर्ने महामारीको प्रभाव न्यूनीकरण गर्न यो रकम खर्च हुनेछ ।


‘महत्त्वपूर्ण समयमा नेपाललाई सहयोग गर्न एडीबी एकदमै प्रतिबद्ध छ । यो सहुलियतपूर्ण ऋणले सरकारलाई न्यूनीकरणका उपाय अवलम्बन गर्न, सामाजिक सुरक्षा कार्यक्रमलाई बढाउन र आर्थिक पुनरुत्थानका काममा सघाउनेछ,’ एडीबीका अध्यक्ष मासात्सुगु आशाकावालाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ ले नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रभाव पार्नेछ ।’

एडीबीको कोभिड–१९ महामारी प्रतिकार्य विकल्प ९सीपीआरओ० अन्तर्गतको एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रमअन्तर्गत यो रकम उपलब्ध गराउन लागिएको हो । एडीबीले अप्रिल १३ मा विकासशील मुलुकलाई कोभिड–१९ को प्रतिकार्यमा सघाउन २० अर्बको सहायता कोष स्थापना गरेको थियो ।

एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रमले सरकारलाई दैनिक कम्तीमा पनि ३ हजार कोभिड–१९ परीक्षण गर्न र सातै प्रदेशमा कम्तीमा पनि २ लाख मानिसलाई राख्न मिल्ने क्वारेन्टाइन सुविधा स्थापनाका लागि सघाउने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

भरतपुरमा गरिएको परीक्षणमा थप एकलाई कोरोना पुष्टि

नवलपुरको देवचुली नगरपालिका–१ का ती व्यक्ति जेठ १० गते भारतको हरिद्वारबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
रमेशकुमार पौडेल

चितवन — भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा जेठ १३ मा परीक्षण भएका १ सय ५ वटा नमुनामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान सूचना जारी गरी यसबारे पुष्टि गरेको हो ।

ती व्यक्ति नवलपुरको देवचुली नगरपालिका–१ का बासिन्दा रहेको अस्पतालले जनाएको छ । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचनामा उल्लेख छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार १९ वर्षीय ती व्यक्ति जेठ १० गते भारतको हरिद्वारबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

योसहित चितवनमा कोरोना संक्रमण पुष्टि भएका आठ जना पुगेका छन् । जस मध्ये चितवनका पाँच जना छन् । चितवनकै दुई जना निको भएर घर फर्किसकेका छन् । उपचारमा रहेका ६ मध्ये तीन जना चितवन र बाँकी नवलपुरका हुन् ।

मकवानपुरको प्रयोगशालामा संक्रमण पुष्टि भएकी हेटौंडाकी एक महिलालाई पनि भरतपुरस्थित सरकारी अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुरमै बस्दै आएकी उनी हेटौंडा घर गएका बेला त्यहीँ परीक्षण भएको थियो । चितवनमा जेठ १३ सम्म १ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण भएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×