कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नगरमा बस्नेहरू बढे

गाउँपालिका गाभेर नगरपालिका बनाएपछि सहरमा बस्ने धेरै देखिए
विमल खतिवडा

काठमाडौँ — अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार कुल जनसंख्यामा सबैभन्दा बढी नगरपालिकामा बसोबास गर्ने रहेका छन् । २ करोड ६४ लाख ९४ हजार जनसंख्यामध्ये ६२ दशमलव २ प्रतिशत नगरपालिकामा बस्छन् । अरू गाउँपालिकामा बस्छन् । तीव्र सहरीकरण र गाउँपालिका जोडेर नयाँ नगरपालिका घोषणा भएकाले सहरी क्षेत्रमा बस्नेको संख्या बढेको हो ।

७ सय ५३ वटा स्थानीय तहमध्ये ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन् । तथ्यांकअनुसार महानगरमा २३ लाख ९९ हजार ५ सय ७४, उपमहानगरमा १५ लाख ५६ हजार ५ सय १० र नगरपालिकामा १ करोड २३ लाख ९१ हजार १५ को बसोबास छ । त्यस्तै ४ सय ६० गाउँपालिकामा ९९ लाख ८२ हजार ८ सय २० जनासंख्या छ ।

‘पहिलाका गाविस मिलाएर नगरपालिका बनाइएको छ,’ सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले भने, ‘नगरवासी भए पनि उनीहरूको दैनिक जीवनयापन, त्यहाँको विकास निर्माण, सुविधा सबै गाउँकै छ ।’

चालु आवको फागुनसम्म नयाँ सहर कार्यक्रमअन्तर्गत खुर्कोट, चौरजहारी, डुम्रेभन्सार, पाटन, फिदिम, वसन्तपुर, बुर्तिबाङ, बैरेनीगल्छी, राकमकर्णाली र साँफेबगरमा ३० किमि सडक निर्माण भएको छ । त्यस्तै ट्रान्स हिमालय ट्रेलमा पर्ने लुक्ला, स्याफ्रुबेंसी, जोमसोम, सिमकोट र मार्तडीलाई नयाँ सहरका रूपमा सम्भाव्यता अध्ययन गर्ने काम भइरहेको छ ।

सहरी विकास कार्यक्रमअन्तर्गत तराई मधेसका २१ नगरपालिकामा ६० किमि सडक कालोपत्र र १ सय ४० किमि नाला निर्माण सकिएको छ । आव ०७५/०७६ मा यो कार्यक्रमअन्तर्गत तराई मधेसका विभिन्न नगरपालिकामा १ सय ११ किमि सडक, २१२ किमि नाला निर्माण भएको थियो । त्यस्तै ३ वटा इनरुवा, सिद्धार्थनगर र धनगढीमा बसपार्क बनेको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत विपन्न, लोपन्मुख तथा सीमान्तकृतका लागि ३९ हजार आवास एकाइ निर्माण गर्न प्रदेश सरकारलाई ससर्त अनुदान उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोट भएका ९ हजार ४ सय ४२ लाभग्राहीमध्ये ०७६ फागुनसम्म ६ हजार ९ सय १० जना लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । जसमा ८ सय ५ आवास इकाई निर्माण सकिएको छ ।

काठमाडौं उपत्यकाभित्र ३० किमि सडक विस्तार भएको छ । वाग्मती, मनोहरा, इच्छुमती, रुद्रमती, विष्णुमती, हनुमन्ते, नक्खुखोलालगायतका नदी ढल र प्रदुषणमुक्त बनाउने उद्देश्यअनुरूप काम गरिएको छ।

आव ०७६/७७ को फागुनसम्म २ दशमलव ५ किमि ढल, २ दशमलव ५ किमि सडक र ३ किमि तटबन्ध निर्माण भएको छ । आगामी २० वर्षलाई धान्न सक्ने गरी वीरगन्ज र नेपालगन्ज उपमहानगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?