भारतमा रोकियो रासायनिक मल

लकडाउन र मजदुर अभावका कारण कोलकाताबाट २५ हजार र गुजरातमा २१ हजार ५ सय टन मल आउन सकेन
बर्खे बालीलाई मल अभाव हुने संकेत
सुरेशराज न्यौपाने, राजु चौधरी

नयाँदिल्ली/काठमाडौँ — मुख्य बाली सिजनलाई मगाएको रासायनिक मल भारतको गुजरात र कोलकातामा रोकिएको छ । लकडाउनका कारण मजदुर अभाव भएपछि करिब दुई महिनादेखि मल रोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘साउनसम्म युरिया करिब १ लाख र डीएपी मल ४० हजार टन चाहिन्छ । हामीसँग युरिया २३ हजार र डीएपी २९ हजार टनमात्रै मौज्दात छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘आयात गर्न प्रक्रिया पूरा भइसकेको मल भारतमै रोकियो ।’

ती अधिकारीका अनुसार आयातका प्रक्रिया पूरा भइसकेको डीएपी ५० हजार र युरिया मल ७१ हजार ५ सय टन छ । २५ हजार टन डीएपी कोलकातामै रोकिएको छ । २१ हजार ५ सय टन युरिया मल गुजरातमा छ । ‘बर्खे बालीका लागि डीएपीमा त्यति समस्या छैन तर रोकिएको युरिया आाएन भने अभाव हुन्छ,’ ती अधिकारीले भने, ‘थप ५० हजार टन मल एलसी खोल्ने क्रममा थियो । तर अहिले प्रभावित भयो ।’

नेपालमा मल आपूर्ति कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गर्दै आएका छन् । यी दुई निकायले ग्लोबल टेन्डरमार्फत मल किनेर आफ्ना आधिकारिक डिलर र सहकारीबाट मल बिक्री गर्दै आएका छन् ।

नेपालको प्रमुख बाली धानका लागि डीएपी र युरिया अनिवार्य मानिन्छ । डीएपीलाई रोपाइँ गर्नुअघि माटोमा हाल्ने गरिन्छ भने युरिया बाली लागेपछि छर्ने गरिन्छ । तर यस वर्ष पुन: अभाव हुने संकेत देखिएको हो । ‘कोलकातामा मल आएको करिब ५६ दिन भयो । तर ब्यागिङ गरेर पठाउन सकिएन,’ कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले,

‘महामारीले सबै क्षेत्र प्रभावित भयो । सबै निकाय सहनशील हुन जरुरी छ ।’

भण्डारीको भनाइले पनि मल अभाव हुने संकेत गर्छ । मल खरिद गर्न बर्सेनि अर्बौं रुपैयाँ विनियोजन हुने गरे पनि करिब आधामात्रै खरिद हुने गरेको छ । यस वर्ष पनि उस्तै समस्या देखिएको हो । मन्त्रालयले थप बजेट व्यवस्था गर्दै बर्खे बालीका लागि ७५ हजार टन युरिया र ५० हजार डीएपी खरिद प्रक्रिया बढाएको थियो । बर्खा सुरु हुनुअघि नै आपूर्ति हुने गरी साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई मल आयात गर्न निर्देशन दिएको थियो । त्यसपछि दुई कम्पनीले आपूर्ति प्रक्रिया अघि बढाएका थिए ।

साल्टले लकडाउनअघि नै दुबईस्थित मल्टी कमोडिटिज नामक कम्पनीमार्फत ओमनमा उत्पादित २१ हजार ५ सय टन युरिया खरिद प्रक्रिया अगाडि बढायो । अरू बेला कोलकातासम्म ल्याउने गरिए पनि यस पटक भने कम्पनीले गुजरातको कान्डला (माहारावो खेन्गर्जी) बन्दरगाहसम्म पुर्‍याइदियो । तर भारतले नेपाललाई तेस्रो मुलुक व्यापारका लागि कान्डला बन्दरगाह खुला नगरेका कारण त्यहाँ आइपुगेको मल रोकिएको हो ।

सुरुमा बल्क कार्गोका रूपमा कान्डला पुगेको मललाई त्यही ब्यागिङ गरेर कोलकाता पुर्‍याएर नेपाल लैजाने योजना बनाइएको थियो । तर कान्डला बन्दरगाहबाट नेपाललाई तेस्रो मुलुक व्यापार छुट नभएकाले त्यहाँको पोर्ट अथोरिटीले मललाई यार्डमा अनलोड गर्न दिएन । कोलकाता बन्दरगाह पुरानो भएकाले वर्षाका कारण भण्डारणमा समस्या हुन्थ्यो । सोही कारण कान्डलामा लगेर ब्यागिङ गरेपछि कोलकाता ल्याउने योजना बनाइएको साल्ट ट्रेडिङका नायब महाप्रबन्धक पंकज जोशीले जानकारी दिए ।

तर पोर्टले अनुमति नदिँदा भनेअनुसार काम अगाडि बढेको छैन । यसबीच पोर्ट अथोरिटीले आपूर्तिकर्तासँग विभिन्न कागजात मागेको थियो । त्यसैअनुसार साल्टले समन्वय पनि गरेको जोशीले बताए । तर यसमै दुई महिना बितिसकेको छ । समयमा ब्यागिङ नहुँदा नेपालमा बर्खा सुरु हुनुअघि नै मल आपूर्ति गर्न ढिलो हुने देखेर प्रक्रियालाई चाँडै टुंग्याउन कर्पोरेसनले कृषि मन्त्रालयलाई विशेष पहल गर्न आग्रह गरेको थियो । त्यसपछि मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारतीय विदेश मन्त्रालयसँग पत्राचार पनि भइसकेको जनाइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले पनि पत्राचार गरिएको पुष्टि गरे । ‘भारतको विदेश मन्त्रालयसँग यस सम्बन्धमा पत्राचार भइसकेको छ,’ उनले भने । भारतमा ३१ मेसम्म लकडाउन भएका कारण त्यति बेलासम्म कान्डलामै ब्यागिङ गर्ने र सम्भव भए त्यहींबाटै सीधै वीरगन्ज पठाउने प्रयास साल्ट ट्रेडिङले गरिरहेको जोशीले बताए । ‘त्यो सम्भव नभए ब्यागिङ गरेर कोलकाता पठाइने र त्यो पनि सम्भव नभए फेरि जहाजलाई नै कोलकाता पठाइनेछ,’ उनले भने, ‘लकडाउन सकिँदासम्म पनि अनुमति नपाएको खण्डमा मललाई फेरि कोलकाता पुर्‍याउनुको विकल्प छैन ।’ पोर्ट अथोरिटीले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ । कोलकातामा मजदुर अभाव र अघिल्लो साता गएको अम्फुन चक्रवातका कारण बन्दरगाहमा समेत क्षतिपुगेकाले आपूर्तिमा थप कठिनाइ भएको छ ।

कोलकातामा करिब दुई महिनाअघिदेखि २५ हजार मे.टन डीएपी रोकिएको छ । ५० हजार टन ग्लोबल टेन्डर गरिएकामा पहिलो लटअन्तर्गत चीनबाट ३ अप्रिलमा एउटा जहाजमा २५ हजार मे.टन कोलकाता आइपुगेको जोशीले बताए । मल बोकेको जहाजलाई १४ दिनका लागि बन्दरगाहभन्दा केही पर समुद्रभित्रै क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन पूरा हुँदासम्म कोरोना भाइरसको महामारीका कारण बन्दरगाहमा काम गर्ने मजदुरको अभाव भएको थियो । मल यार्डमा झारियो । तर त्यसपछि कोरोना संक्रमणबाट फेरि रोकियो ।

बन्दरगाहमा काम गर्ने मजदुरमध्ये केहीमा संक्रमण देखिएपछि पोर्ट अथोरिटीले पूरै आउजाउमै कडाइ गर्‍यो । त्यसमाथि भाइरसको त्रासका कारण कोलकाता आइपुगेको मलको गुणस्तर र परिमाण जाँच्ने सर्भेयर पनि त्यहाँ जान डराए । नेपालको कार्गोमा काम गर्ने मजदुरमै कोरोना देखिएपछि झनै समस्या बढेको थियो ।

मलको काम गर्न पश्चिम बंगाल सरकारसँग १ सय ५५ जना मजदुरका लागि अनुमति लिइएको थियो । कोरोना भाइरसको जोखिम देखाउँदै अथोरिटीले त्यो मानेन । त्यसपछि नेपाली पक्षले मजदुर नहुँदा मलको ढुवानीमा समस्या भएको बताएपछि अथोरिटीले १० दिनअघि ३५ जनासम्म काममा लगाउन अनुमति दिएको थियो । तर चक्रवातले सबै काम रोकियो । ‘पहिले भनेकै जस्तो ३५ जनालाई काम लगाउन दिन्छ भन्ने विश्वास छ,’ जोशीले भने, ‘तर नभइन्जेल के हुन्छ भन्न सकिन्न ।’

सामान्य अवस्थामा ५० देखि ६० मजदुरले काम गर्दा दैनिक ७ सय टन बराबरको ब्यागिङ हुने गरेको छ । तर ३५ जना मात्र काम गर्न दिइएको खण्डमा दैनिक बढीमा ५ सय टन ब्यागिङ हुने जोशीले जानकारी दिए । यस हिसाबले २५ हजार टनलाई ब्यागिङ गर्न कम्तीमा पनि ५० दिन लाग्छ । यसरी हेर्दा कोलकातामा रोखिएको डीएपी मलको ब्यागिङ केही दिनमा सुरु भए पनि पहिलो लटअन्तर्गतको सबै मल वीरगन्ज पुग्न कम्तीमा पनि दुई महिना लाग्नेछ ।

दोस्रो लटअन्तर्गतको बाँकी २५ हजार अझै कोलकाता आउन बाँकी छ । नेपालले किनेको मल लिएर जहाज अझै पनि चीनबाट हिँडेको छैन । चीनबाट हिँडेको १४ दिनमा मात्र जहाज कोलकाता पुग्छ । यसले पनि यो वर्ष मल अभाव हुने देखिन्छ ।

कोरोना महामारीका कारण पूरै उत्पादन प्रणाली अवरुद्ध हुन पुगेका बेला मलको आपूर्ति समयमा नहुँदा मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने धान उत्पादनमा कमी आउने जोखिम बढेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रकाशित : जेष्ठ १५, २०७७ ०७:०९

प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको छ ।

त्यस्तै बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख निको भएका छन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा जनवरी २१ मा पहिलो पटक देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामै मृत्यु भएको छ । बीबीसीका उत्तर अमेरिकी संवाददाता जोन सोपेलका अनुसार कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा गरी भएको ४४ वर्षको युद्धमा भन्दा बढी अमेरिकी नागरिकको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३७ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या करिब २ लाख ६८ हजार रहेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ४ लाख ११ हजारमा संक्रमण देखिएको छ भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यसैगरी रुसमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहेको छ । रुसमा बिहीबार बिहानसम्म ३ लाख ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको संक्रमण धेरै भएका देशमध्येमा पर्छ । बिहीबार बिहानसम्म भारतमा एक लाख ५८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा ६७ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख भएको बताइन्छ । चीनमा अहिलेसम्म ८४ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार ३ सय ६६ जना निको भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अहिले चीनमा संक्रिय केसहरु करिब सयको हाराहारीमा मात्रै रहेको छ । पछिल्ला केही दिन यता चीनमा संक्रमण देखिएको छैन ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ३ लाख ५५ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै ५६ लाख ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २३ लाख ५० हजार निको भएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×