लकडाउनका बीच मध्यतमोरको काम धमाधम, ५६ प्रतिशत सकियो

करिब २ सय चिनियाँ नागरिकले निर्माणको काम गरिरहेका छन् । निर्माण कार्यमा स्थानीय जनशक्ति पनि प्रयोग गरिएको छ ।
आनन्द गौतम

ताप्लेजुङ — लकडाउनका बीच पनि ताप्लेजुङमा सञ्चालन भइरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्बाध ढंगले चलिरहेको छ । सुरुङ निर्माण र बाहिरको कुनै पनि काम नरोकिएको आयोजना प्रमुख मणिकुमार पोख्रेलले बताए । उनका अनुसार चिनियाँ कम्पनीले नियमित काम गरिरहेको छ । अहिलेसम्म सुरुङ निर्माणको काम ५६ प्रतिशत पूरा भएको उनले बताए । बाहिरको काम पनि त्यही गतिमा भइरहेको छ । 

लकडाउनका बीच मध्यतमोरको काम धमाधम, ५६ प्रतिशत सकियो

चीनको वुहानमा कोरोना संक्रमण देखिँदा केही चिनियाँ कामदार आफ्नो देशमा नयाँवर्ष मनाउन गइसकेका थिए । केही जाने तयारीमा थिए । वुहानमा लकडाउन भएपछि त्यहाँभन्दा निकै टाढाको गाउँमा गएकाहरुलाई ठेकदारले फर्काए । नेपालमा लकडाउन हुनुअघि बाँकी रहेकालाई पनि बोलाए र आयोजनामै रहेका बाहिर गएनन् । काठमाडौं भएर आएकालाई आयोजनास्थलमा ल्याएर १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो ।

आयोजनाका अनुसार एक महिनासम्म चीनमा नगएका र पछि आएकाहरुलाई फरक हेलमेट लगाएर काम लगाइएको थियो । पोख्रेलका अनुसार अहिले २ सयको हाराहारीमा चिनियाँ नागरिकले निर्माणको काम गरिरहेका छन् । स्थानीय जनशक्ति पनि प्रयोग गरिएको छ । ‘हाम्रोमा हरेक व्यक्तिको हरेक दिन बिहान र बेलुका तापक्रम नापिन्छ, बाहिरबाट आउनेलाई आइसोलेटेड गर्छौं,’ पोख्रेलले भने, ‘यसका लागि वडाध्यक्ष र प्रहरीको पनि सहयोग लिएका छौं ।’ बाहिरबाट आउनेलाई बन्देज गरिएपनि पूर्ण रुपमा हुन नसक्दा सहयोग लिइएको उनले बताए । खाद्यान्न, निर्माण सामग्री लिएर आउने ट्रकका चालक, सहयोगीलाई बाहिरै खानाखाने प्रबन्ध मिलाइएको र सामान ल्याउनमा कुनै समस्या नरहेको उनले सुनाए ।

२०७८ मा सकिने आयोजनाको लागत १२ अर्ब रहेको छ । ७५ प्रतिशत बैंकको र २५ प्रतिशत स्वपुँजी रहने आयोजनाले जनाएको छ । योजनामा ३ हजार ३ सय ६७ मिटर लामो सुरुङमार्ग बनाइनेछ । मित्लुङको माथिल्लो क्षेत्रमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध बनाएर साइड इन्टेकमार्फत पानी फाल्ने क्षेत्रमा पठाउने, त्यहाँबाट एक सय मिटर लम्बाइ र १३ मिटर चौडाइका ३ वटा भूमिगत च्याम्बर बनाई बालुवा थिग्र्याउने ठाउँमा पुर्‍याइनेछ । बालुवा तथा लेदो भने तमोर नदीमै फालिन्छ । मिक्लाखोला गाउँपालिकाको खोक्लिङ रहने उत्पादनगृहमा प्रस्तावित विद्युतगृहमा जडित १८.२५ मेगावाट क्षमताका ४ वटा टर्बाइनमा खसाली जेनेरेटिङ युनिटमार्फत उत्पादन गरिनेछ । यहाँबाट निस्किएको पानीलाइ ७५ मिटर लामो निकास नहरमार्फत तमोर नदीमै खसालिनेछ ।

सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले उत्पादन गर्ने आयोजना ५४ बाट १९ मेगावाट बढाएर ७३ मेगावाट बनाइएको हो । २०७३ असारमा फक्तालुङ गाउँपालिका २ सावादिनको नाक्लाभीर झरेर बनेको तालले उचाइ बढाएसँगै उत्पादन क्षमता पनि बढेको हो । ताल फुटेपछि आयोजनाले गरेको अध्ययनले नदीको सतह पहिले भन्दा १२ मिटर माथि उठेको पुष्टि भएको थियो । लिमिटेडका वातावरणविद् अर्विन्द्र श्रेष्ठका अनुसार हेडबक्स साबिकको स्थानभन्दा १२ सय मिटर माथिको तटीय क्षेत्र र विद्युतगृह एक हजार मिटर तलको थुम्वाबेँसीमा सारिएको छ । यसअघि लोरिनदिनमा हेडबक्स र थुम्वाभन्दा माथिल्लो क्षेत्रमा उत्पादनगृह राख्ने तयारी भएको थियो । अब यसको बहाव ७३.७१ घनमिटर प्रतिसेकेन्ड हुने भएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ २३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?