कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कर्णालीमा सबैभन्दा कम कालोपत्र

आर्थिक सर्वेक्षण ०७६/७७

काठमाडौँ — अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार स्थानीय स्तरमा निर्मित सडकमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा निर्माण भएको छ । बढी सडक भने वाग्मती प्रदेशमा बनेको छ । सर्वेक्षणअनुसार फागुनसम्म स्थानीस्तरबाट ६१ हजार ३ सय ९५ किमि सडक निर्माण भएको छ ।

कर्णालीमा सबैभन्दा कम कालोपत्र

कर्णालीमा कुल सडकको ४ दशमलव ४४ प्रतिशत मात्र सडक निर्माण भएको छ । यहाँ ७९ किमि मात्र सडक कालोपत्र भएको छ, जसमा धुले तथा कच्ची सडक २ हजार ४ सय ५३ किमि र ग्राभेल सडक १ सय ९३ किमि बनेको छ । त्यसपछि कम सडक निर्माण हुनेमा सुदूरपश्चिम प्रदेश पर्छ । यहाँ फागुनसम्म १ सय ९७ किमि सडक कालोपत्र भएको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा १ हजार २ सय ५ किमि सडक कालोपत्र गरिएको छ ।

०७६/७७ फागुनसम्म प्रदेश र स्थानीयस्तरमा बनेको सडकमध्ये कालोपत्र ६ दशमलव ४, ग्राभेल २२ दशमलव १ र कच्ची सडक ७१ दशमलव ५ प्रतिशत छ । ०७५/७६ को सोही अवधिमा कालोपत्र ६ दशमलव ५, ग्राभेल २१ दशमलव ९ र कच्ची सडक ७१ दशमलव प्रतिशत थियो । स्थानीयस्तरमा सबैभन्दा बढी धूले तथा कच्ची सडक निर्माण गरिएको पाइएको छ । तथ्यांकअनुसार ७ प्रदेशमा ४३ हजार ९ सय ७ किमि धूले तथा कच्ची सडक निर्माण भएको छ ।

साढे ५ सय किमि थप कालोपत्र

०७६/७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जालसहित १५ हजार २ सय ५४ किमि कालोपत्र भएको सर्वेक्षणमा उल्लेख छ । त्यस्तै खण्डास्मित ९ हजार २ सय ५१ किमि र कच्ची सडक ९ हजार ८ सय ४२ किमि निर्माण भएको छ । आव ०७५/७६ को अन्त्यसम्म १४ हजार ६ सय ९५ किमि कालोपत्र, ८ हजार ९ सय ५४ किमि खण्डास्मित र ९ हजार ५ सय ९० किमि कच्ची सडक निर्माण भएको थियो । चालु आवमा भने ५ सय ५९ किमि कालोपत्र, ६ सय ५७ किमि खण्डास्मित र २ सय ५२ किमि बढी कच्ची सडक निर्माण भएको छ ।

स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत प्रादेशिक तथा स्थानीय सडकमा सबैभन्दा बढी पहाडमा ५४ दशमलव ७ प्रतिशत र सबैभन्दा कम हिमालमा १३ प्रतिशत सडक विस्तार भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आवको फागुनसम्म १ सय ३९ किमि कालोपत्र, ५८ किमि ग्राभेल र ३ सय ३३ किमि आवधिक मर्मत तथा सम्भार र ६ सय ६४ किमि सडकको नियमित मर्मतसम्भारको काम सकिएको छ ।

सर्वेक्षणअनुसार ०७६/७७ फागुनसम्म १ सय ४४ वटा झोलुंगे पुल बनेका छन् । १ सय २६ वटा तुइन विस्थापित भएका छन् । तिनका ठाउँमा झोलुंगे पुल बनेका हुन् । फागुनसम्म ३८ लाख २३ हजार १ सय ८ सवारीसाधन दर्ता भएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?