२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

घोषणा हजार मेगावाट, उत्पादन दुई सय

आर्थिक सर्वेक्षण ०७६/७७

काठमाडौँ — सरकारले बजेटमार्फत चालु आवमा कम्तीमा एक हजार मेगावाट उत्पादन गर्ने भने पनि १ सय ९२ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसद् र राष्ट्रिय सभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्युत् प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रबाट चालु आर्थिक वर्षमा यो परिमाणमा विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

घोषणा हजार मेगावाट, उत्पादन दुई सय

सर्वेक्षणमा कुल विद्युत् जडित क्षमता १ हजार २ सय ८६ मेगावाट पुगेको भनिएको छ । चालु आवको फागुनसम्म एक दर्जन आयोजनाबाट एक सय ९२ मेगावाट उत्पादन सुरु गरी राष्ट्रिय प्रणालीमा जाडिएको हो । यीमध्ये २५ मेगावाटको काबेली बी १, २२ मेगावाटको तल्लो हेवा खोला र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना तुलनात्मक रूपमा ठूला आयोजना हुन् ।

सबैभन्दा बढी विद्युत् उत्पादन हुने प्रदेश गण्डकी र सबैभन्दा कम विद्युत् हुने प्रदेश कर्णाली प्रदेश हुन् । यी प्रदेशमा क्रमश: ५ सय ४० मेगावाट र ११ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । फागुनसम्मको तथ्यांकका आधारमा कर्णाली प्रदेशका ३ नगरपालिका र ३८ गाउँपालिका, सुदूरपश्चिम प्रदेशका ६ नगरपालिका र २५ गाउँपालिकाबाहेक सबै स्थानीय तहमा विद्युत् पहुँच पुगेको तथ्यांक छ । यीबाहेक सबै स्थानीय तहमा विद्युत् पहुँच पुगे पनि सबै घरधुरीमा पुगेको छैन । प्रदेश १ का २४ वटा गाउँपालिका, वाग्मतीका ८ र गण्डकीका ६ गाउँपालिकामा पनि विद्युत् पुगेको छैन ।

विद्युत पहुँचका हिसाबले कर्णाली प्रदेश सबैभन्दा कमजोर छ । यहाँका २८ प्रतिशत घरधुरीमा मात्रै विद्युत् पहुँच पुगेको छ । वाग्मती प्रदेशमा भने ९५ प्रतिशत घरधुरीमा विद्युत् पहुँच छ । चालु आवमा भारतबाट आयात हुने विद्युत् परिमाण पनि आधाले घटेको छ । गत आवमा भारतबाट २ हजार ८ सय १३ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएकामा चालु आवमा १ हजार ४ सय ६८ गिगावाट घण्टा बराबरको विद्युत् आएको तथ्यांक छ । विद्युत् र मागमा भएको असन्तुलन शून्यमा घटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

गत आवमा कुल ऊर्जा खपत १४ मिलियन टन तेल शक्ति रहेकोमा फागुनसम्म ९ दशमलब ३१ मिलियन टन तेल शक्ति बराबर ऊर्जा खपत भएको आर्थिक सर्वेक्षणमा भनिएको छ । कुल ऊर्जा खपतमा परम्परागत ऊर्जा खपतको हिस्सा सबैभन्दा बढी छ । करिब ६९ प्रतिशत परम्परागत, २८ प्रतिशत व्यापारिक र ३ प्रतिशत नवीकरणीय ऊर्जा रहेको तथ्यांक छ ।

फागुनसम्म विद्युत् खपत भने ४ हजार ६ सय ८३ गिगावाट घण्टा रहेको सर्वेक्षणमा भनिएको छ । गत आवमा यो ४ हजार ६३ गिगावाट घण्टा बराबर मात्रै थियो । यो तथ्यांकले चालु आवमा विद्युत् खपत बढेको देखाउँछ । कुल खपत विद्युत्मध्ये ४३ प्रतिशत घरायसी र ३६ प्रतिशत औद्योगिक प्रयोजनका लागि रहेको तथ्यांक छ ।

१० प्रतिशतमा नवीकरणीय ऊर्जा

कुल जनसंख्याको १० प्रतिशतमा नवीकरणीय ऊर्जाको पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ । यस्तै ३६ प्रतिशत जनसंख्याले विभिन्न प्रयोजनमा स्वच्छ नवीकरणीय ऊर्जा प्रयोग गरेका छन् । फागुनसम्म वैकल्पिक ऊर्जाअन्तर्गतका लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादित ७ सय ६४ किलोवाट र सौर्य तथा वायु ऊर्जाबाट ५० किलोवाट नवीकरणीय ऊर्जा प्रयोग भएको सर्वेक्षणमा जनाइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?