कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विकेन्द्रित भएन वित्तीय सेवा

आर्थिक सर्वेक्षण ०७६/७७

काठमाडौँ — केन्द्रको अधिकार स्थानीय तहसम्म पुर्‍याउने उद्देश्यले मुलुक संघीयतामा गए पनि औसत ६० प्रतिशतभन्दा बढी वित्तीय सेवा अझै काठमाडौं उपत्यका (प्रदेश ३) मै केन्द्रित छ  ।

विकेन्द्रित भएन वित्तीय सेवा

मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ बाहेक बाँकी सबैमा वाणिज्य बैंकका शाखा पुगेका छन् । यो लक्ष्यको ९९.१ प्रतिशत हो । तर वित्तीय कारोबारका हिसाबले अझै पनि बहुसंख्यक कारोबार प्रदेश ३ मै केन्द्रित रहेको आव ०७६/०७७ को आर्थिक सर्वेक्षणले देखाएको छ । यो वर्ष बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपको करिब ७०.२३ प्रतिशत र ऋणको करिब साढे ५५ प्रतिशत अंश प्रदेश ३ मै रहेको सर्वेक्षणमा उल्लेख छ ।

गत आवको तुलनामा चालु आवमा प्रदेश ३ मा रहेको निक्षेपको हिस्सा करिब ०.५२ प्रतिशत बिन्दुले घटेको हो भने कर्जाको ०.११ बिन्दुले मात्र कम भएको हो । कुल निक्षेप र कर्जा प्रवाहमा बाँकी ६ वटा प्रदेशको कुल हिस्सा क्रमश: २९ र ४४.५ प्रतिशतमात्र छ । अघिल्लो वर्ष ६ वटा प्रदेशको यस्तो हिस्सा क्रमश: २८ र ४३ प्रतिशत थियो । कर्जा तथा निक्षेपका हिसाबले कर्णाली प्रदेश सबैभन्दा पछि छ ।

पछिल्ला वर्षमा मुद्रा आपूर्ति, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा, कुल निक्षेपको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातलगायत वित्तीय पहुँचका सूचकमा निरन्तर सुधार भइरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । ‘नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सुधारका कारण वित्तीय पहुँच अभिवृद्धि हुँदै जानुका साथै वित्तीय कारोबारमा समेत उलेख्य विस्तार भएको छ,’ सर्वेक्षणमा भनिएको छ ।

वित्तीय सेवाका हिसाबले प्रदेश ६ सबैभन्दा पछि छ  । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा यो क्षेत्रको अंश ०.९० प्रतिशतमात्र छ । कुल कर्जा उपयोगमा पनि यो क्षेत्र सबैभन्दा पछि छ । चालु आवको कुल कर्जा उपयोगमा यो क्षेत्रको हिस्सा १.१४ प्रतिशतमात्र छ । गत आवको तुलनामा यो प्रदेशका यी दुवै सूचकमा सामान्य सुधार भएको हो । न्यून वित्तीय पहुँचका हिसाबले प्रदेश ६ पछि प्रदेश ७ देखिन्छ । कुल निक्षेपमा यो प्रदेशको हिस्सा २.०८ र कर्जामा २.९० प्रतिशत छ ।

यसैगरी, वित्तीय सेवा उपयोगका हिसाबले प्रदेश ३ सबैभन्दा अघि छ । दोस्रोमा ५, तेस्रोमा १, चौथोमा गण्डकी, पाँचौंमा २, छैटौंमा सुदूरपश्चिम र सातौंमा कर्णाली प्रदेश रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

बिमा पहुँच २२ प्रतिशत पुग्यो

चालु आवमा कुल जनसंख्याको २२ प्रतिशतमा बिमा पहुँच पुग्ने सरकारको अनुमान छ । गत फागुनसम्म बिमा पहुँच २० प्रतिशतमा पुगिसकेकाले आउँदो असारसम्म २२ प्रतिशतमा पुग्ने अनुमान गरिएको हो । वित्तीय पहुँचजस्तै बिमा सुविधाका हिसाबले पनि प्रदेश ३ सबैभन्दा अघि छ  । गत फागुनसम्म बिमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ४ खर्ब ६१ अर्ब रुपैयाँ छ । जसमध्ये जीवन बिमाको ३ खर्ब ९० अर्ब र निर्जीवन बिमाको ७१ अर्ब ५ करोड रुपैयाँ रहेको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?