२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आर्थिक सर्वेक्षण ०७६/७७ : २६ संस्थानको नाफा साढे ४८ अर्ब

१३ नोक्सानीमा, ५ को कारोबार शून्य
संख्या र नाफा बढ्यो तर लाभांश घट्यो
राजु चौधरी

काठमाडौँ — २६ वटा सार्वजनिक संस्थानले ४८ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएका छन् । खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनी गाभिएपछि अहिले ४३ वटा संस्थान छन् । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार संस्थानको संख्या बढेको छ । तिनको लाभांश भने घटेको छ ।

आर्थिक सर्वेक्षण ०७६/७७ : २६ संस्थानको नाफा साढे ४८ अर्ब

आव ०७४/७५ मा संस्थानको संख्या ३९ थियो । यस अवधिमा संस्थानको नाफा ४३ अर्ब ४५ करोड रुपैयाँ थियो । ०७५/७६ सम्म संस्थानको संख्या ४३ पुगेको छ । यस अवधिमा १२.२६ प्रतिशत नाफा बढेर ४८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । तर यस अवधिमा संस्थानको लाभांश भने ४.२८ प्रतिशत घटेर ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार १३ संस्थान नोक्सानीमा छन् । ५ सार्वजनिक संस्थानको कारोबार शून्य छ । कारोबार शून्य रहेका संस्थान जनकपुर चुरोट कारखाना लि., विद्युत् उत्पादन कम्पनी लि., राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेड हुन् । ती संस्थान सञ्चालनमा पनि छैनन् ।

मन्त्रालयले मंगलबार नै सार्वजनिक गरेको वार्षिक स्थिति समीक्षा (पहेंला किताब) अनुुसार वित्तीय क्षेत्रअन्तर्गत ९ संस्थान छन् । ती संस्थान सबै नाफामा छन् । जनोपयोगी क्षेत्रमा रहेका ५ मध्ये ४ नाफामा छन् । सामाजिक क्षेत्रमा रहेका ५ संस्थानमध्ये २ संस्थान जनक शिक्षा सामग्री केन्द्र र राष्ट्रिय आवास कम्पनी नाफामा छन् । ३ संस्थान भने नोक्सानीमा रहेको उल्लेख छ ।

सेवा क्षेत्रमा सञ्चालित १० सार्वजनिक संस्थानमध्ये तीन संस्थान मात्रै नाफामा छन् । यही क्षेत्रमा रहेको नेपाल पूर्वाधार कम्पनी भने चालु आवमा मात्रै स्थापना भएको हो । औद्योगिक क्षेत्रतर्फ रहेका १० संस्थानमध्ये ४ मात्रै नाफामा छन् । जानकारका अनुसार संस्थानहरू घाटामा जानुको मुख्य कारक राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरी हो ।

सर्वेक्षणले भने संस्थानको समग्र वित्तीय स्थिति सकारात्मक रहेको दाबी गरेको छ । कुल सञ्चालन आय २०.२९ प्रतिशत बढेको जनाएको छ । ‘आव ०७४/७५ मा संस्थानको कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख भएकामा आव ०७५/७६ मा ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘आव ०७५/७६ मा सञ्चित नाफा र नोक्सानी गत आवको तुलनामा क्रमश: ३.८३ प्रतिशत र २७.३३ प्रतिशतमा कमी आए पनि समग्र सञ्चित नाफा २८.९३ प्रतिशतले बढेको छ ।’

सर्वेक्षणअनुसार सञ्चित नाफा बढेर ५१ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३ सय ६.५८ प्रतिशत बढेको छ ।

आव ०७५/७६ मा सेयर धनी कोष/नेटवर्थ २१.०१ प्रतिशत बढेको छ । सर्वेक्षणअनुसार कोष/नेटवर्थ बढेर ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख पुगेको छ । ‘समीक्षा अवधिमा संस्थानमा कुल लगानी गत आवको तुलनामा २७.३६ प्रतिशत बढेर ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘सेयर लगानी गत आवको तुलनामा ३५.६७ प्रतिशत बढेर २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगेको छ ।’ यस्तै ऋण लगानी १७.२३ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी नाफा नेपाल विद्युत् प्राधिकरणले कमाएको छ । ०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ, त्यसपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ९ अर्ब ७५ करोड ७६ लाख र तेस्रोमा नेपाल आयल निगमले ८ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ४ करोड ६५ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब ३१ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नोक्सान बेहोर्नेमा सबैभन्दा अगाडि नेपाल वायु सेवा निगम छ । नेवानिको १ अर्ब ९६ करोड ५४ लाख र उदयपुर सिमेन्ट उद्योगको घाटा १९ करोड ६३ लाख छ । नेपाल टेलिभिजनको १२ करोड ६२ लाख, नेपाल खानेपानी संस्थानको १२ करोड ५५ लाख र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको घाटा १० करोड ८० लाख रुपैयाँ रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?