१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विराटनगरमा भारतबाट तरकारी आयात रोकियो

भारतबाट आयात नगर्दा पनि नेपाली बजारमा हरियो तरकारीको अभाव भएको छैन । स्थानीय उत्पादनले धानिरहेको छ ।
जितेन्द्र साह

विराटनगर — स्थानीय उत्पादनले नै बजार धानेपछि विराटनगर महानगरपालिकामा भारतबाट तरकारी आयात रोकिएको छ । लकडाउन र सीमा सिलपछि भारतबाट हरियो तरकारी आयात बन्द गरिएको हो । धेरै दिनसम्मको यात्रामा बाटामै तरकारी कुहिने, घट्दो माग र नेपाली उपभोक्ताले स्थानीय उत्पादन खोज्ने हुनाले भारतबाट हरियो तरकारी मगाउनै छाडेको व्यापारीहरु बताउँछन् ।

विराटनगरमा भारतबाट तरकारी आयात रोकियो

भारतबाट आयात नगर्दा पनि नेपाली बजारमा हरियो तरकारीको अभाव भएको छैन । लकडाउनका कारण प्रदेश १ का विभिन्न जिल्लाबाट बजारसम्म ल्याउन नपाएर आधा खेतबारीमा कुहिँदासमेत ७६.९९ वर्ग किमि क्षेत्रफल भएको महानगरका २ लाख ४६ हजार जनतालाई मजाले तरकारी खान पुगिरहेको छ ।

‘लकडाउनपछि भारतबाट तरकारी नआउँदा खान नपाइएला भन्ने लागेको थियो तर अहिले नेपाली किसानले उत्पादन गरेको सागसब्जी छानीछानी किन्न पाइरहेका छौं,’ विराटनगर–७ की गृहिणी कमला क्षेत्रीले भनिन्, ‘भारतको भन्दा नेपाली खेतबारीका तरकारी सस्तो पनि छ ।’

विराटनगरको जनपथटोलस्थित नयाँ गुद्री बजारका वरिष्ठ सल्लाहकार एवं थोक व्यवसायी पशुपति भगतले अहिले स्थानीय उपभोक्ताको मागलाई स्वदेशी तरकारीले धानिरहेको बताए । ‘स्वदेशी उत्पादनले नै पुगिरहेको हुनाले लकडाउनयता भारतबाट हरियो तरकारी मगाउनुपरेको छैन,’ उनले भने, ‘आलु, लसुन र प्याज पनि पहिलेको तुलनामा ६० प्रतिशत मात्र भारतबाट आयात गरिरहेका छौं ।’ लकडाउनअघि भारतबाट दैनिक गोलभेडा, परबल र करेलालगायत ५० टन तरकारी आउने गरे पनि अहिले ल्याउनु नपरेको भगतले बताए ।

अहिले मोरङको कटहरी, धनपालथान, जहदा, ग्रामथान एवं सुनसरीको देवानगन्ज, हरिनगरा, इटहरी र सीमावर्ती झापाबाट आएको तरकारीले पुगिरहेको उनले बताए । पूर्वी पहाडी जिल्लाका उत्पादनहरुको निकै माग भए पनि उतै खपत भइरहेको छ ।

उनका अनुसार धेरै विषादी हाल्ने हुनाले भारतको तरकारी उपभोक्ताले उति मन पराउँदैनन् । 'यो स्वदेशी उत्पादनका लागि शुभ संकेत हो, स्थानीय उत्पादनलाई यसबाट प्रोत्साहन मिल्छ,’ भगतले भने, ‘अहिले होटेल र रेस्टुरेन्ट बन्द भएकोले पुगिरहेको छ तर लकडाउन खुलेपछि स्थानीय तरकारीको माग बढ्ने हुनाले उत्पादन बढाउनेतर्फ सरोकारवालाहरु लाग्नुपर्छ ।’

विराटनगर–१० जतुवा मार्गकी गृहिणी डिम्पल यादवले अहिले ढुक्क भएर तरकारी किनिरहेको बताइन् । ‘भारतको हो कि नेपालको भनेर सोध्नै पर्दैन,’ उनले भनिन्,‘ सहज र सुपथ मूल्यमा पाइन्छ, ताजा पनि छ ।’ अचेल नेपाली खेतबारीको तरकारी साइकल, ठेला, गाडी र सफारीमा घरदैलोसम्म पुगिरहेको हुनाले किनमेल सहज भएको उनले बताइन् । ‘जिब्रोले हरियो नेपाली तरकारी नै मन पराउँछ तर यसैगरी सधैं किन्न पाइने हो कि होइन ?’ उनले भनिन्, ‘पाइएन भने कौसीमा खेती सुरु गर्नुपर्ला ।’

तरकारीको सिजन सुरु हुँदा अलिक महँगिए पनि अहिले बजारमा गोलभेडा, काँक्रो र भिन्डी प्रतिकिलो १५ देखि ३० रुपैयाँ, परबल ५० रुपैयाँ, मुन्टा ५०, घिरौंला २०, भान्टा ५०, खुर्सानी ८०, बोडी २०/३० रुपैयाँ, लौका प्रतिगोटा २०/४० रुपैयाँ, रायो प्रति मुठ्ठा १० रुपैयाँ र धनियाँ ५ रुपैयाँ छ ।

आफ्नो उत्पादनको माग बढेपछि प्रदेश १ का व्यवसायी र कृषक उत्साहित छन् । सुनसरी इटहरी–८, भुर्कीका किसान विनोद चौधरीले ४ कठ्ठामा लौका, ३ कठ्ठामा बोडी, २ कठ्ठामा करेला र ३ कठ्ठामा गोलभेडा लगाएका छन् । उनले दैनिक १ सय ५० देखि २ सय वटा लौका, ५० किलो बोडी, ४० किलो करेला र ५० किलो गोलभेडा बेच्छन् । थोक व्यापारी उनको खेतमै आइपुग्छन् । उनी दैनिक १५ हजार रुपैयाँ आम्दानी गर्छन् ।

'भुर्कीमा धेरथोर सबैले तरकारी खेती गर्छन्, सहर र बजारमा बस्नेले बोडी, भिन्डी र साग किन्न अन्यत्र जानु पर्दैन,’ स्थानीय खाद्य सुरक्षा एवं कृषि अनुसन्धानकर्ता मिलन चौधरीले भने, ‘स्थानीय सरकारले मलबिउमा थोरै सहयोग गरे पनि यहाँका कृषकले बजार धान्ने क्षमता राख्छन् ।’

प्रदेश १ भरि नै आलु, प्याज र लसुन पनि पहिलेको तुलनामा कम आयात भइरहेको छ । लकडाउनपूर्व दैनिक १० गाडी आउने गरेकोमा अहिले ६ गाडीमा सीमित भएको व्यवसायी भगतले बताए । विराट–रानी भन्सारबाहेक अन्य नाकाबाट पनि दैनिक मुस्किलले दुई/तीन गाडी मात्र आइरहेको छ ।

धेरै वर्षदेखि विराटनगरमा तरकारी बेच्दै आएका देवानगन्ज–७ कै दिनेश मेहताले स्थानीय उपभोक्ताले आफूहरुलाई बिहानदेखि कुरेर बस्ने गरेको र नआउँदा फोन गर्ने गरेको बताए । ‘किनेर ल्याएको मूल्यमा ठिक्कको नाफा लिई स्थानीय र अग्र्यानिक तरकारी बेच्ने हुनाले सबैले हामीलाई नै खोज्छन्,’ उनले भने ।

विराटनगरमा तरकारीको २० थोक मन्डी छ । झन्डै ३ सय ५० खुद्रा तरकारी व्यवसायी छन् । पूर्वसावधानीका सम्पूर्ण उपायकासाथ तरकारी किन्ने र बेच्ने गरेकोले प्रहरीबाट पनि सहयोगको अपेक्षा गरेको अर्का थोक व्यवसायी पवन भगतले बताए । ‘पाँच जनाभन्दा बढी ग्राहक हुनासाथ आफै भिड हटाउँछौं,’ उनले भने ।

प्रहरीबाटै सास्ती

अत्यावश्यक वस्तुको सूचीमा रहेको तरकारी बोकेर आउँदा लकडाउनको निहुँमा प्रहरी प्रशासनले ज्यादती गर्ने गरेको किसान एवं व्यवसायीको गुनासो छ । अत्यावश्यक उपभोग वस्तुको वाहनलाई पास नचाहिने भने पनि प्रहरीले बाटामै २ घन्टा उभ्याउने गरेको र किनमेल गर्ने क्रममा लखेट्ने गरेकोमा उनीहरुको चित्त दुखाइ छ ।

प्रहरी एवं बाटाबाटामा ढाट लगाएर बस्ने स्वयंसेवी र स्थानीय युवाको डरले लकडाउन सुरु भएयता १० दिन तरकारी बेच्न नआएको र दुई दिन लुकाएर बेचेको सुनसरी देवानगन्ज–७ का कामदेव ऋषिदेवले बताए । ऋषिदेवसहित दिनहुँ ७ जनाको टोली मोटरसाइकलमा तरकारी बोकेर विराटनगर आइपुग्छन् । 'देवानगन्जबाट बर्जुको चिमडी हुँदै सोझो बाटोबाट आउँदा आधा घन्टामा आइपुग्ने भए पनि प्रहरीको त्रासले घुमेर आउनुपर्छ,’ उनले भने, ‘कुनाकुनाबाट आउँदा डेढ घन्टा लाग्छ ।’

तरकारी लिएर आइरहेकाबाट ढुकेर बसेका प्रहरीले पैसा उठाउने गरेको एक व्यवसायीले बताए । ‘तरकारी लिएर आइरहेको बेला बिहान विराटनगरको केशलिया पुलमा उभिरहेका प्रहरीले किसान र व्यवसायीबाट १० देखि ५० रुपैयाँ उठाइरहेका हुन्छन्,’ एक व्यवसायीले भने, ‘प्रहरीले असुली गरिरहेको देखेमा मोटरसाइकल फर्काएर अर्को मार्गबाट आउँछु ।’

हालै जहदाबाट मोरङको कटहरी नयाँबजारमा आएकी महिलाको तरकारी प्रहरीले खोसेर बाटोमा फालिदिएका थिए ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको र त्यसमा पनि अत्यावश्क वस्तुको सूचीमा परेको तरकारी एवं दूधको बेचबिखन रोक्न नमिल्ने प्रदेश-१ का डीआईजी ईश्वरबाबु कार्कीले बताए । ‘व्यवसायका लागि समय तोकिएको छ, उक्त अवधिमा किनबेच गर्न पाइन्छ,’ उनले भने ।

गलत मनसाय राखेर किसान एवं व्यवसायीलाई दु:ख दिने प्रहरीबारे सूचना आउनेबित्तिकै कारबाही गर्ने गरिएको उनले बताए । नागरिकलाई ज्यादती गर्ने प्रहरी र स्वयंसेवीलाई निगरानीमा राखिएको उनको भनाइ छ ।

कोरोनाको त्रास भए पनि रोजगारी एवं गुजारालाई ध्यान दिनुपर्ने भएकाले विराटनगर सीमावर्ती मोरङ, सुनसरी र झापाबाट तरकारी लिएर आउनेलाई रोकटोक नगर्न मातहतकालाई निर्देशन दिएको डीआईजी कार्कीले बताए । ‘मास्क लगाउन, सामाजिक दुरीको पालन गर्न र सफाइमा ध्यान दिन प्रहरीले सम्झाउने हो,’ उनले भने, ‘योसँगै गाँस, बास र कपासको अधिकारको पनि सम्मान गर्नुपर्छ ।'


प्रकाशित : जेष्ठ ११, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?