लकडाउनपछि पूर्वाधारमा ६ प्रतिशत खर्च

३ प्रतिशत रकम भुक्तानी, ३ प्रतिशत प्रक्रियामा
विमल खतिवडा

काठमाडौँ — लकडाउनको समयमा सडक विभागअन्तर्गत सञ्चालित दुई हजार अयोजनामध्ये करिब ६ सय आयोजना सम्पन्न भएका छन् । तिनमा केही आयोजना निर्माणाधीन छन् । लकडाउनयता १ खर्ब २५ अर्ब बजेटमध्ये यो अवधिमा ६ प्रतिशत खर्च भएको छ । यसमा ३ प्रतिशत रकम भुक्तानी भइसकेको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । थप ३ प्रतिशत भुक्तानीको प्रक्रियामा छ ।

लकडाउनपछि पूर्वाधारमा ६ प्रतिशत खर्च

विभागका अनुसार लकडाउनको समयमा देशभर ७७ किमि सडक कालोपत्रे भएको छ । १ सय २२ किमि ग्राभेल सडक निर्माण गरिएको छ । ३७ किमि सडकको ट्रयाक खोलिएको शर्माले बताए । ओभर–ले (पिचमाथि पिच) को काम ५२ किमि भएको छ । यसमा काठमाडौंमा मात्र ८ किमि ओभर–लेको काम भएको छ । निर्माणको अन्तिम चरणमा रहेका २१ वटा पक्की पुल सम्पन्न भएका छन् । यसअन्तर्गत दोलखामा १, मध्यपहाडी राजमार्गमा २, मदन भण्डारी राजमार्गमा ३, काठमाडौंमा १, दमक २, इलाममा २, जनकपुरमा २, नेपालगन्जमा १, महेन्द्रनगरमा ५ र डोटीमा २ वटा पक्की पुल बनेका छन् । यसैगरी २ सय २७ वटा पुल निर्माणाधीन छन् । ३ सय ६५ वटा सडक आयोजना पनि निर्माणका क्रममा छन् ।

अहिले मध्यपहाडी राजमार्ग, हुलाकी, कान्ति लोकपथ, उपत्यका सडक विस्तार आयोजनाको काम भइरहेको छ । ‘देशभर ३३ वटा सडक डिभिजन छन्,’ शर्माले भने, ‘तिनमध्ये लकडाउनका समयमा पनि केही न केही काम भइरहेको छ । खाली कोही बसेका छैनन् ।’ दमक, धनकुटा, सिन्धुलीको खुर्कोट, भरतपुर, बागलुङ, सुर्खेत र अछाममा सडकको ट्रयाक खोल्ने काम भएको छ । लकडाउनका बेला मध्यपहाडी राजमार्गमा साढे ९ किमि, कालीगण्डकी कोरिडोरमा ७ सय मिटर, कोसी करिडोरमा डेढ किमिसहित ३७ किमि नयाँ ट्रयाक खोलिएको उनले जानकारी दिए ।

आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर एउटा मेसिन र पाँच जना कामदारबाट काठमाडौंको महाराजगन्ज–बालुवाटार सडकखण्डमा सडक मार्किङबाट काम सुरु गरिएको उनले बताए । ‘अहिले संक्रमितको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘डर मान्नुपर्ने अवस्था भए पनि हामीले काम गर्ने ठाउँमा स्वास्थ्य सावधानी अपनाएर काम जारी राखेका छौं ।’ यसले कामदारको जीवनयापन सहज भएको उनको भनाइ छ । निर्माणस्थलमा अहिले करिब ६ हजार कामदार रहेको उनले जनाए ।

मजदुर घटाएर मेसिनबाट हुने काम बढाइएका उनले बताए । करिब ४६ प्रतिशत समग्र भौतिक प्रगति भएको उनको भनाइ छ । ‘यो वर्ष ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिलेसम्म ३७ प्रतिशत आर्थिक प्रगति छ ।’

यसैबीच हेभी इक्विपमेन्ट व्यवसायीले लकडाउनका कारण व्यवसाय धराशायी बनेको गुनासो गरेका छन् । विकास निर्माणमा प्रयोग हुने डोजर, बुलडोजर, क्रेनलगायत उपकरणलाई राम्रोसँग प्रयोगमा ल्याउन नसक्दा आफूहरूलाई समस्या थपिएको हेभी इक्विपमेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठले बताए । ‘हामी समस्यामा पर्‍यौं,’ उनले भने, ‘मेसिन राम्रोसँग चल्न पाएनन् । निर्माणाधीन संरचनामै मेसिन थन्किए ।’ ऋण लिई किनेका मेसिन प्रयोगमा नआउँदा व्यवसाय नै जोखिममा परेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?