कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तारे होटलले बास नदिएपछि कोभिड अस्पतालका डाक्टरलाई मझौलामा सारियो 

सुरज कुँवर

काठमाडौँ — राजधानीसहित विभिन्‍न स्थानमा तोकिएका कोभिड अस्पतालमा कार्यरत चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मीका लागि तारे होटलहरुले क्‍वारेन्टाइन बनाउन नदिएपछि सरकारले मझौला होटलमा राख्‍ने भएको छ ।

तारे होटलले बास नदिएपछि कोभिड अस्पतालका डाक्टरलाई मझौलामा सारियो 

पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका अनुसार तारे होटलहरुको छाता संगठन होटल संघ नेपाल (हान) ले आफ्ना सदस्य होटलहरुलाई क्वारेन्टाइन बनाउन अस्वीकार गरेपछि मझौला होटलहरुमा राखिने निर्णय भएको छ ।

‘काठमाडौं लगायतमा रहेका स्टार होटलहरुको संगठनकी अध्यक्ष सृजना राणाले मान्नुभएन,’ सरकारले स्वास्थ्यकर्मीहरुको बास व्यवस्थाका लागि संयोजनकारी भूमिकामा राखिएका बोर्डका सीईओ रेग्मीले कान्तिपुरसँग भने, ‘हानले अस्वीकार गरेको प्रस्ताव मझौला होटलहरुको व्यवसायिक संगठन होटल व्यवसायी महासंघले स्वीकारेको छ ।’

सीईओ रेग्मीका अनुसार, आइतबारदेखि राजधानी लगायत कोरोना प्रभावित क्षेत्रमा सरकारले तोकेका कोराना अस्पतालका दर्जनौं चिकित्सक, नर्स, प्राविधिक लगायतका स्वास्थ्यकर्मीहरु होटलमा स्थापना गरिएका क्वारेन्टाइनमा बस्ने छन् । ‘कुनै अस्पतालका स्वास्थ्यकर्मीहरु ७ दिन अस्पतालमा काम गर्ने छन् ७ दिन होटलको क्वारेन्टाइनमा बस्ने छन्,’ स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीले कान्तिपुरसँग भने । उनका अनुसार विभिन्‍न अस्पतालले आफ्नो जनशक्तिको विवरण अनुसार ७ देखि १४ दिनसम्म होटलको क्वारेन्टाइनमा राख्ने छन् ।

एक स्वास्थ्यकर्मीलाई एउटा कोठामा राखिने छ । महासंघले आफ्ना सदस्य होटलमा प्रति व्यक्ति २ हजार रुपैयाँ प्रति दिनका दरले राख्‍न सहमत भएको अध्यक्ष हिराध्वज शाहले कान्तिपुरसँग बताए । उनका अनुसार काठमाडौंको सुन्धारा, कलंकी, बागबजार, बालाजु, गंगोबु, चाबहिलमा रहेका मझौला होटल यस महासंघका सदस्य हुन् ।

देशभर ८० हजार होटल आफ्ना सदस्य रहेको बताउने शाहका अनुसार उपत्यकाभित्र ललितपुरबाहेक अन्य सबै जिल्लामा यसमा आबद्ध सदस्य होटल छन् । सीईओ रेग्मीका अनुसार उपत्यकाभित्रका चिकित्सकहरुलाई नजिकै पायक पर्ने स्थानका होटलमा राखिने छ । उनीहरुको होटललाई तिर्नुपर्ने भुक्तानी स्वास्थ्य मन्त्रालयमार्फत गरिने छ । मन्त्रीका सल्लाहकार डा. कार्कीले यस शिर्षकमा निश्चित बजेट नतोकिएको बताउँदै सरकारले परिस्थिती अनुकूल बजेटको आकार पनि बढाउँदै लैजाने बताए ।

३ सय ५० बढी होटलको व्यवसायिक संस्था हानकी अध्यक्ष सृजना राणाले तारे होटलहरु तयारी अवस्थामा नरहेको र विदेशबाट फर्किन लागेका नेपालीहरुलाई राख्ने कार्यक्रम तय भइसकेकाले हाललाई स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको होटललाई क्वारेन्टाइन बनाउने प्रस्ताव स्वीकार गर्न नसकिएको बताइन् । ‘दिन मान्ने नमान्ने होटलवालाहरुको अधिकार हो,’ दरबारमार्गस्थित होटल अन्नपूर्णकी सञ्‍चालक राणाले भनिन्, ‘अहिले कर्मचारी पनि छैनन् । तारे होटलहरु खराब अवास्थामा छन् । स्वास्थ्य मन्त्रालयको बजेट कति हो भन्‍ने पनि हामीलाई थाहा छैन । उहाँहरुको बजेट अनुसार, पर्यटन बोर्डले मिलाइसकेको सुनेकी छु ।’

हानले चैत्र पहिलो साता सरकारले तारे होटललाई क्वारेन्टाइनका लागि गरेको प्रस्तावमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा सदस्य होटललाई क्वारेन्टाइनमा बदलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?