२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

युवालाई नगरको बिनाधितो स्वरोजगार कर्जा

उत्पादनमूलक काम गर्न चाहनेलाई प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म दिइने
सन्जु पौडेल

तिलोत्तमा — लकडाउन लम्बिँदै गएको र बेरोजगारी समस्यालाई दृष्टिगत गरी रूपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो कर्जा दिने भएको छ । उत्पादनमूलक काम गरेर स्वरोजगार बन्न चाहनेलाई नगरले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको हो ।

पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी युवालाई उद्यम प्रस्ताव गर्न आह्वान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘इच्छुकले आफूले गर्न चाहेको उद्यमसम्बन्धी प्रस्ताव नगरपालिकामा पेस गर्नुपर्नेछ,’ उनले भने, ‘प्राप्त प्रस्तावअनुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिनेछ ।’

नगरपालिकाले गत कात्तिकमा गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको थियो । सोहीअनुसार नगरपालिकाले बैंकको रिजर्भ कोषमा रकम जम्मा गरिसकेको छ । बेरोजगार युवालाई लक्ष्य गरिएको योजनाबाट सानोतिनो रकमले केही काम गर्न चाहनेहरू लाभान्वित हुने नगरपालिकाको विश्वास छ ।

अहिलेका लागि कर्जाको ब्याजदर पुरुषको हकमा वार्षिक ४ दशमलव ५० प्रतिशत, महिलाको हकमा वार्षिक ३ दशमलव ५० प्रतिशत छ । ‘नगरपालिकाले पहिलो चरणमा कम्तीमा ५० जना त्यस्ता बेरोजगारलाई छान्नेछ, जसले उत्पादनमुखी लघु उद्यम गरेर सफल बनून् र अर्को चरणमा कर्जा लिन चाहनेले सिकून्,’ प्रमुख घिमिरेले भने । छनोटका लागि नगर कार्यपालिकाले छुट्टै समिति गठन गरेको छ । उक्त समितिले आएका प्रस्तावमा छलफल गरी कर्जा दिन उचित युवा छान्नेछ । यो सुविधा दिएबापत नगरपालिकाले युवा स्वरोजगार गराउन सकिने अपेक्षा गरेको उनले बताए ।

कार्यक्रमले केही गर्ने सोच बनाएका तर आर्थिक हिसाबले विपन्न युवामा हौसला दिने काम गर्ने तिलोत्तमा चेम्बर अफ कमर्सका द्वितीय उपाध्यक्ष रामचन्द्र पाण्डेको भनाइ छ । ‘यसरी सबै स्थानीय तहले आफ्ना जनतालाई सुविधा दिने हो भने देश समुन्नत हुन समय लाग्दैन,’ उनले भने, ‘यो जनताका लागि अवसर र स्थानीय सरकारका लागि आर्थिक पाटोमा वृद्धिदर हुने संकेत हो ।’

कर्जाको लाभ लिन सके यसले युवालाई आत्मनिर्भर बनाई पारिवारिक र सामाजिक खुसियालीमा सहयोग पुग्ने युवा व्यवसायी सुनीलकुमार जैसवालको भनाइ छ । ‘हामीले व्यवसाय सुरु गर्दा यस्तो अवसर थिएन,’ उनले भने, ‘चर्को ब्याजदरमा बैंकबाट लिएको ऋण तिर्न नसक्दा कति व्यवसायी धराशायी बनेका पनि छन् ।’ लकडाउन भइरहँदा घरमै बसेर गर्न सकिने उद्यमतर्फ युवा आकर्षित भएर लाग्न सके नगरपालिकाको अभियानले साथर्कता पाउने उनले बताए ।

बैंकमा रहेको नगरपालिकाको बचतलाई धितो मानेर सिफारिस आएका व्यक्तिलाई कर्जा दिइने नेपाल बैंक लिमिटेड, मणिग्राम शाखाका प्रमुख लोकनाथ भुसालले जानकारी दिए । ‘यसले कृषितर्फ योगदान र लगानीका साथै आर्थिक रूपमा कमजोर वर्गलाई उकास्न मद्दत गर्छ,’ उनले भने, ‘ब्याजदरको सहुलियत पनि जनताका लागि फलदायी हुनेछ ।’ कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले बताएको छ ।

नगरपालिकामा १ लाख २३ हजार जनसंख्यामा ७ सय ६८ सूचीकृत बेरोजगार छन् । बेरोजगारको संख्या शून्य पार्न पनि कार्यक्रम फलदायी हुने नगरपालिकाको विश्वास छ । महिला, दलित, पछाडि पारिएको वर्ग, समुदाय र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् ।

‘कर्जा प्रवाहका लागि तरकारी, फलफूल, फूल, च्याउ, जडीबुटी खेती, पशुपन्छीपालन, मत्स्यपालन, नगदे बाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ,’ उनले भनिन्, ‘भुक्तानी अवधि बढीमा पाँच वर्षको हुनेछ ।’

प्रकाशित : जेष्ठ ६, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?