३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नीति तथा कार्यक्रम : हवाई नियमन गर्न दुइटा निकाय हुने

कामका आधारमा नागरिक उड्डयन प्राधिकरणलाई अधिकार सम्पन्न दुई निकायमा बिभाजन गर्ने विधेयक संसदमा विचाराधीन
सुरज कुँवर

काठमाडौँ — काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन गर्न लागिरहेको सरकारले यीसहितका हवाई निकायलाई नियमन र सञ्‍चालन गर्न दुइटा सरकारी संस्था स्थापना गर्ने भएको छ ।

नीति तथा कार्यक्रम : हवाई नियमन गर्न दुइटा निकाय हुने

सरकारको नीति तथा कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणलाई दुइटा संस्थामा परिणत गरिने उल्लेख छ, ‘हवाई उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक कार्यका लागि छुट्टाछ्ट्टै संस्थागत व्यवस्था गरी कार्यान्वयनमा ल्याइने छ ।’ यो काम फागुनमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाइसकेको छ । मन्त्री योगेश भट्टराईले राष्ट्रिय सभामा ‘नेपाल हवाई सेवा प्राधिकरण’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ विधेयक दर्ता गराइसकेका छन् । संसदको बर्खे अधिवेशनले वर्षौदेखि उठेको यो विषयलाई टुंग्याउने लक्ष्य राखिएको छ ।

दुवै सदनले पारित गरेलगत्तै नेपालले २६ वर्षअघि नागरिक उड्डयन नियमन र सेवाप्रदान गर्ने उद्देश्यले स्थापना गरेको हालको प्राधिकरणलाई दुइटा निकायमा विभाजन हुने छ । यो निर्णयले नेपाली वायुसेवा कम्पनीलाई युरोपका सदस्य मुलुकहरुमा प्रवेशमा रोक लगाउँदै आएको युरोपियन युनियनले पनि कालो सूचीबाट हटाउने अपेक्षा सरकारको छ ।

सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम वाचन गर्दा कोभिड–१९ कै कारण यस वर्षको भम्रण वर्ष २०२० अभियान सरकारले स्थगन गर्नुपर्ने बाध्यता आइपरेको बताइन । उनले पछिल्ला दुई वर्ष नेपाल आउने पर्यटकको संख्या ११ लाख नाघेको उल्लेख गर्दै कोरोना भाइरसका कारण ध्वस्त बन्न पुगेको पर्यटन बजारलाई पुन: चलायमान बनाउन सरकारले आगामी वर्ष पुनरुत्थान, दिगो पर्यटनका कार्यक्रम ल्याइने पनि उनले बताइन् ।

निर्माणको ४० वर्षपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका धावनमार्ग पुनर्निर्माण गरिएको र आगामी वर्षभित्र बुटिक विमानस्थलमा रुपान्तरण गरिने बताइन् । बुटिकको कार्य अघिल्लो वर्षदेखि सुरु भएको थियो । त्यस्तै यसै वर्षदेखि संचालनमा ल्याइने भनिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७७/७८ मा संचालनमा ल्याइने राष्ट्रपति भण्डारीले बताइन् । आगामी आर्थिक वर्ष भैरहवामा निर्माण सक्ने बताउँदै चिनियाँ सहयोगमा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सम्पन्न भइसक्ने नीति तता कार्यक्रममा छ ।

त्यस्तै हाल सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै थालिने भएको छ । ३ खर्ब लागत अनुमान गरिएको यो परियोजनामा रुख काट्ने लगायतका विवाद सृजना भएपछि सरकारले छनोट गरेको जुरिच इन्टरनेशनल कम्पनीसँग निर्माण प्रस्ताव सम्झौता गर्ने समय गुज्रिसकेको छ ।

आन्तरिकतर्फ ४९ वटा विमानस्थल रहेको मुलुकमा आगामी वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकमा दुइटा आन्तरिक विमानस्थल थपिने भएको छ । काभ्रेमा उपयुक्त स्थानको खोजी गरेर निर्माण कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै पर्यटक बढाउन पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेशन र स्थानिय स्तरमा कृषि उत्पादन हुने ठूला फार्मलाई होटल तथा रिसोर्टसँग जोडिने कार्यक्रम ल्याइने भनिएको छ । नेपालमा सर्वाधिक आन्तरिक पर्यटक घुम्ने लुम्बिनी क्षेत्रमा पर्ने तिलौराकोटलाई सरकारले विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया थाल्ने भनेको छ

प्रकाशित : जेष्ठ २, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?