१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

याक, खच्चड र भरियाको ज्यालामा भ्याट हटाउन टानको माग 

सुरज कुँवर

काठमाडौँ — ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा र हिमाल आरोहणमा भारी बोक्ने याक, खच्चड, भरिया, गाइड र आरोहण गर्ने शेर्पा समुदायको ज्यालाबाट सरकारले असुल्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ ।

ट्रेकिङ व्यवसायी तथा श्रमिकहरूको संगठन टानले बजेट बनाउँदै गरेको सरकारलाई यी क्षेत्रमा भ्याट नलिन आग्रह गर्दै पत्राचार गरेको हो । कोरोना भाइरसका कारण यस सिजनमा मात्रै १५ अर्बको कारोबार गुमाएको दाबी टानको छ ।

अर्बौंको व्यापार गुम्दा सयौं व्यवसायी धराशायी भएको जनाउँदै टानका अध्यक्ष खुमबहादुर सुवेदीले उक्त भ्याट हटाउन सरकारसँग माग गरिएको बताए । ‘पदयात्रा र हिमाल आरोहणमा जाने भरिया, गाइड, याक र खच्चडले प्राप्त गर्ने दैनिक ज्यालामा अघिल्लो वर्षसम्म भ्याट छुटको व्यवस्था थियो,’ टानले सरकारलाई मंगलबार लेखेको पत्रमा उल्लेख छ, ‘हाल यसमा भ्याट लाग्ने गरेको छ, तसर्थ दुर्गम क्षेत्रहरूमा दु:ख गर्ने यस्ता निमुखा वर्गहरूले पाउने दैनिक ज्यालामा आगामी आवदेखि भ्याट छुटको घोषणा बजेट वक्तव्यमार्फत गर्न जोडदार अपिल गर्दछौं ।’

त्यस्तै, भारत, चीन, मलेसिया, सिंगापुर, थाइल्यान्ड, हङकङ, पाकिस्तान, भुटानलगायत मुलुकमा पर्यटन व्यवसायमा भ्याट छुट रहेकाले नेपालले पनि १३ प्रतिशत कर अहिलेको परिस्थितिमा हटाउनुपर्नेमा उनीहरूको जोड छ । व्यवसायीहरूले यही करका कारण नेपालमा भ्रमण तथा आरोहण प्याकेज महँगो हुने गरेको बताएका छन् । टानले पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न राहतका प्याकेजसमेत माग गरेको छ ।

सरकारले हालै रद्द गरेको भ्रमण वर्ष सफल पार्न करोडौं ऋण लगानी गरेका ट्रेकिङ व्यवसायीहरू बैंकको ब्याज तिर्न असमर्थ रहेकाले अवधि बढाई ब्याज मिनाहा गरिदिन माग गरिएको छ । पदयात्रा तथा पर्वतारोहण व्यवसायमा बैंकहरूले अनिवार्य रूपमा निश्चित प्रतिशत डिपप्राइभेट सेक्टरमा राखेर लगानी गर्नुपर्ने, बिनाधितो २० लाख सहुलियत ऋण २ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनुपर्ने टानले माग राखेको छ । ‘यदि नेपालका बैंकहरूले ट्रेकिङ कम्पनीहरूलाई न्यून ब्याजदरमा सहुलियत ऋण प्रदान गर्न सक्दैन भने निजी क्षेत्रले पनि नेपाल सरकारको जमानीमा विश्व बैंक, एसियाली विकास बैंक, चिनियाँ बैंक तथा वित्तीय निकायहरूबाट न्यून ब्याजदरमा ऋण लिन सक्ने व्यवस्था मिलाइदिन अपिल गर्दछौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको पत्रमा भनिएको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?