खुम्चियो बैंकहरूको नाफा

गत वर्षको तुलनामा यो वर्ष नाफा घटे पनि बैंकहरू नोक्सानमै जाने अवस्था छैन
यज्ञ बञ्जाडे

काठमाडौँ — विगतमा सशस्त्र द्वन्द्व, भुइँचालो, नाकाबन्दीलगायत अप्ठ्यारो भनिएको अवस्थामा पनि उच्च नाफा कमाएका बैंकहरूको खुद नाफा चालु आवको तेस्रो त्रैमासमा भने घटेको छ । बैंकहरूबीचको तीव्र प्रतिस्पर्धा तथा कोभिड–१९ को संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण गत वर्षको तुलनामा चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा घटेको हो ।

खुम्चियो बैंकहरूको नाफा

तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकको कुल नाफा ४५ अर्ब २४ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब १ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म यी बैंकहरूको खुद नाफा करिब साढे १५ प्रतिशतको वृद्धिसहित ४५ अर्ब ६६ करोड रुपैयाँ थियो । यस्तै गत पुससम्म बैंकहरूको नाफा साढे ६ प्रतिशत बढेको थियो ।

लकडाउनका कारण बैंक तथा वित्तीय संस्था नोक्सानमा नजाने राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले पनि औंल्याएको थियो । गत वर्षको तुलनामा यो वर्ष नाफा घटे पनि नोक्सानमै जाने अवस्था नरहेको अध्ययनको निष्कर्ष छ । ‘बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार रोकिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता एवं अध्ययन कार्यदलका संयोजक गुणाकर भट्टले भने, ‘यसकारण नाफा वृद्धिदर खुम्चिएको हो । तर घाटाको अवस्था छैन ।’ नयाँ कर्जा विस्तार नभए पनि लगानीमा रहेको कर्जाबाट ब्याज आय प्राप्त भइरहने भएकाले बैंकहरूले घाटा बेहोर्नु नपर्ने उनले बताए । ‘चालु आवको नौ महिनासम्म नियमित कारोबार गरिरहेका थिए,’ उनले भने, ‘पछिल्लो तीन महिनामा मात्र कारोबार अवरुद्ध भएको हो ।’

बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर (बेसरेट) भन्दा बढीमा कर्जा प्रवाह गरेकाले पनि नोक्सान नहुने उनले दाबी गरे । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चैतसम्म पाकेको ब्याजमा १० प्रतिशत छुट दिएका छन् भने चैतदेखि असारसम्मको ब्याजदरमा २ प्रतिशत विन्दुले कम गर्नुपर्नेछ । यो निर्देशनले बैंकको ब्याज आय केही घटे पनि नोक्सान नभएको उनले बताए । अहिले स्रोत परिचालनका लागि बैंकहरूलाई विभिन्न सुविधा प्रदान गरिएको छ । यी कारणले पनि अहिले बैंक तथा संस्थालाई नोक्सान नहुने उनले बताए ।

अहिले बैंकहरूले चैतसम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्यसमा २० दिन लकडाउनको अवधिमा भएको कारोबार पनि समेटिएको छ । यसकारण लकडाउनका कारण मात्र नाफा घट्यो भन्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । बैंकहरूबीच भएको प्रतिस्पर्धा र केही मात्रामा लकडाउनको असरले खुद नाफा खुम्चिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ । ‘तेस्रो त्रैमाससम्म लकडाउनको २० दिन मात्र समावेश छ,’ उनले भने, ‘यसकारण आउँदा त्रैमासमा बैंकको नाफा झनै घट्ने देखिन्छ ।’

यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले चैतमा किस्ता भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिएका छन् । यसले पनि खुद नाफामा दबाब परेको बैंकरहरूले बताएका छन् । संक्रमणकालीन अवस्था भएकाले अहिले नउठेको ब्याजलाई पनि आयमा गणना गर्न पाउने, लामो समयावधिका मुद्दती निक्षेपमा शतप्रतिशत कर्जा प्रवाह गर्न सकिने, ऋणको वर्गीकरणलगायतमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुविधा दिएको छ । यी सुविधा पाएको अवस्थामा पनि बैंकहरूको नाफा घटेकाले आगामी दिनमा नाफा धेरै घट्ने उनीहरूको दाबी छ । ‘अहिले बैंकहरूले नउठेको ब्याजलाई पनि नाफामा समावेश गरेका छन्,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘त्यो ब्याज समावेश नभएको भए बैंकहरूको नाफाको अवस्था डरलाग्दो हुन्थ्यो ।’

लकडाउनअघि पनि बैंकहरूको नाफा घट्न थालेको थियो । अपेक्षित रूपमा व्यवसाय नबढ्दा सञ्चालन मुनाफामा कमी आउनु, कर्जा र निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घट्नु, सञ्चालन खर्च बढ्नुलगायत कारण नाफा वृद्धिदर खुम्चिएको हो । अघिल्ला वर्षहरूमा उच्च दरले मुनाफा कमाइरहेका बैंकहरू चालु आवको सुरुदेखि नै एकल अंकको वृद्धिदरमा सीमित छन् । यो आवको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा करिब ५ प्रतिशत मात्र बढेको थियो ।

निरन्तर उच्च नाफा आर्जन गरिरहेकाले अघिल्ला वर्षहरूमा बैंकहरूलाई अप्ठ्यारो परिस्थितिमा पनि उच्च नाफा कमाएको आरोप लाग्दै आएको थियो । पछिल्ला त्रैमासहरूको अवस्था हेर्दा बजारमा उच्च नाफाको अवस्था छैन । चालु आवको सुरुदेखि नै लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको छैन । यसको प्रत्यक्ष असर कर्जा प्रवाहमा परेको छ । सरकारको नीतिअनुसार बैंक दुर्गम गाउँ पुगेका छन् । त्यसले लागत बढेको छ । तर लागत बढेअनुसार नाफा नबढेकाले नाफा खुम्चिएको विज्ञहरू बताउँछन् ।

तोकिएको अवधिमा वित्तीय संस्थाले कति नाफा कमाए भनेर हेर्न तिनको सञ्चालन नाफा हेर्नुपर्छ । सञ्चालन नाफाले सो अवधिमा भएका वित्तीय गतिविधिबाट मात्र आर्जन गरेको नाफा देखाउँछ । सञ्चालन नाफामा कर र विभिन्न कोष कट्टी कटाएर खुद नाफा गणना गरिन्छ । खुद नाफामा बैंकको खराब कर्जा असुलीलगायत अन्य आय पनि जोडिन्छ । बैंकहरूको सञ्चालन नाफा वृद्धिदर तेस्रो त्रैमाससम्म औसत २.१० प्रतिशतले ऋणात्मक छ । ०७५ चैतसम्म ६४ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकहरूको सञ्चालन नाफा यो आवको सोही अवधिमा ६३ अर्ब ५ करोड रुपैयाँ छ ।

गत चैतसम्म बैंकको नाफा वृद्धिदर ऋणात्मक रहे पनि ९ वटा बैंकले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । तीमध्ये नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ । गत आवको तेस्रो त्रैमासको तुलनामा ती दुवै बैंकको खुद नाफा घटेको हो । यस्तै, ग्लोबल आईएमई, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, हिमालय, कृषि विकास बैंक र प्राइम बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा बढी छ । तीमध्ये ग्लोबल आईएमई र प्राइम बैंकको नाफा यो वर्ष मर्जर तथा एक्विजिसनका कारणले बढेको हो । गत वर्ष दुवै बैंकको नाफा २ अर्बभन्दा कम थियो । बाँकीमध्ये १४ वटाको नाफा १ अर्ब रुपैयाँभन्दा धेरै छ भने ४ वटाको नाफा १ अर्ब रुपैयाँभन्दा कम छ ।

यो अवधिमा बैंकहरूको निक्षेप संकलन औसत १६.७१ र कर्जा प्रवाह औसत १६.४७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म २२ बैंकको सेयर धनीको प्रतिफल (आरओई) घटेको छ भने ५ वटाको थोरैले बढेको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?