बुधबार पनि सेयर बजारमा सर्किट ब्रेकर, ४० मिनेटमै कारोबार बन्द- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बुधबार पनि सेयर बजारमा सर्किट ब्रेकर, ४० मिनेटमै कारोबार बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर बजार परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार आज पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि २ दशमलव शुन्य एक प्रतिशतले घटेको छ । यस्तै ७४ वटा कम्पनीको २ सय ११ करोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाा बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारमा आएका ११ वटै समूहका सूचकहरु घटेका छन् ।

यस्तै कारोबार भएका सबै कम्पनीको सेयर मूल्य पनि घटेको छ । सबैभन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयााको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउा रिजेन्सी होटलका सेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।

झण्डै दुई महिनापछि पहिलो दिन मंगलबार खुलेको सेयर बजार करिब सवा १ घण्टामै बन्द भएको थियो । सो अवधिमा नेप्से २ प्रतिशतभन्दा बढीले घटेपछि नेप्सेले सर्किट ब्रेकरमार्फत उक्त दिनको कारोबार बन्द गरिएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितलाई दाङमा उपचार गर्न खोज्दा विरोध

दुर्गालाल केसी

दाङ — बर्दियाकी ११ वर्षीया बालिकालाई मंगलबार उपचारका लागि दाङ ल्याउनेबारे छलफल चल्यो । बर्दियामा कोरोना विशेष अस्पताल नभएको र बाँकेमा बिरामी भरिभराउ भएकाले यहाँ ल्याउन खोजिएको हो । तर, दाङमा ल्याउँदा संक्रमणको जोखिम हुन सक्ने भन्दै तीव्र विरोध भएपछि उनलाई नेपालगन्ज नै पठाइयो ।

शान्तिनगर गाउँपालिकाले प्रेस विज्ञप्ति नै जारी गरेर संक्रमितलाई जिल्लामा ल्याउन नहुने जनाएको थियो । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले अहिलेसम्म संक्रमित नभेटिएकाले बिरामी ल्याउन नहुने अडान लिएका थिए । ‘कोरोनाका बिरामीलाई दाङ ल्याउनु भनेको जिल्लाबासीको अपहेलना तथा अन्याय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म कुनै बिरामी नदेखिएको दाङमा तेस्रो जिल्लाका बिरामी ल्याई उपचार गराउँदा जिल्ला प्रभावित हुने कुरा प्रस्ट देखिन्छ ।’

स्थानीय तहले नै बिरामीको उपचारमा यस्तो नीति देखाएपछि यो विषयमा बहस चुलिएको छ । उक्त विज्ञप्तिको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । मंगलबार नै बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल व्यवस्थापन समितिको बैठक बसी अस्पतालमा प्रदेशभरका बिरामीको उपचार गर्न सकिने निर्णय भएको छ । प्रदेश सरकारले दाङ, बाँके र रूपन्देहीमा कोरोना विशेष अस्पताल स्थापना गरेको छ ।

रूपन्देही र बाँकेमा बिरामीको चाप बढ्न थालेकाले दाङको अस्पताललाई थप व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘अन्य जिल्लामा चाप बढेपछि बिरामी दाङ ल्याउनु स्वाभाविक हो । संक्रमित बिरामीको जहाँ पनि सुरक्षित तरिकाले उपचार गर्न पाइन्छ,’ समितिका सदस्य सचिव डा. सर्वेश शर्माले भने, ‘हामी त्यही अनुसार तयारी अवस्थामा छौं । जहाँबाट बिरामी ल्याए पनि उपचार हुन्छ । समितिले त्यही निर्णय गरेको छ ।’

बेलझुन्डीमा हाल कोरोना उपचारका लागि ३० शय्या तयार राखिएका छन् । आवश्यक परे १ सय शय्या सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालमा हालसम्म शंकास्पद बिरामीलाई मात्रै राखिएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारसम्म १ सय ६२ जनाको पीसीआर परीक्षण भएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवले बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पनि सामाजिक सञ्जालमा लेखेर अस्पतालमा बिरामी राख्दैमा संक्रमण नफैलने भएकाले विरोध नगर्न अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना संक्रमितलाई अस्पतालमा ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो । कोरोना विशेष अस्पतालबाट नेपालमा कोरोना फैलिएको छैन ।’ मुख्यमन्त्री पोख्रेलले बुधबार बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल अवलोकन गर्दै छन् ।

छिमेकी जिल्लाहरूमा संक्रमित बढ्न थालेपछि जिल्लाका नाकाहरूमा कडाइ गरिएको र क्वारेन्टाइन थप व्यवस्थित गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । भारतबाट समेत ठूलो संख्यामा मानिस आउन सक्ने भएकाले क्वारेन्टाइनको संख्या बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७७ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×