१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निर्माण क्षेत्रमा कतै काम सुरु, कतै तयारी

देशभर निर्माणाधीन विद्युत् आयाेजना प्रायः चालू अवस्थामा
विमल खतिवडा

काठमाडौँ — सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग र निर्माणाधीन आयोजना निर्माण वातावरण सहज गराउने भने पनि त्यसअनुसार काम हुन सकेको छैन । केही आयोजनाको काम सुरु भए पनि प्राय: उद्योग तथा परियोजनाले काम अघि बढाउन नसकिएको बताएका छन् ।

निर्माण क्षेत्रमा कतै काम सुरु, कतै तयारी

अहिले करिब तीनवटा खानी मात्र सञ्चालनमा आएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । अन्य खानी सञ्चालनका लागि प्रक्रिया थालिए पनि सहज नभएको उनले गुनासो गरे । खानी सञ्चालन गर्नेबारे प्रशासनमा समन्वय गर्न जाँदा जिम्मेवारी सबै लिनुपर्ने र उद्योग रहेका बस्तीमा केही घटना घटे त्यसको जवाफदेही पनि हुनुपर्छ भन्ने प्रतिक्रिया आउने गरेको उनको भनाइ छ ।

यति बेलासम्म प्राय: सबै खानी सञ्चालनमा आउनुपर्ने हो । तर सरकारले गरेको निर्णयअनुसार काम हुन सकेको छैन । ‘खानी सञ्चालन प्रक्रिया थालेका छौं,’ थापाले भने, ‘पाल्पामा ५ मध्य ३ वटा खानी सुरु भए भन्ने जानकारी आएको छ । उदयपुर र हेटौंडामा सुरु गर्न सकिएको छैन । बर्खा लागेपछि खानीबाट चुनढुंगा ल्याउन सकिन्न ।’

यति बेला समस्या चुनढुंगाको छ । सिमेन्ट मौज्दात छ । १५ प्रतिशत उद्योग सञ्चालनमा छन् । सीमित आयोजना निर्माणको काम मात्र सुरु हुँदा सिमेन्ट नभएर काम रोकिने अवस्था छैन । ‘अहिले बजारमा सिमेन्टको माग धेरै छैन । जति माग छ, त्यसलाई पुर्‍याउन सकिएको छ,’ थापाले भने, ‘भविष्यमा अवस्था सहज भएर माग बढ्न थाले गाह्रो पर्छ ।’

उद्योगहरु चलाउने प्रयास भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि बताउँछन् । ‘राष्ट्रिय गौरवका आयोजनाको काम सुरु भएपछि सिमेन्टको आवश्यकता पर्‍यो, हामीले मौज्दातमा भएको सामान उपलब्ध गरायौं,’ उनले भने, ‘सरकारले लकडाउन खुकुलो बनाएर उद्योग पुन: सञ्चालन गर्न भने पनि त्यति सहज वातावरण भने छैन ।’

गाउँमा उद्योग चलाउँदा स्थानीयमा त्रास हुने खतरा बढेको उनले बताए । त्यसैले पहिले खानी चलाउनुपर्ने उनको भनाइ छ । ‘खानी चलेनन् भने उद्योग सञ्चालन गाह्रो हुन्छ,’ उनले भने, ‘बर्खाअघि नै खानीबाट सामान ल्याइसक्नुपर्छ ।’

प्रशासन र प्रहरीबीच समन्वय नहुँदा थप समस्या भएको उनले बताए । ‘सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर उद्योग चलाउने निर्णय गर्छ,’ उनले भने, ‘उद्योगका मजदुर र गाडीलाई सीडीओले हिँड्न अनुमति दिन्छन्, प्रहरीले समात्छन् ।’ अहिलेको अवस्थामा पूर्ण क्षमतामा उद्योग चलाउन नसकिने उनको भनाइ छ ।

पूर्ण क्षमतामा उद्योग चल्दा दैनिक ४५ हजार टन सिमेन्ट उत्पादन हुन्छ । त्यस्तै ४० हजार टन चुनढुंगा खपत हुन्छ । देशभर ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमा चुनढुंगामा आधारित उद्योग २१ वटा छन् ।

देशभर निर्माणाधीन विद्युत् आयोजना प्राय: चालू अवस्थामा रहेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘निर्माणाधीन आयोजानाका लागि सामान छैन,’ उनले भने, ‘सिमेन्ट र निर्माण सामग्री सकिएको ठाउँमा पुर्‍याउने प्रयास भइरहेको छ । निजी क्षेत्रकै लगानीमा निर्माणाधीन आयोजना धेरै छन्, तिनमा पनि केहीको काम भइरहेको छ, केहीको सुरु गर्ने तयारी छ ।

सडक विभाग भने लकडाउनका बेलामा पनि देखिने गरी काम भएको बताउँछ । निर्माणको अन्तिम चरणमा रहेका ८ वटा पक्की पुल सम्पन्न भएको र ५० किमि सडक ओभर–ले गरिएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । यही अवधिमा ५० किमि नयाँ कालोपत्र र ६० किमि नयाँ सडक निर्माण भएको उनको दाबी छ । ‘केही ठाउँमा पास मागेपछि सिफारिस पठाउने काम भएको छ,’ उनले भने, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सुरु गर्ने तयारीमा छौं । कामदार ल्याउने कुरा अगाडि बढाइँदै छ ।’

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा पनि काम सुरु गर्ने भन्दै निवेदन आएको छ । धेरैतिरबाट काम सुरु गर्न निवेदन आएको उनले बताए । सरकारले लकडाउन खुकुलो बनाएपछि केही थप आयोजनामा काम सुरु गर्ने तयारी हुँदै छ । कोरोना संक्रमितको संख्या बढेपछि भने कामदारमा मानसिक त्रास बढेको उनको भनाइ छ । ‘काममा फर्किन डराएका छन् । स्थानीय स्तरमा काम सुरु गर्दा स्थानीयले सहज मान्दैनन्,’ शर्माले भने, ‘समुदायले काम गर्न दिएन भने गाह्रो छ ।’

सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले पनि भवन निर्माणको काम लकडाउनका बेला पनि जारी रहेको बताए । ‘सरकारको पछिल्लो निर्णयपछि निर्माणका काम गर्न थप सहज हुने अपेक्षा छ,’ उनले भने, ‘तर त्यसका लागि आवश्यक जनशक्ति, निर्माण सामग्रीको आपूर्ति सहज हुनुपर्छ ।’

घर गएका कामदार फर्किन समय लाग्ने भएकाले तीव्र स्तरमा काम अघि बढाउन कठिन भएको उनको भनाइ छ । सिंहदरबार परिसरमा संसद् भवन निर्माणको काम भइरहेको उनले जानकारी दिए । भंैसेपाटीमा मन्त्री क्वार्टर निर्माणको काम पनि जारी अधिकारीले जानकारी दिए ।

गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण धमाधम छ । ‘उपत्यकाबाहिर ठूला आयोजनाको काम पनि सुरु भएको छ,’ उनले भने, ‘नुवाकोटमा केन्द्रीय कारागार भवन निर्माण जारी छ ।’

प्रकाशित : वैशाख ३१, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?