१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लकडाउनपछि ६ हजारमै २ दिन पोखरा घुम्‍न पाइने, दुईतर्फी टिकट

सुरज कुँवर

ललितपुर — कोरोना महामारीका कारण ठप्प रहेको नेपाली पर्यटन बजारलाई चलायमान बनाउन बुद्ध एयरले जेठ १९ देखि चितवन र पोखरा केन्द्रित होलिडे प्याकेज ल्याएको छ । 

लकडाउनपछि ६ हजारमै २ दिन पोखरा घुम्‍न पाइने, दुईतर्फी टिकट

बुद्ध एयरले मंगलबार जावलाखेलमा पत्रकार सम्मेलन गर्दै यो प्याकेज लकडाउन खुलेपछि सुरु हुने जनाएको छ । ‘सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार जुन १ (जेठ१९) बाट बजार व्यवस्थापन गरी प्याकेज सञ्चालन गर्ने निर्णय गरेका छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘लकडाउन बढेको खण्डमा भने त्यसैअनुसार नयाँ मिति तोक्नेछौं ।’

मध्यम तथा सहरिया वर्गलाई लक्षित दुईदिने होडिडे प्याकेजमा पोखरालाई ५ हजार ९ सय ९९ र चितवनलाई १३ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । ६ हजार रुपैयाँमा पोखरा घुम्न जानेलाई बुद्ध एयरले दुइतर्फी टिकट दिनेछ भने ऊसँग साझेदारी गर्ने पोखराका बाटिका, बराही, जलमहल, लेकसाइड रिट्रिट र ल्यान्डमार्कमा दुई दिन एसी रुममा बस्न र ब्रेकफास्ट पाइनेछ ।

त्यस्तै विमानस्थलबाट ल्याउने तथा पुर्‍याउने सेवा पनि यसै रकममा जोडिएको छ ।

त्यस्तै १४ हजार रुपैयाँको चितवन प्याकेजमा काठमाडौंबाट जाने र फर्किने टिकटमा सौराहमा रहेका जंगल सफारी लज र ग्रिन पार्कमा बस्न पाइनेछ । त्यस्तै जंगल सफारी, थारु सांस्कृतिक नृत्य, विमानस्थलबाट ल्याउने, पुर्‍याउने र फुलबोर्ड मिल (खाना) पनि रहेको छ ।

मारमा परेका पर्यटनमा आधारित साना ठूला होटल, रेस्टुराँ, खुद्रा पसल, यातायात, ट्राभल/ट्रेकिङ एजेन्सी आदिलाई यो प्याकेजले राहत पुग्ने बुद्धले जनाएको छ । महामारीसँग कर्मचारी र यात्रुलाई सुरक्षित राख्न उसले ‘सुरक्षा निर्देशिका’ जारी गरिसकेको छ । प्रबन्ध निर्देशक बस्नेतले यो प्याकेज सफल भएमा चिनियाँ र भारतीय पर्यटकका लागि नेपाल आउन आधार बन्ने बताए ।

प्रकाशित : वैशाख ३०, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?