१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भीमफेदी–कुलेखानी सुरुङको ठेक्का अर्को साता

४२ महिनाभित्र तयार पारिसक्ने वाग्मती प्रदेश सरकारको योजना
प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले एक साताभित्र भीमफेदी–कुलेखानी सुरुङमार्गको टेन्डर निकाल्ने भएको छ । प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी आउजाउ सहज बनाउन सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

भीमफेदी–कुलेखानी सुरुङको ठेक्का अर्को साता

भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको बजेटका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा टेन्डरको लागतसहित इस्टिमेट पेस गरेको थियो । आर्थिक मन्त्रालयको आइतबारको बैठकले बजेट सुनिश्चित गरेको पूर्वाधार मन्त्रालयका सचिव तेजराज भट्टले बताए । ‘अब एक साताभित्र सुरुङ मार्ग निर्माणका लागि टेन्डर सार्वजनिक गर्नेछौं,’ उनले भने ।

सुरुङ मार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चालू आवको अन्त्यसम्ममा परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने सरकारको लक्ष्य छ । भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किमि लम्बाइ र २ लेन सुरुङको डिजाइन छ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने पूर्वाधार मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर नवीन सिंहले बताए । ‘सुरुङको दुवैतिर गरी साढे २ किमि एप्रोच सडक र तीनवटा पुल बन्नेछन्,’ उनले भने, ‘तीनवटा पुलको लम्बाइ २ सय १० मिटर मात्र हुनेछ ।’

सम्झौताको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दुरी १७ किमिले छोटिनेछ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा झर्नेछ । उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा तीन किमि सुरुङ बनाउन लागिएको हो ।

सुरुङ बनेपछि हेटौंडाबाट काठमाडौं पुग्न बढीमा २ घण्टा लाग्ने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले दाबी गरे । यो बहुवर्षीय योजनालाई आव ०७७/०७८ मा २ अर्ब, ०७८/०७९ मा ६ अर्ब, ०७९/०८० मा ६ अर्ब र ०८०/०८१ मा ४ अर्ब रुपैयाँ विनियोजन गरिने आार्थिक मन्त्रालयले जनाएको छ ।

सुरुङमार्गलाई प्रदेश सरकारले पहिलो वर्षको नीति तथा कार्यक्रममै गौरवको आयोजनाका रूपमा अगाडि सारे पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी रहेकाले काम अघि बढाउन सकेको थिएन । अहिले कानुनी तथा प्राविधिक तयारी पूरा गरी प्रदेश आफैंले केन्द्र र स्थानीय तहसँग समन्वय गर्ने गरी काम थालेको हो ।

प्रदेश सरकारले आगामी आवको सुरुबाटै निर्माण थाल्ने र यसमा संघीय र स्थानीय सरकारको साथ लिइने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘हेटौंडा–काठमाडौं सुरुङ मार्ग निर्माणको जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनीका जिम्मेवार व्यक्तिहरूले छिट्टै सकिने भनेर अड्काएकाले गत वर्ष काम गर्न सकिएन,’ उनले भने, ‘अब कसैको कुरा सुन्दैनौं, सुरुङ खन्ने काम गर्छौं ।’

‘पोष्टबहादुर बोगटी’ नामकरण गरिएको सुरुङमार्गलाई प्रदेशको गौरवको आयोजनामा पहिलो नम्बरमा राखिएको छ । सुरुङसँगै सिस्नेरीतर्फको मोटरबाटो पनि स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ । ‘प्रदेश मात्र होइन, मुलुककै विकासमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने भएकाले सुरुङमार्ग निर्माण गर्न कस्सिएका हौं,’ मुख्यमन्त्री पौडेलले भने ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?