भीमफेदी–कुलेखानी सुरुङलाई १८ अर्ब

एक साताभित्र टेन्डर
३ दशमलव २१ किमि लामो सुरुङमार्ग ४२ महिनामा बनाउने तयारी
प्रताप विष्ट

हेटाैंडा — प्रदेश राजधानी हेटौंडा र संघीय राजधानीको आवतजावत सहज बनाउन वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङ निर्माण गर्ने भएको छ । त्यसका लागि एक साताभित्र टेन्डर हुँदै छ ।

भीमफेदी–कुलेखानी सुरुङलाई १८ अर्ब

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको मन्त्रीस्तरीय बैठकले आइतबार बजेट सुनिश्चितता प्रदान गरेको पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले बताए । ‘एक साताभित्र सुरुङमार्ग निर्माणका लागि टेन्डर सार्वजनिक गर्छौं,’ उनले भने ।

सुरुङमार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । चालु आवको अन्त्यसम्म परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने लक्ष्य छ । भीमफेदी गाउँपालिका–६ स्थित बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याममुनि ३ दशमलव २१ किमि लामो रहेको दुई लेनको सुरुङ निर्माण गरिनेछ । यसको चौडाइ १५ मिटरको हुनेछ । आउनेजाने बाटो साढे सात/साढे सात मिटरको हुने पूर्वाधार मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर नवीन सिंहले जानकारी दिए । तीनवटा पुलको कुल लम्बाइ २ सय १० मिटर मात्र हुने उनको भनाइ छ ।

सम्झौता भएको ४२ महिनामा निर्माण सक्ने लक्ष्य रहेको सुरुङमार्गले भीमफेदी–कुलेखानी सडक १७ किलोमिटर छोटिनेछ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग ६५ किलोमिटरमा झर्नेछ । उक्त सडकखण्डको उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा तीन किलोमिटर सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । यसपछि हेटौंडाबाट काठमाडौं पुग्न बढीमा दुई घण्टा मात्र लाग्ने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले दाबी गरे । बहुवर्षीय योजनाका रूपमा रहेको सुरुङमार्गलाई आव ०७७/७८ मा २ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने आार्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

०७८/७९ मा ६ अर्ब, ०७९/८० मा ६ अर्ब र ०८०/८१ मा ४ अर्ब रुपैयाँ विनियोजन गर्ने मन्त्रालयको भनाइ छ । सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारले प्राविधिक र कानुनी अध्ययन एवं विश्लेषण पूरा गरिसकेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो वर्षको नीति तथा कार्यक्रममै गौरवको आयोजनाका रूपमा अघि सारेको थियो । तर पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन । यस वर्ष भने कानुनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैंले केन्द्र र स्थानीय तहसँगसमेत सहकार्य गर्ने गरी काम सुरु गर्न लागिएको हो ।

‘प्रदेश सरकारले आगामी आवको सुरुबाटै सुरुङमार्ग निर्माण थाल्छ,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने । सुरुङ निर्माणमा संघीय सरकार र स्थानीय सरकारको साथ रहने उनको भनाइ छ ।

सुरुङमार्गसँगै सिस्नेरीतर्फको मोटरबाटो फराकिलो बनाउने पनि तयारी छ । प्रदेश सरकारले सुरुङमार्गलाई ‘पोस्टबहादुर बोगटी सुरुङमार्ग’ नामकरण गरेर प्रदेशको गौरवका आयोजनाको पहिलो नम्बरमा राखेको छ । ‘प्रदेश मात्र होइन, मुलुकको विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने भएकाले सुरुङमार्ग निर्माणमा कस्सिएका हौं,’ मुख्यमन्त्री पौडेलले भने, ‘हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनीले छिट्टै काम थाल्ने विश्वास दिलाएको छ ।’ गत वर्ष काम गर्न नसके पनि अब कसैको कुरा नसुनी काम अघि बढाइने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २९, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?