कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वदेशी उद्योगले बढाए सेनिटाइजर उत्पादन

हालसम्म सेनिटाइजर उत्पादन गर्ने भनेर ३० उद्योग दर्ता
डब्ल्यूएचओले निर्धारण गरेकै मापदण्ड अनुसार सेनिटाइजर उत्पादन गर्नुपर्ने
नुमा थाम्सुहाङ

काठमाडौँ — पछिल्लो समय औषधि उत्पादन गर्ने केही उद्योग ह्यान्ड सेनिटाइजर बनाउन व्यस्त छन् । औषधि उत्पादन गरिरहेका स्वदेशी उद्योगले औषधि व्यवस्था विभागबाट स्वीकृति लिएर सेनिटाइजर बनाइरहेका हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै बजारमा ह्यान्ड सेनिटाइजर र सर्जिकल मास्कको माग बढेको छ । त्यसैले स्वदेशी उद्योग यसतर्फ आकर्षित भएका हुन् ।

स्वदेशी उद्योगले बढाए सेनिटाइजर उत्पादन

विभागमा हालसम्म सेनिटाइजर उत्पादन गर्ने भनेर ३० उद्योग दर्ता भइसकेका छन् । त्यसमा बढी औषधि उत्पादक कम्पनीलेनै सेनिटाइजर उत्पान गर्ने भनि अनुमति लिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

‘केही नयाँ उद्योगले पनि निवदेन दिइरहेका छन् । क्षमता, मापदण्ड र प्रक्रिया भएपछि मात्र स्वीकृति प्राप्त हुन्छ,’ उनले भने, ‘विभागले प्याकेजिङ साइजअनुसारको मूल्य तोकेको छ । स्वीकृति लिइसकेका उद्योगले त्यसलाई अपनाएका छन्, छैनन् भन्नेबारे निगरानी पनि गरिरहेका छौं ।’ विभागले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेकै मापदण्ड पूरा गरी सेनिटाइजर उत्पादन गर्नुपर्ने मापदण्ड बनाई उद्योगी व्यवसायीलाई जानकारी गराएको छ । त्यो पूरा गर्नेहरूले सेनिटाइजर उत्पादन अनुमति लिएका हुन् । अनुमति लिने सबैले उत्पादन गरेका छैनन् । बजार हेरेर बसिरहेका छन् ।

आफ्नो उद्योगले पनि आवश्यक परे सेनिटाइजर बनाउन भनेर स्वीकृति लिएको देउराली जनता फर्मास्युटिकलका निर्देशक हरिभक्त शर्माले बताए । ‘बजारमा आवश्यक पर्छ भने बनाउन स्वीकृति लिएका हौं,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत रहेका उनले भने । धेरैजसो उद्योगको चाहना भए पनि लकडाउनले टुटाएको आपूर्ति प्रणाली र कच्चापदार्थ अभावमा उत्पादन गर्न समस्या भइरहेको जनाउने गरेका छन् ।

लकडाउनका कारण औषधि उद्योग क्षमताको ३० देखि ४० प्रतिशत सञ्चालनमा रहेको नेपाल औषधि संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए । ‘देशभर ६२ वटा औषधि उद्योग सञ्चालनमा छन्,’ उनले भने, ‘यीमध्ये केही बन्द छन् । बाँकी क्षमताभन्दा कममा सञ्चालित छन् ।’ औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ भारत र चीनबाट आयात गर्नुपर्ने भएकाले केही समस्या रहेको उनको भनाइ छ । यहीँ उपलब्ध कच्चापदार्थले कतिपय उद्योगले औषधिसहित सेनिटाइजर उत्पादन गर्ने गरेका हुन् । उत्पादन गर्नेहरूले गुणस्तर मापदण्ड पूरा गरे, नगरेको विषयमा समेत सरकारले अनुुगमन गरिरहेको र कारबाहीसमेत गरेको जनाएको छ ।

यसबीचमा हेटौंडा र भक्तपुरका दुई उद्योग कारबाहीमा परिसकेको विभागका महानिर्देशक ढकालले बताए । ठगी गरे, बढी मूल्य लिए वा कालोबजारी गरे कारबाहीका लागि विभागले सिफारिस गर्ने उनको भनाइ छ । विभागले गत चैत ९ मा ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका–०७४’ जारी गरेको थियो । निर्देशिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निर्धारण गरेको ह्यान्ड सेनिटाइजरको मापदण्डका आधारमा सेनिटाइजर उत्पादन गर्न निर्देशन दिएको छ । स्वीकृतिका लागि विभागले सुरुमा उद्योगीले उत्पादन गर्न लागेको सेनिटाइजरको नमुना परीक्षण गर्छ । गुणस्तर ठीक भए मात्र उद्योग सञ्चालनको स्वीकृति दिन्छ । विभागले बिक्री मूल्यसमेत निर्धारण गरिदिने ढकालले जानकारी दिए ।

लोमस फर्मास्युटिकल्सका प्रबन्धक प्रणवजंग पाण्डेले आफ्नो उद्योग ३० देखि ४० प्रतिशत सञ्चालनमा रहेको बताए । केही स्वदेशी र केही भारतबाट आयातित कच्चापदार्थबाट सेनिटाइजर पनि उत्पादन गरिरहेको उनको भनाइ छ । सेनिटाइजर उत्पादन गर्ने उद्देश्यले आफ्नो उद्योगले काम थालेको उनले बताए । उपलब्ध कच्चापदार्थबाट अन्य औषधि पनि उत्पादन गरिरहेको उनले बताए । लकडाउनलगत्तै नेपाली औषधि उद्योगले सेनिटाइजर उत्पादन गरिरहे पनि आत्मनिर्भर भने हुन सकेको देखिँदैन । भारत हुँदै विभिन्न देशमा उत्पादित सेनिटाइजर नेपाल आयात हुन रोकिएको छैन । लकडाउन हुनु ११ दिनअघि अर्थात् चैत १ देखि हालसम्म नेपालमा करिब १ लाख २५ हजार लिटर सेनिटाइजर आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ । आपूर्ति प्रणालीमा सहजता र केही प्राविधिक समस्या सम्बोधन गरिदिए नेपाली माग धान्न सक्ने यहाँका औषधी उद्योगीले बताउँदै आएका छन् ।

प्रकाशित : वैशाख २८, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?