कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘काेराेनाले विदेशी मुद्रा सञ्चितिमा ठूलो असर पर्छ’

ऋषिराम पौड्याल

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को प्रभावका कारण मुलुकको अर्थतन्त्रमा आगामी वर्ष निकै चुनौतीपूर्ण रहने बताएका छन् । रेमिट्यान्स र निर्यातको गिरावट एवं पर्यटकको आम्दानी घट्दा विदेशी मुद्राको आम्दानी घट्ने उनको अनुमान छ । विश्व श्रम बजारमा रोजागारीको अवस्था रोकिने भएकाले रेमिट्यान्सको असर मुलुकको आर्थिक प्रणालीमा पर्ने भएकाले यसबाट बैंकको तरलता र मुद्रा सञ्चितिमा पनि असर पर्ने उनको भनाइ छ ।

‘काेराेनाले विदेशी मुद्रा सञ्चितिमा ठूलो असर पर्छ’


प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सोमबार अधिकारीले भने, ‘कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै रेमिट्यान्स आप्रवाह, पर्यटन आय तथा वैदेशिक लगानीमा संकुचन आई बाह्य क्षेत्र स्थायी चुनौती बन्नेछ ।’ अगामी वर्ष मूल्य वृद्धिसमेत बढ्ने उनले बताए । अर्को वर्ष तरलताको ठूलो चुनौती थपिने पनि उनको भनाइ छ । चालू आर्थिक वर्षको ८ महिनालाई हेर्दा अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धिमा बढी दबाब परेको उनले बताए । ‘लकडाउनका कारण आपूर्तिमा अवरोधले अन्तिम चौमासमा पनि थप दबाब पर्ने देखिएको छ,’ उनले भने ।

अघिल्लो वर्षको तुलनामा ८ महिनाको अवधिमा रेमिट्यान्स वृद्धि भएको तथ्यांक पेस गर्दै अधिकारीले अब भने घट्ने बताए । ‘गत आवको दाँजोमा रेमिट्यान्स २० प्रतिशत घट्ने अनुमान छ,’ उनले भने । कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने असरबारे राष्ट्र बैंकले गठन गरेको कार्यदलले असार मसान्तसम्ममा गर्नुपर्ने अन्य क्षेत्रको पनि अध्ययन गर्ने उनले जानकारी दिए । ‘संस्थागत र व्यक्तिगत जोखिम छ कि छैन, त्यो पनि हाम्रो अध्ययनको विषय भएको छ,’ उनले भने । प्रत्येक कर्जाको वित्तीय विवरण बनाउन बैंकहरुलाई निर्देशन दिएको उनले बताए ।

लकडाउनपछि आर्थिक गतिविधि लगभग ठप्पको अवस्था रहेकाले बैंकले समग्र अर्थतन्त्रको अध्ययन गरिरहेको उनको भनाइ छ । प्रत्येक कर्जाको छुट्टाछुट्टै विवरण बनाउन बैंकहरुलाई निर्देशन दिइएको उनले बताए । ‘ऋणीको ब्याज तिर्न सक्ने अवस्था छ कि छैन ? व्यवसायलाई पुन: सुरु गर्न ऋण थप्नुपर्छ कि ? लगायत विषयमा अध्ययन गर्न भनेका छौँ,’ उनले भने ।

वैशाख २१ गतेसम्मको तथ्यांक अनुसार बैंकहरुमा ३६ खर्ब ७८ अर्ब बचत रहेको उनले जानकारी दिए । साथै ३२ खर्ब ४६ अर्ब कर्जा प्रवाह भएको छ । कोभिड–१९ को पहिले र पछिको अवस्थामा कर्जा र निक्षेपमा धेरै परिचालन भएको अवस्था छैन । चैत ११ यता ७७ अर्ब बचत र ३१ अर्ब ऋण बढेको बताए । ‘यो पुरानै ऋणको निरन्तरता हो,’ उनले भने, ‘राष्ट्र बंैकले प्राथमिकता तोकेको कृषि १० र ऊर्जा एवं पर्यटनमा १५ प्रतिशत हो । यो क्षेत्रमा कुल कर्जाको २० दशमलब ४ प्रतिशत लगानी भएको देखिन्छ ।’

प्रकाशित : वैशाख २४, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?