कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउन खुकुलिँदा विकास निर्माण सुरु

गण्डकी प्रदेशले उद्योग, विकास निर्माण तथा कृषि उत्पादनका काम गर्न मापदण्ड बनाएर कार्यान्वयनमा ल्यायो
दीपक परियार

पोखरा — लकडाउन खुकुलिएपछि मदन चौधरी र उनकी श्रीमती कौशिलाकुमारीको मन हल्का भयो । शुक्रबार ठेकेदारले काममा बोलाए । पोखराको विरौटाबाट औद्योगिक क्षेत्रसम्म आफ्नै गाडीमा पुर्‍याए । काम गर्न पाएकाले चौधरी दम्पती बिहानबेलुका के खाने भन्ने चिन्ताबाट मुक्त छन् ।

लकडाउन खुकुलिँदा विकास निर्माण सुरु

दाङमा रहेको घर पुगेर फर्केको ५ दिनमै लकडाउन सुरु भएपछि उनीहरु चिन्तित थिए । लकडाउन खुल्ने आसमा पोखरामै बसिरहे । कसो ठेकेदारले भरथेग गरे । पोखरा महानगरबाट राहत पनि पाए । गण्डकी प्रदेश सरकारले निर्माण, उद्योग तथा कृषिको क्षेत्रमा लकडाउन खुकुलो बनाउने शुक्रबार निर्णय गरेपछि उनीहरु काममा फर्कन पाएका हुन् । ‘काम सुरु नभएको भए गाह्रो हुन्थ्यो,’ मदनले भने, ‘काम गरेर खान पाएको राम्रै हो ।’ दाङमा रहेका तीन छोराछोरीलाई आफैंले काम गरेर खर्च पठाउनुपर्ने उनले सुनाए ।

लकडाउनमा पोखरामै रहेका तनहुँका शेरबहादुर गौतमले पनि शनिबारदेखि काम थाले । उनीसँगै तनहुँका प्रदीप श्रेष्ठ, कास्कीका प्रकाश सुनार र बर्दियाका हरिबहादुर थारू पोखरा बुद्धचोकमा मिनी मार्केट भवन बनाउन खटिएका छन् । काम गर्न पाएकाले भोकै नमर्नेमा गौतम ढुक्क छन् । ‘हाम्रो खेती भनेकै ज्याला मजदुरी हो,’ उनले भने, ‘काम गर्न पाएपछि खुसी हुनै पर्‍यो ।’

गण्डकी प्रदेशले उद्योग, विकास निर्माण तथा कृषि उत्पादन कार्यलाई सञ्चालन गर्न मापदण्ड बनाएको छ । ११ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड पालना गराई व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । लकडाउन खुकुलो भएपछि विकास निर्माण र उद्योगधन्दाका काम धमाधम सुरु भएका छन् । पोखरा महानगरपालिकाअन्तर्गत २४ आयोजनाको काम पुन: सुरु भएका छन् । फेवातालमा आउने माटो थिग्य्राउने सिल्टेसन डयामको काम सुरु भएको छ ।

लकडाउनअघि ८५ प्रतिशत काम सकिएको महानगरका इन्जिनियर प्रशान्त बरालले जानकारी दिए । फेवातालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा ५ वटा सिल्टेसन डयाम निर्माणको काम भइरहेको छ । २८ करोड १६ लाख रुपैयाँको लागतमा बनिरहेको उक्त आयोजनामा महानगर र गण्डकी प्रदेशको आधा/आधा लगानी छ । ‘संरचनाका काम सबै सकिएको छ,’ बरालले भने, ‘अब सिल्टेसन पोखरीमा भएको ग्राभेल निकाल्ने काम मात्रै बाँकी छ ।’ सिल्टेसन डयाम बनाउन १५० मजदुर खटिएका छन् ।

महानगरले प्राथमिकताका आधारमा विकास निर्माण योजनाको काम सुरु गरेको हो । १३ सडक आयोजना, ५ पुल, केही वडा भवन निर्माणको काम लकडाउनकै अवधिमा महानगरले गरिरहेको छ । १६ किलोमिटर लामो बाग्लुङ बसपार्क–कास्कीकोट सडक निर्माणमा ४५ मजदुर खटिएका छन् । उक्त सडकको ४० प्रतिशत काम सकिएको इन्जिनियर बरालले बताए ।

महेन्द्रगुफा–अर्मलाकोट–मौजा सडकलाई पनि महानगरले प्राथमिकतामा राखेर निर्माण पुन: सुरु गरेको छ । पोखरा–१९ भोटीखोला र १६ नम्बर वडाको घोरकुनामा मोटरेबल पुलको स्ल्याब जडान सकिएको छ । २७ नम्बर वडाको बगादीखोला मोटरेबल पुल, सिर्जनाचोकको आकाशेपुललगायतको फाउन्डेसन बनाउने काम भइरहेको छ । महानगरका विकास निर्माण योजनामा झन्डै ४ सय मजदुर खटिएको इन्जिनियर बरालले बताए । ती योजनामा काम गर्ने मजदुरको भने अभाव रहेको उनले जनाए ।

‘अहिले धेरै मजदुर घर फर्किसकेको अवस्था छ,’ उनले भने, ‘लिएर आउन सकिने अवस्था पनि छैन । त्यसैले धेरैजना चाहिने ठाउँमा थोरैथोरै खटाएर काम गरिरहेका छौं ।’ बजारमा निर्माण सामग्रीको पनि अभाव रहेको उनले सुनाए । हाल पोखरामै रहेका निर्माण सामग्रीको प्रयोग गरिरहेको भए पनि अभाव हुने अवस्थामा व्यवसायीले उपलब्ध गराउने आशा उनले गरे ।

लकडाउनकै अवधिमा राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चलिरहेको छ । २ सय ७० चिनियाँ र १ सय जना नेपाली कामदारले भित्रै बसेर काम गरिरहेका छन् । करिब २१ अर्ब रुपैयाँ लगानीमा सन् २०२१ को जुलाईसम्म सक्ने गरी कार्य अगाडि बढेको उक्त विमानस्थलको काम ६० प्रतिशत सकिएको छ । हालसम्म इरिगेसन केनल, धावनमार्ग, एप्रोन र ट्याक्सी वे तयार भइसकेको छ । ढल निकासतर्फ नाली निर्माणको काम ९० प्रतिशत, विमानस्थलमा रहेको खाली भाग सम्याउने कार्य ९८ प्रतिशत र १४ वटा भवनमध्ये १२ वटा भवनको स्ट्रक्चरको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । ‘भारतबाट सामान आउन पाएको छैन,’ उनले भने, ‘यहाँ पाइने जति सामान पनि सकिएको अवस्था छ । यसले तोकिएको भन्दा ६ महिनाअगावै विमानस्थल निर्माण सकिने सम्भावना कम छ ।’ लकडाउनले जनशक्तिको पनि अभाव रहेको उनले उल्लेख गरे ।

पोखरामा निर्माण सामग्री ल्याउन दुई वा दुईभन्दा बढी जिल्ला छिचोल्नुपर्छ । निर्माण सामग्री, उद्योगका कच्चा पदार्थ, खाद्य सामग्री प्याकिङ तथा आवश्यक सामग्रीको तयारी तथा ओसारपसार गर्न प्रदेशले मापदण्ड बनाएको छ । ती सामग्रीको उद्गमस्थल वा गन्तव्यस्थलको जिल्ला प्रशासन कार्यालयले लोड, अनलोड र ढुवानीका लागि व्यवसायीलाई सवारी अनुमति प्रदान गर्ने प्रदेशले तयार गरेको मापदण्डमा व्यवस्था गरिएको छ ।

प्रदेशले निर्माण व्यवसायी र उद्योगीको मागअनुसार हार्डवेयर सामग्रीका होलसेल पसल तथा वर्कसप जिल्ला प्रशासनले खोल्ने व्यवस्था मिलाउने बताएको छ । मजदुर तथा जनशक्तिलाई निर्माणस्थल तथा उद्योगस्थलसम्म ल्याउनका लागि मजदुर रहे बसेको जिल्ला प्रशासनले मजदुर तथा जनशक्तिको नामावलीका आधारमा मिति, समय र स्थान तोकी व्यवसायीलाई सवारी पास उपलब्ध गराउने भनिएको छ ।

मापदण्डअनुरूप काम हुन नसकेको निर्माण व्यवसायी संघ कास्कीका उपाध्यक्ष भीम नेपाली बताउँछन् । हार्डवेयरका सामान नपाइँदा लकडाउन खुकुलो भए पनि काम गर्न नपाएको उनको भनाइ छ । ‘पहिले स्टक भएको सिमेन्ट सकिइसक्यो,’ उनले भने, ‘अहिले खोज्दा पाइँदैन । आउने तराईतिरबाटै हो ।’

प्रकाशित : वैशाख २२, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?