निर्माण सामग्री ल्याउन विकल्प खोजिँदै

धादिङ र ललितपुरबाट ल्याएर काम सुरु गर्ने तयारी
विमल खतिवडा

काठमाडौँ — निर्माण सामग्री ल्याउन नसक्दा गौशाला–चाबहिल सडक खण्डमा कालोपत्रको काम अझै सुरु हुन सकेको छैन । सडक खाली रहेकाले काम गर्न सजिलो हुने भन्दै कालोपत्र गर्न थालिएको थियो । खानेपानीका पाइप व्यवस्थापनको काम भने सकिएको छ ।

निर्माण सामग्री ल्याउन विकल्प खोजिँदै

‘काभ्रेबाट निर्माण सामग्री ल्याएर काम सुरु गर्ने तयारीमा थियौं,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले भने, ‘सबै तयारी पूरा गरेर निर्माण सामग्री लिन पठाइए पनि स्थानीयले ल्याउन दिएनन् ।’ त्यसैले निर्माण सामग्री कहाँबाट ल्याउने भन्नेमा विकल्प खोज्न थालिएको उनको भनाइ छ । काभ्रेको भुम्लु र रोशी गाउँपालिकाबाट निर्माण सामग्री ल्याउन गएका टिपर उतै रोकिएको उनले बताए ।

लडकडाउनको समयमा सबै काम सकिने भएकाले निर्माण सामग्री जुटाएर रोकिएका काम सुरु गर्नुको विकल्प नभएको उनले बताए । गौशाला–चाबहिल सडक पशुपतिनाथ मन्दिर प्रवेश गर्ने ठाउँ हो । बर्खाअघि यो खण्डको काम नसकिए सडक हिलाम्मे हुनेछ । खाल्डाखुल्डी धेरै भएकाले दुर्घटनाको जोखिम उस्तै छ ।

‘चाबहिल–गोपीकृष्ण खण्डमा निर्माण सामग्री एैंचोपैंचो गरे सडक ओभर लेको काम सुरु गरेका छौं,’ नेपालीले भने, ‘तर अन्यत्र सुरु गर्न पाइएको छैन । धादिङ र ललितपुरबाट निर्माण सामग्री ल्याएर काम सुरु गर्ने तयारी गरिएको छ । काभ्रेमा गाउँपालिका र वडा कार्यालयबाट राम्रो सहयोग नपाउँदा निर्माण सामग्री आउन नसकेको उनको भनाइ छ । केही निर्माण सामग्री धादिङबाट समेत ल्याएर चाबहिल–गोपीकृष्ण खण्डमा काम थालिएको हो ।

काम गर्दागर्दै निर्माण सामग्री सकिँदा उपत्यकाका प्राय: सडकका काम प्रभावित छन् । सडक कालोपत्र र ओभर–लेको सबै काम सक्ने गरी काम थालिएको थियो । सामग्री नहुँदा एप्रोच सडक बनाउने काम पनि रोकिएको छ । अहिले उपत्यकामा मुख्य रूपमा गिटी, बालुवा अभाव भएको छ । पुतलीसडकमा अहिले ह्युम पाइप राख्ने काम सकिए पनि कालोपत्रको काम सुरु हुन सकेको छैन ।

अब जहाँ निर्माण सामग्री भेटिन्छ, त्यहाँको प्रशासनसँग समन्वय गरेर ल्याउने तयारी भइरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । नजिकका कुनकुन जिल्लामा निर्माण सामग्री छन् भन्नेबारे पनि अध्ययन भइरहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २२, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?