२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मास्क बनाउने उद्योगलाई भ्याइनभ्याइ

कच्चापदार्थ नहुँदा केही उद्योग बन्द भए
नुमा थाम्सुहाङ

काठमाडौँ — सर्जिकल मास्क बनाउने उद्योग लकडाउनका बेला पनि व्यस्त छन् । यो बेला अत्यावश्यकबाहेकका अन्य उद्योग त्यति चलेका छैनन् । मास्क उत्पादन गरिरहेका उद्योगलाई भने भ्याइनभ्याइ छ ।

मास्क बनाउने उद्योगलाई भ्याइनभ्याइ

विराटनगर महानगरपालिका–३ स्थित न्यु तिरुपती मास्क उद्योगले अहिले प्रतिदिन ४० हजार थानसम्म सर्जिकल मास्क उत्पादन गरिरहेको छ । तीन सिफ्ट गरेर दैनिक २१ घण्टा सञ्चालन भइरहेको उद्योगमा एक सिफ्टमा २४ कामदार खटिरहेको सञ्चालक सरोज खड्का बताउँछन् । तीन तहको सर्जिकल उत्पादन गरिरहेका उनले त्यसको थोक मूल्य ६ रुपैयाँ पर्ने जानकारी दिए ।

‘लकडाउनसँगै चैत ११ देखि उद्योग सञ्चालनमा ल्यायौं,’ उनले भने, ‘अहिलेसम्म उद्योगमा डेढ करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योग सञ्चालनका सुरुका दिनभन्दा अहिले धेरै सहज छ ।’ अहिलेसम्म १० देखि १२ लाख थान सर्जिकल मास्क बिक्री गरिसकेको उनले बताए । आफू सर्जिकल व्यवसायी भएकाले पनि बजारीकरणका लागि समस्या नभएको उनको भनाइ छ । उद्योगका उत्पादन काठमाडौं, विराटनगर, चितवन, बुटवल, धनगढीलगायतका स्थानमा पुगिरहेको उनले बताए ।

उद्योगमा काम गरिरहेकाहरू सबैले सरकारले सुझाएको सुरक्षाका उपाय अपनाएको खड्काले जानकारी दिए । मास्क, पञ्जा लगाएर शारीरिक दूरी कायम गरी कामदारहरूले काम गरिरहेको उनले बताए । ‘कामदारलाई उद्योगकै गाडीले ल्याउने–पुर्‍याउने काम गरिरहेका छौं,’ उनले भने, ‘खानाको व्यवस्था पनि उद्योगमै गरेका छौं ।’

मास्क बनाउन आवश्यक कच्चा पदार्थ सबै आयात गर्नुपर्ने भएकाले चीन र भारतबाट सामान मगाउँदा पहिलाको भन्दा महँगो परेको खड्का बताउँछन् । ‘२०–२५ लाख रुपैयाँ पर्ने मास्क बनाउने मेसिनलाई अहिले ७० लाख रुपैयाँ तिर्नुपरेको छ,’ उनी भन्छन्, ‘सरकारले कोराना भाइरससँग सम्बन्धित सामग्रीमा भन्सार छुट दिएकाले उद्योगलाई केही सहज भएको छ ।’

भाइरस प्रकोपका कारण सरकारले अहिले सर्जिकल सामानमा छुट दिए पनि यसलाई दीर्घकालीन बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने उनले बताए ।

‘अहिलेको स्थितिमा कलकारखाना चलाउन गाह्रो भएका बेला हामीले निरन्तर काम गरिरहेका छौं । यो गर्न सक्छौं भन्ने उदाहरण हो,’ खड्का भन्छन्, ‘आवश्यकताअनुसार सानो देशमा पनि उत्पादन गरेर नेपाली उपभोक्तामाझ पुर्‍याउन सकिने रहेछ भन्ने भएको छ । सर्जिकल सामान उत्पादनमा सरकारले सहज वातावरण बनाइदिए नेपालमै राम्रो र सस्तो उत्पादन गर्न सक्छौं ।’

केही उद्योग बन्द

भाइरसको प्रकोप बढेसँगै बजारमा सर्जिकल मास्कको अभाव देखिएको थियो । यही अभावलाई अवसरका रूपमा प्रयोग गर्दै केही मास्क उद्योग सञ्चालनमा पनि आएका थिए । तर कच्चा पदार्थ नहुँदा ती उद्योग बन्द भएका छन् ।

बनेपाको साँगास्थित मास्क उद्योगका सञ्चालक सुकदेव जोशीले भने लकडाउसँगै आफ्नो उद्योग बन्द रहेको बताए । ‘मास्क बनाउने सबै कच्चा पदार्थ छैन,’ उनले भने, ‘सञ्चालन गर्ने कोसिसमा छु । कच्चा पदार्थ जुटाउनै समस्या भएको छ ।’

प्रकाशित : वैशाख २१, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?