३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुनसान रसुवागढी

बलराम घिमिरे

रसुवा — चारैतिर अग्ला पहाड । लिन्दे र केरुङ खोलाको संगमस्थल । यो हो, नेपाल र चीनको सिमाना रसुवागढी नाका । चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका ।

सुनसान रसुवागढी

तीन महिनाअघिसम्म नाकामा व्यापारी, व्यवसायी र सवारीसाधनको चाप थामिनसक्नु थियो । तर तीन महिनायता आयात–निर्यात र आवतजावत नहुँदा यो नाका सुनसान छ । नाकामा रहेको गेट बन्द छ । सीमामा सुरक्षा अधिकारी मात्र छन् । सामान लिन केरुङ जान लाइनमा राखिएका केही खाली कन्टेनर छन् । कोभिड–१९ को संक्रमण फैलिएपछि माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात ठप्प भएको हो । त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो ।

सीमामा चौबीसै घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको राजस्व तथा भन्सार सुरक्षा गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा मगरले बताए । तिब्बतको जिलोङ काउन्टी प्रशासनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लगि जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई दुई पटकसम्म यही नाका हुँदै स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । त्यसबाहेक नाकाबाट कुनै मालसामान आयात–निर्यात नभएको उनको भनाइ छ । नाकामा दुवै देशतर्फका सरकारी कार्यालय भने खुला छन् । चीनबाट आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि यही नाका हुँदै आएको छ ।

रसुवागढी नाकाबाट आवतजावत र यातायात चल्न छाडेपछि नेपालतर्फको टिमुरे बजार पनि सुनसान बनेको गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष दावा डिन्डुप तामाले बताए । यसले यहाँको व्यापार व्यवसायमा ठूलो असर परेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २०, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?